|

काठमाडौँ : कोभिड १९ संक्रमणको जोखिम पुनः बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो बुस्टर डोज खोप लगाउनुपर्ने निर्णय गरिसकेको छ।

राष्ट्रिय खोप सल्लाहकार समितिको मिति २०७९ भदौ २० गतेको सिफारिस तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय २०७९ कात्तिक १७ गतेको निर्णयअनुसार कोभिडविरुद्ध खोपको दोस्रो बुस्टर डोज खोप लगाउन सिफारिस समेत गरिसकेको छ।

यही सिफारिस अनुसार २०७९ कात्तिक १७ गतेको मिति राखेर परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय ७ वटै र ७७ स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको छ।

राष्ट्रिय खोप सल्लाहकार समितिको मिति २०७९ भदौ २० गतेको सिफारिस तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय मिति २०७९ कात्तिक १७ गतेको निर्णयअनुसार कोभिडविरुद्ध खोपको दोस्रो बुस्टर अर्थात् चौथो खोप दिने विषय लागू गर्न भनिएको छ।

ज्येष्ठ नागरिक, दीर्घरोगी र जोखिममा भएका व्यक्तिलाई चौथो डोज दिने निर्णय गरिएको छ। नेपालमा एक वर्षअघि पहिलो बुस्टर डोज खोप लगाउने निर्णय गरिएको थियो र खोप दिन शुरु गरिएको थियो तर हाल आएर दोस्रो बुस्टर डोज खोप लगाउन भनिएको हो।

खोपको पूर्ण मात्रा पूरा गरिसकेका व्यक्तिमा ६ महिनाभन्दा बढी समय बित्दै जाँदा खोपको रोग प्रतिरोधात्मक क्षमतामा पनि क्रमशः ह्रास हुँदै जाने विज्ञहरूले बताउँदै आएका छन्।

पूर्ण खोप लगाएको ६ महिनापछि विस्तारै एन्टिबडी घट्दै जाने हुँदा जोखिम समूह हेरेर थप बुस्टर डोज खोप लगाउन सकिने बताउँछन्‚ त्रिभुवन विश्वविद्यालय आनुवांशिक वैज्ञानिक डा. गिरिराज त्रिपाठी। ‘कोभिडका नयाँ नयाँ भेरियन्ट आएका छन्‚ जसले गर्दा पूर्ण खोप लगाएपछि एकपटक बुस्टर डोज लगाएकाहरूको पनि ६ महिनापछि खोपको प्रभावकारिता घट्दै जाने हुँदा बुस्टर डोज लगाउन सकिन्छ’‚ डा. त्रिपाठीले भने।

दोस्रो बुस्टर डोज लगाउनुपूर्व सकेसम्म एकपटक आफ्नो शरीरको एन्टिबडी हेरेर खोप लगाइयो भने झनै राम्रो हुने त्रिपाठीको भनाइ छ।

उनले भने‚ ‘सबैको शरीरले एकै खालको एन्टिबडी नबनाउन सक्छ। कसैमा छिटो एन्टिबडी घट्छ भने कसैमा ढिलो। जसले गर्दा दोस्रो बुस्टर डोज लगाउनुपूर्व एकपटक आफ्नो शरीरको एन्टिबडी परीक्षण गरेर खोप लगाउन सकिन्छ किनभने यस बीचमा धेरैलाई कोभिड भएको हुन सक्छ। यस्तो वेला हाम्रो शरीरमा प्राकृतिक रूपमै एन्टिबडी विकास भएको हुनसक्छ।‘

यस्तै नेपालमा हाल धेरैले पूर्ण खोप लगाएको एक वर्षभन्दा बढी र बुस्टर डोज खोप लगाएको पनि ६ महिनाभन्दा बढी समय भइसकेको अवस्थामा दीर्घरोगी तथा रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरूले दोस्रो डोज बुस्टर डोज खोप लगाउन सकिने बताउँछन्‚ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन। डा. पुनका अनुसार यसरी दोस्रो डोज बुस्टर डोज खोप लगाउँदा सकेसम्म यसअघि आफैँले लगाएको खोप लगाउँदा राम्रो हुने भए पनि यसअघि लगाएका कोभिसिल्ड‚ फाइजर वा मोडर्ना खोप लगाउन सकिन्छ। ‘नयाँ नयाँ भेरियन्ट देखा परिरहेको अवस्थामा बुस्टर डोज खोप लगाउँदा राम्रो हुन्छ। यसले संक्रमणबाट हुने जटिलताबाट जोगाउँछ’‚ डा. पुनले भने।

बुस्टर डोज खोप लगाउँदा थप सुरक्षित भइने हुँदा खोप लगाउनुपर्ने समेत डा. पुनले बताए। ‘हाल पहिलो बुस्टर लगाएको पनि एक वर्षभन्दा बढी भइसकेको छ। यस्तो अवस्थामा दोस्रो बुस्टर डोज खोप लगाउनु राम्रो हो तर खोप मात्रै लगाएर भन्दा पनि कोभिडको नयाँ नयाँ भेरियन्टबाट बच्ने सर्वोत्तम उपाय जनस्वास्थ्यको मापदण्ड पालना गर्नु हो। खोपले त संक्रमण भएको अवस्थामा जटिलता निम्त्याउँदैन भन्ने हो’‚ उनले भने।

यता स्वास्थ्य अनुसन्धान परिषद्ले २२ असोज २०७८ मा नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाएका तथा नलगाएका व्यक्तिमा एन्टिबडीको अध्ययन गरेको थियो । जसमा दुवै मात्रा खोप लगाएका ८२ प्रतिशत र एक मात्रा लगाएका ५५ प्रतिशत व्यक्तिमा एन्टिबडी रहेको देखाएको थियो। खोप लगाइसकेका व्यक्तिमा ६ महिनापछि एन्टिबडी क्रमशः घट्दै गएको निष्कर्ष निकालेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.