|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ६ महिनाको खर्च निराशाजनक देखिएको छ।

अर्थमन्त्री विष्णु पौडेलले माघ २९ गते चालू आर्थिक वर्ष ०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्दै ६ महिनामा शिक्षा क्षेत्रतर्फ ३५ दशमलव ६७ प्रतिशत मात्रै खर्च भएको बताएका छन्।

‘शिक्षा मन्त्रालयमा ७० अर्ब ५ करोड ३३ लाख बजेट विनियोजन भएकोमा २४ अर्ब ९८ करोड अर्थात् ३५ दशमलव ६७ प्रतिशत खर्च भएको छ,’ उनले भने। यही कारण शिक्षा क्षेत्रमा अपेक्षित सुधार नआएको र यो समयमा शिक्षामा कम खर्च भएको भन्दै नीतिगत कार्य योजना, कामहरू बढाएर खर्च बढाउनुपर्ने विज्ञहरूको सुझाव छ। 

‘कर्मचारी इमान्दार भएर काम नगर्दा यो समस्या आयो’

अर्थविद् एवं पूर्वमन्त्री विद्याधर मल्लिक राज्य सञ्चालक, कर्मचारीहरू इमान्दारीपूर्वक काम नगर्दा जुनसुकै मन्त्रालयमा पनि खर्च हुन नसकेको बताउँछन्। उनले ठूला गफ लडाउने तर काम गरेर नदेखाउने प्रवृत्ति बस्दै आएको बताए।

उनले भने, ‘भन्न सजिलो छ तर गरेर देखाउन गाह्रो छ। पहिला यो पनि गर्छु त्यो पनि गर्छु भनेर गफ गर्ने अनि काम भने नगर्ने प्रवृत्ति बस्यो, त्यही भएर यो समस्या आयो।’

उनका अनुसार अझै समय भएकाले चिन्ता लिइहाल्नुपर्ने अवस्था भने छैन। ‘तर काम गरेर देखाउन सक्नुपर्छ। काम भएन भने चाहीँ बजेट खर्च हुँदैन, लक्षित काम पूरा हुँदैन,’ उनले भने।

उनका अनुसार शिक्षा पद्धतिमा पनि समस्या छ। ‘शिक्षामा लगानी कम छ, लगानी भएको पनि खर्च हुँदैन,’ उनले भने, ‘दीर्घकालीन हिसाबले काम नै हुँदैन, त्यसैले सबैले यहाँ अवसर पाएका छैनन्।’

उनले यहाँको शिक्षा प्रणाली घोकन्ते भएको बताए। ‘नेपालमै चाहिने सीप सिकाउनुपर्ने थियो तर उल्टो भयो। अहिलेको अवस्था हेर्दा त विदेश जानलाई शिक्षा दिएको जस्तो भयो, आम गरिबलाई फाइदा पुग्ने र उद्यमी बनाउने खालको छैन, समग्र प्रणालीमै आकर्षण छैन,’ उनले भने।

यसका लागि सरकारले वातावरण मिलाउनुपर्ने बेला झनै बिगार्दै गएको उनी सुनाउँछन्। उनी भन्छन्, ‘अब विज्ञअनुसारको सल्लाह लिँदै एक्सनमा जानुपर्छ, फटाहा कुरा भयो यी रोक्नुपर्छ, तब यी समस्यामा सुधार आउँछ।’ 

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला पनि नीति कार्यक्रम घोषणा गर्ने तर बजेटअनुसार कार्यान्वयन नगर्ने परम्परा अझै पनि रहँदै आएको बताए। ‘जुन सुकै दलका सरकारले जति नै राम्रो नीति कार्यक्रम, बजेट घोषणा गरे पनि, योजना ल्याए पनि कार्यान्वयन भने गर्न सक्दैनन्। दीर्घकालीन सोच बोकेर काम गर्ने संस्कृति नै अहिलेसम्म बसेको छैन, त्यही भएर अरू के सुधार खोज्नु,’ उनले भने। 

२० प्रतिशत खर्च कटौती

अर्थमन्त्री पौडेलले बजेट कटौती गरेका छन्। उनले अघिल्ला अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा २ खर्ब ४४ अर्ब कटौती गरेका हुन्। तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट ल्याएका थिए।

चालू आर्थिक वर्ष ०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्दै मन्त्री पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड खर्च हुने अनुमान सार्वजनिक गरेका हुन्। सरकारले राजस्व संकलनको लक्ष्य पनि घटाएको छ।

मन्त्री पौडेलले १२ खर्ब ४४ अर्ब ७५ करोड बनाएका हुन्। योसँगै शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि शिक्षा क्षेत्रको २० प्रतिशत खर्च कटौटी गर्न सबै  शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।

‘इकाइको वार्षिक कार्यक्रम तथा बजेटमा हालसम्म खर्च भइ बाँकी रहेको बजेटबाट यसैसाथ संलग्न खर्च शीर्षकका क्रियाकलापमा २० प्रतिशत बजेट कटौती गर्न उपयुक्त हुने क्रियाकलाप र बजेट एकिन गरी कार्यक्रम संशोधनका लागि प्रमाणित र सफ्ट कपी दुवै यस केन्द्रमा पेश गर्न अनुरोध छ,’ विकास केन्द्रको माघ २४ गते जारी सूचनामा उल्लेख छ।

शिक्षा मन्त्रालय भन्छ : ९२ प्रतिशतभन्दा माथि खर्च हुन्छ

शिक्षा मन्त्रालयका सहायक प्रवक्ता धनबहादुर श्रेष्ठले चालू आवमा ९२ प्रतिशतभन्दा बढी शिक्षाको बजेट खर्च हुने दाबी गरे। उनले भने, ‘त्यहाँ त्यतिमात्रै देखाएको हो, खास समग्र रूपमा हेर्ने हो भने अहिले ४० प्रतिशत नजिक खर्च भएको छ। ६ महिनाको तुलनामा अरू मन्त्रालयभन्दा त शिक्षा मन्त्रालय खर्च गर्नमा अगाडि नै छ, एकाधमात्र अलिकति खर्च गर्नेमा गृह मन्त्रालयको बढी छ।’

उनले गत वर्षको तुलनामा यस वर्ष शिक्षामा बढी खर्च हुने उनको भनाइ छ। ‘गत वर्ष कुल बजेटमा करिब ९२ प्रतिशत शिक्षामा खर्च भएको थियो, यस वर्ष झन् योभन्दा बढी खर्च हुने अनुमान छ,’ उनले भने।

उनले अब भने बढी शिक्षा क्षेत्रका कार्यक्रम सञ्चालनलगायत धमाधम काम गर्ने योजनाहरू अगाडि बढ्ने तर्क गरे। ‘अहिले पनि काम भइरहेको छ, अब चाहीँ झनै बढी कामहरू हुने छन्, खर्चबारे केही समस्या आउँदैन,’ उनले भने।

उनका अनुसार अहिले वित्तिय हस्तान्तरणका कामहरू पनि भइरहेको छ। ‘ठूला ठूला कामहरू बाँकी नै छन्, तेस्रो र चौथो त्रैमासिकमा बढी कामहरू हुन्छन्, पहिलादेखि नै प्रचलन देखिएको हो, यो हिसाबले पनि खर्च बढ्छ,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.