|

सुनसरी : जिल्लाको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ।

दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ पाइएका हुन्। बर्जुमा पहिलोपटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो। हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन्।

तीमध्ये केही वयस्क व्यक्तिसमेत रहेका छन्। योसँगै गाउँपालिकाको एकै ठाउँमा एकसाथ ५ जना बढी दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपत्‌कालीन कार्य योजना अघि बढाएको छ।

प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय निकायसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए।

उनले दादुरा अति संक्रमित रोग भएकाले एउटै क्षेत्रमा ५ जना पुष्टि भए यसलाई महामारीको रूपमा लिइने बताए। उनले यसलाई रोक्न ६ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिहरूलाई अघि सारेको बताए।

२९ जना पोजेटिभ केस फेला परिसकेको बर्जुमा थप केही शंकास्पद केस परीक्षणको क्रममा रहेकाले संख्या थप बढ्नसक्ने स्वास्थ्य कार्यालय सुनसरीको अनुमान छ। दादुरा तीव्र संक्रमण फैलने र जटिल प्रकृतिको रोग भएकाले फैलन नदिन रोकथामका सबै उपाय तत्काल अवलम्बन गर्न लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ।

कार्यालयका अनुसार बर्जुका सबै ६ वटै वडामा फागुन १६ गतेबाट एकसाथ दादुराविरुद्धको खोप अभियान सञ्चालनमा ल्याइनेछ। अभियानमा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने गरी तयारी थालिएको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.