|

इलाम : यस वर्षको शहीद स्मारक लिग आयोजना अन्योल हुँदा खेलाडीहरू चिन्तित छन्। पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले तोकिएको मितिमा लिग आयोजना गर्न नसक्दा खेलाडीहरू आफ्नो पीडा सामाजिक सञ्जालमार्फत पोखिरहेका छन्।

राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले लिगबारे गुनासो राखेको १ दिन नबित्दै मिडफिल्डर विशाल राईले समेत खेलाडीबारे एन्फा नेतृत्वलाई चिन्ता नरहेको बताएका छन्।

राईले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै खेलाडी पलायन गराउने चाहना एन्फाले राखेको गुनासो पोखे। ‘लिग एन्फाले गर्ने हो कि कसले? पटक पटक लिग सार्दा तपाईंहरूलाई खेलाडीहरूको चिन्ता लाग्दैन? अझै धेरै खेलाडीहरू विदेशिएको देख्न चाहनुहुन्छ?’‚ उनले सोधेका छन्।

उनले खेलाडीहरूले वर्षभरि खेलेर बाँच्नसक्ने वातावरणसमेत बन्न नसकेको बताएका छन्। राईले ४/५ महिनाको तलबबाट सन्तुष्ट भएर बस्नुपर्ने बाध्यता भए पनि सबै क्लबले पाउनुपर्ने रकमसमेत दिन नचाहेको आशय व्यक्त गरे।

‘खेलाडीहरू वर्षमा ४/५ महिनाको तलबमा सन्तुष्ट बस्नुपर्छ। अनि अझ त्यसमाथि यही ४/५ महिनाको तलब पनि सबै क्लबले खेलाडीहरूलाई भुक्तानी गरेका छन् त?’ उनले प्रश्न गरे‚ ‘विगत लामो समय अगाडिदेखि हालसम्म कुन कुन क्लबले कुन कुन खेलाडीलाई पूर्ण भुक्तानी दियो वा दिएन राम्रो अवगत छ हामीमा पनि। लिगको अनिश्चित भएपछि खेल र खेलाडीहरूको पीडाप्रति न क्लबले ध्यान दिएको छ न एन्फाले।’

एन्फा पदाधिकारीहरू फुटबल विकासभन्दा आफ्नो पक्षमा रहेकाहरूको पदका लागी गुट बनाएको बताउँदै प्रतिपक्षीले सत्ता पक्षलाई असफल बनाउनमा तल्लिन रहेको आरोप लगाए। उनले ए डिभिजनका क्लबहरू लिग नभए धेरै समय बिना लगानी बस्न खोजको बताए।

एन्फाको कार्यकारी पदमा रहँदा लिगको रकम १ वर्ष नाघिसके पनि नदिनेहरू आज आफैँ समयमा रकम चाहिने भनेर माग राखेको उनले बताए। ‘एन्फाको कार्यकारी पदमा रहँदाको लिगको रकम १ वर्ष कट्दा पनि नदिने अनि आफू पदमा नरहेपछि उहाँहरूलाई नै समयमा रकम चाहिने अनि समयमा नभए ३ महिना नखेल्ने त्यसो भए हामीलाई आजको दिनसम्म पनि उधारोमा गर्नु भएको आर्थिक सम्मान चाँही?’ उनले प्रश्न गरेका छन्।

राईले लिग नहुँदा खेलाडीहरू नै पीडित हुनु परेको बताए। झापाका विभिन्न स्थानमा आयोजना  फुटबल प्रतियोगिता खेलिरहेका विशालले स्वार्थका लागि लामो समय लिग रोक्ने कोसिस आज पनि भइरहेको बताए।

उनले फुटबलको वर्तमान अवस्थाबाट हरेको खाएको आशय व्यक्त गर्दै लेखेका छन्‚ ‘जताबाट पनि पीडितचाहीँ खेल र खेलाडी मात्रै हुनुपर्ने हो त? हामीले त यति लामो समय जसोतसो खेल्यौँ तर के अबको पिढीँले नखेल्नु? हामीले भन्दा राम्रो गर्ने अधिकार आउँदो पुस्तालाई छैन?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.