|

पर्वत : जिल्लाको पैयुँ गाउँपालिका–१ टकलाककी जानु कुमारी शर्मा न्यौपानेका दम्पत्ती नै शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू हुन। जानुका श्रीमान् रुक्माङ्तका गोडा कत्ति पनि चल्दैनन्, ‘ह्विल चियर’ को सहयोगबिना उनी यताउता गर्न सक्दैनन्।

जिल्लाकै नमुना कृषकहरूमध्येको यो एक जोडीले व्यावसायिक रूपमा कृषि फर्म चलाएर तरकारी उत्पादन गर्दै आइरहेको छ। जानुलाई अब नयाँ जोस चढेको छ की व्यावसायिक रूपमा अचार पनि उत्पादन गर्ने। काठमाण्डौँमा रहँदा अचार बनाउने तालिमको बारेमा सुनेको भए पनि उनले सिक्ने अवसर पाइनन्। पछिल्लो समय युटुवमा राखिएका ‘रेसिपी’ हेरेर सामान्य ज्ञान लिने गरेकी उनले अहालै मात्र तालिममै बसेर अचार बनाउन सिकिन।

‘फर्म’ मा उत्पादन हुने गरेका तरकारीहरूले कहिलेकाहीँ बजार नपाएको बेलामा कुहिएर जाने गरेको थियो। अब भने उनले तरकारीबाटै अचारहरू बनाएर बिक्री गर्ने छिन्। अकबरे खुर्सानीको पिरो अचारदेखि खसी, कुखुरा र माछाको मासुको अचारबाट समेत अचार बनाउन सिकेकी उनले तालिम लिएपछि एउटा सन्तुष्टि मिलेको बताउँछिन्।

‘च्याउ, टिमुर, खुर्सानी। मेथी, तरकारी, अदुवा, लप्सी लगायतबाट निकै स्वादिला अचार बन्ने रहेछन्। मासुबाट बन्ने अचारको पनि राम्रै बजार हुने रहेछ। मलाई यसमा निकै चासो थियो बल्ल सिकेँ’, जानु कुमारी भन्छिन्, ‘अहिले पनि सात सय ग्रामको मासुको अचारको बट्टालाई पाँच सयमा किन्ने रहेछन्। मैले त विशेष गरी तरकारीकै अचारहरू बनाउने हो।’

गाउँपालिकाको लघु उद्यम विकास शाखाको मेड्पाको आयोजनामा भएको अचार बनाउने तालिममा सहभागी भएका १८ जना महिलालाई १७ प्रकारका अचारहरू बनाउन सिकाइएको छ। तीमध्येका अधिकांश अचार उत्पादनका लागि गाउँमा रहेका कच्चा पदार्थहरू प्रयोगमा आउने भएकाले पनि महिलाहरू यसमा व्यावसायिक रूपमा लाग्न सक्ने तालिममा सहभागी कुशुम सुनार बताउँछिन्। आफूले बस्नका लागि बाँसबाट निर्माण गरिने मोडा बनाउने तालिम लिन इच्छुक रहेको भए पनि अचारको तालिम उपयुक्त हुने अन्य महिलाको सुझावमा तालिम लिएको उनको भनाइ छ।

‘पहिले त बाँसबाट मोडा बनाउने तालिम लिन्छु भनेकी थिएँ। महिलाका लागि मोडा उत्पादन गर्नुभन्दा भान्सामा गर्दै आएको कामसँग मिल्ने अचार उत्पादनमा लाग्दा ठिक हुने मानेर तालिम लिएकी हुँ’, कुशुम भन्छिन्, ‘बसेको बेलामा उत्पादन गर्न सकिने भएकोले खाली हुने समयमा पनि कमाई हुने जस्तो लाग्छ। हामीले बनाएका अचार गाउँपालिकाले बिक्री गर्नका लागि ठाउँ खोजिदियो भने राम्रो हुने थियो।’

तालिममा सहजीकरण समेत गरेकी गाउँपालिकाकी उद्यम विकास सहजकर्ता सोनी श्रेष्ठले तालिममा सहभागीहरूको सहभागिता उत्साहजनक रहेको भए पनि कतिपय सहभागीहरूले व्यावसायिक उत्पादनका लागि लगानीको अभावले समस्या हुन सक्नेमा चिन्ता गरेको बताइन्। बिक्रीका लागि बजारमा जाने बस्तुहरू र त्यसमा पनि खाद्य बस्तुहरूको उत्पादन झनै संवेदनशील हुने भएका कारण पनि व्यवस्थित रूपमा सञ्चालन गर्न भने आवश्यक हुने उनको सुझाव छ।

‘तालिममा त उहाँहरूले सबै प्रकारका अचारहरू निकै स्वादिलो बनाएरै देखाउनुभयो। तर व्यावसायिक रूपमा उत्पादन गर्ने हो भने अहिले भइरहेको घर, भाँडा, चुलो लगायत अपर्याप्त वा नमिल्ने अवस्था आउने भनेर उहाँहरूले चिन्ता गर्नुभएको छ,’ उनले भनिन, ‘खाद्यान्न जस्तो कुरा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। संवेदनशील भएकाले पकाउनेदेखि नबिग्रने गरी गरिने भण्डारणसम्ममा ध्यान दिनुपर्छ। हामीले प्रयोग गर्दै आएका फलामका भाँडाको प्रयोगमा नआउने भएकाले नयाँ भाडा, व्यवस्थित, किचन, व्यवस्थित प्याकिङ र व्यवस्थित भण्डारण चाहिन्छ।’

गृहिणीको काम गर्दै आइरहेका महिलाहरूलाई त्यसमा मात्रै सीमित नराखी फुर्सदको समयमा आम्दानीमूलक काम गर्न सकुन् भन्ने उद्देश्य राखेर तालिम चलाइएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी बताउँछन्। कसैकोमा तलबी रूपमा बसेर निश्चित आम्दानी गर्नु भन्दा आफैले व्यावसायिक रूपमा काम गर्न सकेमा आम्दानीको सीमिततामा बस्नु नपर्ने पनि उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.