|

काठमाडौं : उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरित संसद्‍मा आफैंले शहीदहरूको सम्मान भन्दै मौनधारण गर्न लगाएको दावी गरेका छन्।

मधेशका शहीदहरूप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाएका थिए।

त्यो काम संसदीय मर्यादा र नियम विपरित भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरूले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङदेनले स्पष्ट पारे। उनले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसदमा मान्नुपर्ने परिपाटी रहेको पनि उल्लेख गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङदेनले आफूहरूले सो क्रममा शहीदहरूलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गरे।

 ‘माघ ५ गते बैठक थियो त्यहाँ मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने अथवा मधेशका शहीदहरूका प्रति सम्मान गर्ने जुन विषय उठेको थियो, यहाँ उठने र नउठनेको विषय बाहिर प्रचारमा आइरहेको छ। सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो। उहाँको उपप्रधानमन्त्री म थिए। हामी उठेनौं। यसको  अर्थ बाहिर के गइरहेको छ भने कि हामीले मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूका प्रति हाम्रो चाँही सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको छ। तर संसदको एउटा मर्यादा हुन्छ। एउटा नियम हुन्छ। र, रुलिङ सभामुखको चल्छ', उनले भने, 'यति कुरा पनि दोस्रो कार्यकाल संसदमा आएको मैले बुझिनभने, म कुनै भावना वा बहानाले बगे भने त्यसले संसदीय परम्परामा रामो छाप छोडदैन। कि त त्यो विषय सभामुखले रुलिङ गर्नु पर्‍यो। कि मेरो प्रधानमन्त्री उठनु पर्‍यो। त्यसकारण हामीले यो भ्रम नरहोस्। हामीले त्यो विषयप्रति अनादर गरेको होइन। मलाई लाग्छ प्रधानमन्त्रीले पनि गर्नु भएको होइन। यसरी गलत प्रचार जानु हुँदैन। हामीले संसदीय मर्यादा भंग गर्नु हुँदैन भन्ने तथ्यलाई ध्यानमा राखेर हामी नउठेको हो भन्ने कुरा यो संसदले पनि बुझोस्, बाहिरी समाजले पनि बुझोस् भन्ने कुरा भन्न चाहन्छु। म त प्रधानमन्त्रीको तर्फबाट पनि भन्दैछु–यस ढंगले गलत कुरा लैजान पाइदैन।’

उपप्रधानमन्त्री लिङदेनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै शहीदहरूप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकिरसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.