|

पर्वत : गत आइतबार पोखरामा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा परेपछि त्यसको अनुसन्धानको लागि फ्रान्सेली विज्ञहरूको टोली घटनास्थलमा आइपुगेको छ।

संसारमा नै सुरक्षित मानिने तथा नेपालको भौगोलिक र मौसमी परिवेशका लागि झनै राम्रो हुने दाबी गरिएको एटिआर जहाज नै दुर्घटनामा परेपछि यसको निर्माण गरेको फ्रान्सेली कम्पनीका विज्ञहरू पोखरास्थित जहाज खसेकै ठाउँमा पुगेको हो। मङ्गलबार काठमाडौँ आइपुगेको टोली बुधबार पोखरा आएर काम सुरु गरेको हो।

टोलीले बुधबार नै  दुर्घटनास्थलको पहिलो अवलोकन गरिसकेको छ। विमान दुर्घटनाको विषयमा नेपाल सरकारका तर्फबाट टोली निर्माण गरिएको छ। तर आकाशको दुनियाँमा सुरक्षित मानिएको जहाज नै दुर्घटनामा परेर ७२ जनाको मृत्यु भएपछि जहाज निर्माता कम्पनीले नै दुर्घटनाका विषयमा अध्ययन गर्न आफ्नो टोली नेपाल पठाएको हो।

नौ सदस्यीय टोलीले घटनास्थलको अवलोकन गरेर त्यहाँ देखिएका प्रमाणहरूको तथ्य सङ्कलन, सरकारी पक्ष तथा सरोकारवाला पक्षहरूसँग आपसी कुराकानी, एयरलाइन्स कम्पनी, एटीआर जहाज उडाउने पाइलट लगायतहरुसँग पनि छलफल गर्नेछ।

नेपालमा पहिलोपटक एटिआर विमान दुर्घटना भएको हो। त्यसैले विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो। नेपालको यो जहाज दुर्घटनाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा पनि धेरै स्थान पाएका कारण एटिआर निर्माता कम्पनी दबाबमा रहेको छ। आफूले निर्माण गरेको जहाजको वास्तविकता पत्ता लगाउन फ्रान्सेली टोलीले हर सम्भव प्रयास गर्नेछ। 

दुर्घटनामा परेको यती एयरलाइन्सको एटीआर विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार रहेका थिए। सेती नदीको खोँचमा दुर्घटनामा परेको जहाजमा चढेकामध्ये ७१ जनाको शव भेटिएको छ। एकजनाको भने अझै पनि अवस्था अज्ञात रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.