|

काठमाडौं : दक्षिण कोरियाबाट ल्याइएका शतप्रतिशत शुद्ध नश्लका गाई किसानहरूलाई वितरण गरिएको छ।

हेफर ईन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरिएको हो।

दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो।

हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी छ। हेफर कोरियाबाट प्राप्त गाई पौष ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरी नेपाल सरकारले पौष ९ गते कमलामाई नगरपालिका सिन्धुलीलाई हस्तान्तरण गरी गाई सिन्धुली पुर्‍याएको हो।

उत्पादनको हिसावले कोरियाका टप (परीक्षण भएका) २ वटा बहर पनि केही दिनपछि आउने हेफरले बताएको छ। नेपालमा पहिलो पटक शुद्ध नश्लका धेरै गाई आएको हेफरले बताएको छ।

हेफर इन्टरनेशनल नेपालका भेटनरी डाक्टर भोला श्रेष्ठले नेपाली स्थानीय गाईलाई विस्थापित गर्ने नभई नश्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाईहरू ल्याएको बताए। उनले दक्षिण कोरियाबाट ल्याएका शतप्रतिशत शुद्ध नश्लका गाई नश्ल सुधारको लागि ल्याएको बताए।

उनले नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको बताए। उनले नेपालमा रहेको ७३ लाख गाई मध्ये करिव २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको बताए।

डा.श्रेष्ठले नश्ल सुधारका लागि विदेशबाट गाई ल्याउँदैमा स्थानीय प्रजातिका गाई लोप नहुने बताए। उनले स्थानीय गाई लोप हुन नदिनको लागि राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र र पशु सेवा विभागले स्थानीय गाईको अनुवंशिक स्रोतहरूको संरक्षण गरी नश्ल सुधारको काम समेत गरिरहेको बताए।

उनले नेपालमा दुध उत्पादन बढाउन आवश्यक रहेको भन्दै शुद्ध नश्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याएको बताए।

डा.श्रेष्ठले नश्ल राम्रो भएको गाई ल्याएर पालनपोषण नेपालमा भएको गाईको भन्दा पनि नराम्रो हुने भन्दै किसानलाई तालिमसमेत दिएको बताए। उनले कोरियन गाई पाल्नको लागि सिन्धुलीका किसानलाई समूहमा आबद्ध गरेर गाई वितरण गरिएको बताए।

उनले किसानहरूलाई उन्नत गाई पाल्ने प्रविधि,स्वच्छ दूध उत्पादन प्रविधि र आहारा व्यवस्थापनको बारेमा तालिम दिएको बताए। डा. श्रेष्ठले हेफरले कोरियन गाईको हेरचाहको लागि सिन्धुलीमा दक्ष भेटनरी डाक्टर खटाउने बताए।

उनले कोरियाको जानकारहरू पनि ल्याएर प्रभावकारी बताउनु भयो। उहाँले बर्दिबासदेखि बीपी राजमार्ग डेर पकेट एरिया बन्न नसक्ने आधार मानेर,सिन्धुलीका किसानको उत्साह देखेर,नगरपालिकाको प्राविधिक सहयोग र सिन्धुलीबाट तराई र काठमाडौंको बजारमा सहज रुपमा दुध पुग्नसक्ने देखेर सिन्धुली छनोट गरिएको बताए।

उनले सिन्धुली नै सबैभन्दा उपयुक्त नभए पनि किसानहरूको उत्साहको कारण पनि छनोट गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.