|

धनकुटा : धनकुटामा विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले बैंक तथा लघुवित्तको चर्को ब्याज र मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ।

धनकुटाको मदन चोकमा बैंक तथा वित्तिय संस्थाहरुको विरोधमा नारासहित प्रदर्शन गरेको हो। अहिले लघुवित्तको मिटर ब्याज र बैंकको चर्काे ब्याजको आतंकले धनकुटाका जनतालाई जीवन मरणको अवस्थामा पुर्‍याएको भन्दै ७ बुँदे मागसहित प्रदर्शन गरेको हो।

नेकपाले वित्तिय संस्थाहरुको शोषण अन्त्य गर, राष्ट्रिय उद्योग र व्यवसायलाई–राहत दे, लघुवित्त संस्थाको ज्यादती अन्त्य गर, ऋणीहरुको अवस्था छानबिन गर, पीडित जनताकोे व्याज मिनाहा गर र एक अंकको व्याज दर लागू गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेको थियो।

लघुवित्त संस्था र बैंकको चरम आर्थिक शोषणले जनतालाई डिप्रेशनको शिकार र आत्महत्यासम्म हुन सक्ने सम्भावना बढाएको तथा समयमा नै आवश्यक अनुगमन र नियन्त्रण गरिनुपर्ने नेकपा कम्युनिष्ट पार्टीका धनकुटा जिल्ला सेक्रेटरी ध्रुब थापाले बताए।

बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याज दर एक अंकमा झार्नुपर्नेलगायत १६ बुँदे माग राखेर फागुन ५ गतेदेखि निरन्तर भण्डाफोर, विरोध, जनसंघर्ष र जनकारबाहीका कार्यक्रम अगाडि बढाएको र माग पूरा नहुन्जेसम्म धनकुटास्थित लघुवित्त संस्थाहरु र मिटरब्याजीलाई प्रतिबन्ध गर्नुपर्ने जिल्ला सेक्रेटरी थापाले माग गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.