|

काठमाडौं : चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातक तहका विभिन्न कार्यक्रमको विद्यार्थी भर्ना संख्या निर्धारण गरेर मेडिकल कलेजहरूलाई विद्यार्थी भर्नाको कोटा (संख्या) तोकेको छ।

नयाँ शैक्षिक सत्रको लागि फागुन १४ मा बसेको आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रमको सिट निर्धारण बाँडफाँडको निर्णय गरेको आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले बताए।

आयोगले यस वर्ष एमबिबिएसका लागि १ हजार ८९५, बिएनएसमा १ हजार ३१०, बिडिएसतर्फ ५६०, बिएएमएसमा ८०, बिपिएचमा ८४०, बि फार्मामा ८१५ सिट तोकेको छ।

आयोगले सबै विषयमा गरेर ७ हजार ६५९ चिकित्साशास्त्र तोकेको छ। यस पटक गत वर्षहरूभन्दा यस वर्ष बिपिएचमा विद्यार्थी भर्ना संख्या घटाएको उपाध्यक्ष गिरीले बताए। 

आयोगले मेडिकल कलेजहरूलाई विद्यार्थी भर्नाको कोटा तोकेको सूचना मंगलबार सार्वजनिक गरेको हो।

हाल सञ्चालनमा रहेका प्रायः सबै मेडिकल कलेजले एमबिबिएसमा १०० सिट नै पाएका छन्। २१ वटा मेडिकल कलेजमध्ये १७ वटा मेडिकल कलेजले १०० सिट पाएका छन्। २ वटा मेडिकल कलेज देवदह र जानकी मेडिकल कलेजले ५०/५० सिटमा मात्रै एमबिबिएस अध्यापन गर्ने अनुमति पाएका छन्।

कर्णालीले यसपटक ३० जना एमबिबिएस डाक्टर उत्पादन गरेर पठाउने जिम्मेवारी पाएको छ। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० सिट पाएको छ। यसअघि पनि उक्त प्रतिष्ठानले ३० सिट नै पाएको थियो।

बिडिएसतर्फ विपी प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, केयू स्कुल अफ मेडिकल साइन्सेज, युनिभर्सल मेडिकल कलेज र दुईवटा डेन्टल कलेज कान्तिपुर डेन्टल कलेज र पिपुल्स डेन्टल कलेजले ५०/५० सिट पाएका छन्।

यसका साथै बिडिएसतर्फ नै चितवन मेडिकल कलेज, कलेफ अफ मेडिकल साइन्सेज, किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेजले ४०/४० सिट हात पारेका छन्।

बिडिएसमा महाराजगन्ज मेडिकल क्याम्पस र गण्डकी मेडिकल कलेज २५/२५ सिट पाएका छन् भने नेशनल मेडिकल कलेजले २० सिट र नोबेल मेडिकल कलेजले ३० सिट पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.