|

गौर : रौतहटको चन्द्रपुर नगरपालिकामा करिब ५३ लाखको लागतमा बनेको बर्थिङ सेन्टर (प्रसूति केन्द्र) भवन कामै नलाग्ने अवस्थामा छ।

चन्द्रपुर नगरपालिका वडा नं ९ को डुमरियामा बनेको प्रसूति केन्द्रको भवन काम नलाग्ने अवस्थामा रहेका कारण स्वास्थ्यकर्मीले सेन्टर सञ्चालन गर्न सकेका छैनन्।

चन्द्रपुर नगरपालिकाको २० लाख, प्रदेश सरकारको २० लाख, देवप्रसाद तिमलसिनाको सांसद कोषको १० लाख र चन्द्रपुर नगरपालिकाको ३ लाख लागतमा बनेको प्रसूति केन्द्र भवनको अवस्था नाजुक भएका कारण सुत्केरी गराउन आउनेलाई आफूहरूले पुरानो भवनबाट सेवा दिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ।

५३ लाखको लागतमा बनेको १२ कोठे भवनको अवस्था नाजुक भएका कारण आफ्नो वडाका सर्वसाधारण सुत्केरी गराउन पुरानो भवनको कोठा प्रयोग गर्न बाध्य भएको वडाध्यक्ष नवराज देवकोटाको भनाइ छ।

चन्द्रपुर नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा भवनको काम सम्पन्न नगर्दै उपभोक्ता समितिलाई पैसा दिएका कारण त्यस भेगका स्थानीय बासिन्दाले समस्या खेप्नु परेको हो। ५३ लाखको १२ कोठे भवनको माथिल्लो तला अहिलेसम्म प्लास्टर हुन सकेको छैन। भित्र प्लास्टर भए पनि कोठा फिनिसिङ हुन बाँकी छ।

भवनमा हालिएका गुणस्तरहीन झ्याल ढोका यतिवेला भत्किएर कामै नलाग्ने अवस्थामा भएका कारण प्रसूति केन्द्र नयाँ भवनमा सार्न समस्या भएको स्वास्थ्यकेन्द्र डुमरियाका प्रमुख जयलाल पण्डितले बताए।

नयाँ भवनबाट प्रसूति केन्द्र सञ्चालन गर्न झनै समस्या भएका कारण आफूहरूले जोखिम मोलेर पुरानै भवनबाट सेवा दिइरहेको प्रमुख पण्डितको भनाइ छ। स्थानीय उपभोक्ता समितिले आफूले काम नगरेर स्थानीय पेटी ठेकेदारलाई काम दिएका कारण समेत उक्त भवनको काम पूरा नभए पनि नगरपालिकाले पूरा भुक्तानी दिएको स्थानीय बासिन्दा विक्रम चौधरीको भनाइ छ।

उक्त भवनमा उपभोक्ता समितिबाट पेटी ठेक्का पाएका स्थानीय ठेकेदार हालेका आल्मुनियमका झ्यालढोका यतिवेला कामै नलाग्ने अवस्थामा छन्। झ्यालढोका मात्र नभएर नयाँ भवन नै भत्कने अवस्थामा रहेको स्थानीयको भनाइ छ। राज्यको लाखौँ लगानीमा बनेको भवनबाट सेवा दिन नपाउँदा आफूहरू दुःखी भएको स्वास्थ्य केन्द्र डुमरियाका स्वास्थ्यकर्मीको भनाइ छ।

उक्त भवन तत्कालीन वडाध्यक्ष गोविन्द दुलालको पालामा बनेको थियो। तत्कालीन उपभोक्ता समिति, चन्द्रपुर नगरपालिकाका इन्जिनियरकै मिलेमतोमा भवनको काम सम्पन्न नहुँदै चन्द्रपुर नगरपालिकाले पेटी ठेकेदारलाई रकम भुक्तानी दिएका कारण त्यो ठाउँबाट प्रसूति केन्द्र सञ्चालन हुन नसकेको स्थानीयको भनाइ छ।

उक्त भवनमा भएको अनियमिताको विषयमा आफूले अख्तियारमा उजुरी दिने तयारीमा रहेको स्थानीय बासिन्दा विक्रम चौधरीले बताए। यस विषयमा चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जय काफ्लेले यो काम पुरानै मेयरको कार्यकालमा भएकाले आफूलाई केही जानकारी नभएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.