|

चन्द्रौटा : व्यापार संघ कपिलवस्तुले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ जना कृषक पुरस्कृत भएका छन्। शिवराज नगरपालिकाले कृषकले उत्पादन गरेका सामग्रीबीच प्रतिस्पर्धा गराएको थियो।

खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारचन्द्र चौधरीले बताए। कृषकहरूका उत्पादनलाई प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकहरूलाई नगदसहित सम्मान गर्दा हौसला बढ्ने शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारूले बताइन्।

आयोजकले निःशुल्क रूपमा स्टल उपलब्ध गराई यो क्षेत्रका किसानले उत्पादन गरेका सामग्रीले प्रदर्शन गर्न सहयोग गरेकोमा धन्यवाद दिए। महोत्सवले कृषि क्षेत्रको विकासमा टेवा पुर्‍याउने भएकाले कृषि महोत्सवमा कृषकहरू सहभागी हुनुपर्नेमा थारूले जोड दिइन्। कृषकबीचको प्रतिस्पर्धाले आगामी दिनमा कृषि उत्पादनमा थप वृद्धि हुन सहयोग पुग्ने उपप्रमुख थारूले जिकिर गरिन्।

महोत्सव मूल आयोजक समितिका संयोजक महादेव पोख्रेलले महोत्सवले कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताए। कृषकहरूले उत्पादन गरेका सामग्री महोत्सवमा प्रदर्शन भएकाले अरू व्यक्ति कृषितर्फ आकर्षित भएको बताए।

प्रथम हुने कृषकलाई २ हजार, द्वितीय हुने कृषकलाई १ हजार ५ सय र तृतीय हुने कृषकलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको शिवराज नगरपालिका कृषि प्राविधिक चित्रा पोखरेलले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.