|

म्याग्दी : म्याग्दीमा कुष्ठरोग निवारणको चरणमा पुगेको छ। गत दुई वर्षयता जिल्लामा कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क सार्वजनिक भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो।

नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशकअघि घोषणा भए पनि अझै धेरै जिल्लामा यो रोग हट्न सकेको छैन। रोग निवारण घोषणा भएको लामो समयपछि म्याग्दीमा भने कुष्ठरोग निवारणको चरणमा पुगेको हो।

७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा आइतवार बेनीमा आयोजित कार्यक्रममा नियमित औषधी सेवन गर्ने ५ जना बिरामी भए पनि नयाँ बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।

‘म्याग्दीमा कुण्ठरोग निवारणको चरणमा छ, अहिले नयाँ बिरामी भने हुनुहुन्न, पुराना विरामीले नियमित औषधि सेवन गरिरहनुभएको छ’, प्रमुख लम्सालले भने।

गण्डकी प्रदेशमा १० हजार जनसंख्यामध्ये उपचारमा रहेका बिरामी १.९ बाट घटेर हाल ०.२९ रहेको लम्सालले बताए। पुराना विरामीलाई नियमित औषधी सेवन सहित बिरामीको परिवारका सदस्य तथा आसपासका क्षेत्रमा रहेकालाई भने चेकजाँच गरिएको उनले जानकारी दिए।

स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीका अनुसार औषधी सेवन गर्नेमा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका २ जना र बेनी नगरपालिकाका ३ जना रहेका छन्। 

समाजमा बहिष्कृत हुने त्रासले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोगबारे जनचेतनामूलक कार्यक्रम सहितका अभियान सञ्चालनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.