|

जनकपुरधाम : मिथिलाको ‘महाकुम्भ’ भनेर चिनिने मिथिला मध्यमा परिक्रमा आज (सोमबार) शुरु भएको छ।

धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट सोमबार डोला निस्केसँगै १३३ किलोमिटरको पदयात्रा शुरु भएको छ।

जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजीको डोला र मिथिला बिहारीबाट भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्ने गरिन्छ।

१५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल र भारतका विभिन्न स्थानमा श्रद्धालुहरू पुग्ने गर्छन्। आज कचुरीबाट निस्कने परिक्रमाका यात्रु साँझसम्म जनकपुरधामको हनुमाननगरमा पुगेर विश्राम गर्नेछन्।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, उद्योग पर्यटन तथा वनमन्त्री सुनिता यादव, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह, प्रदेश सांसद शेषनारायण यादव, कुमरकान्त झा, प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मिथिला विहारी नगरपालिकाका प्रमुख राजेन्द्र यादवलगायतले मिथिला विहारीको डोला बिदाइ गरेका थिए।

डोला बिदाइ गर्न हजारौं महिला पुरुष मन्दिर प्रांगणमा भेला भएका थिए। रंग अबिर उडाउँदै, फागु गीत गाउँदै श्रद्धालुहरू डोलालाई गाउँको सिमानासम्म पुर्‍याएका थिए। कचुरी र ठेराको मध्यबाट बग्ने जलाद नदीको पूर्वी किनारसम्म कचुरीवासीले डोला बिदाइ गरेका थिए भन्ने पूर्वी किनारमा उभेका ठेरावासीहरु लेडोलाको स्वागत गर्दै गाउँ भित्र्याएका थिए।

डोलालाई यसरी नै एउटा गाउँका बासिन्दाले बिदाइ गर्ने अनि अर्को गाउँकाले स्वागत गरेर भित्र्याउने परम्परा छ।

कचुरीस्थित मिथिला विहारी मठबाट निस्केको मिथिला विहारी (जानकी) डोलाको नेतृत्वमा पन्ध्रदिने परिक्रमा गर्न निस्केकाहरू ठेराबाट वेंगा शिवपुरी, पिराडी हुँदै अपराह्न जनकपुरको रत्नसागरमा विश्राम गर्ने छन्।

अपराह्न भोजनपश्चात उनीहरू जानकीको दर्शन गरी जनकपुरको दक्षिणी सीमास्थित कुवा रामपुरस्थित हनुमानगढीमा राति विश्राम गर्ने छन्। मंगलबार सूर्योदयसँगै भारतको कलानेश्वरका लागि प्रस्थान गर्ने छन्।

कलानेश्वरबाट विधिवत प्रारम्भ हुने मध्यमा परिक्रमा क्रमशः फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही औरसाहा, करुणा, विसौल हुँदै फागु पूर्णिमाको पूर्व सन्ध्यामा पुनः जनकपुर फर्किने छन्।

पूर्णिमाको बिहान जनकपुरको अन्तःगृह परिक्रमा गरी पन्ध्रदिने धार्मिक यात्रा सम्पन्न हुनेछ। परिक्रमा गर्नेहरू नेपाल, भारतका गरी १ सय ३३ किलोमिटरको यात्रा तय गर्ने छन्।

मिथिला बिहारी मठका महन्त रामनरेस शरण दासका अनुसार करिब सय वर्षदेखि मध्यमा परिक्रमा निरन्तर जारी छ। यस धार्मिक यात्रामा साधु सन्तसँगै सर्वसाधारणको संख्या पनि उल्लेख्य हुन्छ।

नेपालका विभिन्न भागसँगै भारतका विभिन्न प्रान्तबाट हजारौं श्रद्धालु सहभागी हुन्छन्। सहभागीहरु पन्ध्र दिनको सामान, लत्ता कपडा, औषधि आदि आफैँसँग लान्छन्। साधुहरू आफ्ना गाई, घोडा, बाँदर तथा गृहस्थ टायर गाडामा सामान बोकेरै परिक्रमामा सहभागी हुन्छन्।

दुई दशकदेखि परिक्रमामा सहभागी हुँदै आएका साधु जगदीश शरणले भने पन्ध्रदिने परिक्रमामा विशुद्ध पारिवारिक माहोल हुन्छ। सहभागी दिनभरि यात्रा गर्छन् अनि भजनकीर्तन गाएर रात बिताउँछन्। 

परिक्रमावासीको वासस्थान गाउँबाहिर पोखरीको डिल अथवा आँपको बगैंचामा हुन्छ। सामान्यतया उनीहरू गाउँ छिर्दैनन्। गाउँलेहरूले उनीहरूका लागि चामल, दाल, नून, तेल, दाउरा तथा गाई गोरुको लागि पुवाल (पराल) को व्यवस्था मिलाउँछन्।

गाउँ गाउँमा आपसमा चन्दा असुली गरेर परिक्रमा गर्नेहरूका लागि सरसामानको जोहो गर्छन्। पछिल्लो समय सम्बन्धित पालिकाहरु तथा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले बिजुली, खानेपानी, औषधि, आवास आदिको व्यवस्था मिलाउन थालेका छन्।

मिथिला महात्म्यमा वर्णन भएअनुसार मिथिलाको परिक्रमा गर्दा चिताएको मनकामना पूरा हुने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए।

हनुमानगढीमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछन्। हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ।

पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ। परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, कीर्तन पनि गर्छन्।

मिथिलाको महाकुम्भ भनेर चिनिने यस महोत्सवमा हजारौंको सहभागिता रहने गरे पनि यस धार्मिक यात्रालाई व्यावसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका महन्त तपेश्वर दास बताउँछन्।

परिक्रमामा सहभागीहरुका लागि प्रत्येक वर्ष बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले १५ वटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायत व्यवस्था मिलाउने गरेको बृहतर अध्यक्ष शीतल साहले बताए।

नेपाल-भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थल छन्।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ।

परिक्रमाको क्रममा नेपालको धनुषा र महोत्तरी गरि धार्मिक ऐतिहासिक ठाउँहरूको १०७ किलोमिटर र भारतको २६ किलोमिटर भूभागको यात्रा गरिन्छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.