|
इश्मा गाउँपालिकामा निर्माणाधीन अस्पताल।

गुल्मी : २०७७ साल मङसिर १५ गते तामझामका साथ  हतारहतार शिलान्यास गरिएका १५ बेडका अस्पतालको अवस्था  दयनीय छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पतालको शिलान्यास गर्ने निर्णयअनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था दयनीय छ।

अस्पतालको शिलान्यास गर्न  केन्द्रीय मन्त्री, पूर्वमन्त्री, प्रदेश मन्त्री र प्रदेशसभा सदस्यले गाउँ–गाउँमा पुगेर  एकै दिन २/३ वटा अस्पताल शिलान्यास गरेका थिए। शिलान्यास भएको झण्डै ३ वर्ष पुग्न लाग्दा पनि धेरै स्थानीय तहका अस्पताल निर्माणको कामले गति लिन सकेको छैन। 

शिलान्यासमै सीमित छत्रकोट

​छत्रकोट गाउँपालिकाको १५ बेडको अस्पताल लुम्बिनी प्रदेशसभा सदस्य कमलराज श्रेष्ठले अस्पतालको शिलान्यास गरे।  वडा नं ४ श्रृङ्गामा अस्पताल शिलान्यास गरेको झण्डै ३ वर्ष पुग्न लाग्दा समेत अस्पताल बन्नेको नाम निसाना नै छैन। 

शिलान्यास गरिएको जग्गा भवन मापदण्डअनुसार नभएकाले शिलान्यास गरिएको जग्गाको करिब ३ सय मिटर पर लामो कसरतपश्चात जग्गा व्यवस्थापन अन्तिम चरणमा रहेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।

असारभरिमा जग्गा प्राप्त हुने आफूले विश्वास लिएको पाण्डेको भनाई छ।

मालिकामा जग्गा विवाद

मालिका गाउँपालिका वडा नं ४ अर्खबाङ्गमा पूर्वमन्त्री गोकर्णराज बिष्टले तामझामका साथ अस्पताल शिलान्यास गरे। उक्त अस्पताल पनि शिलान्यासमै सीमित भएको छ। 

शिलान्यास गरिएको जग्गामा मापदण्ड नपुगेको र अस्पताल निर्माण हुन नसक्ने भएकाले नजिकै जग्गा ब्यवस्थापन गरी टेण्डरको प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख बसन्त भुसालले जानकारी दिए।

धुर्कोटको जग्गामा पहिरो

धुर्कोट गाउँपालिको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको बेस (जग्गामा)पहिरो आएका कारण निर्माणअगाडि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।

लामो समयको कसरतपश्चात मन्त्रालयबाट डिपिआर र नक्सा परिवतर्न गरी आएकाले अस्पतालको निर्माण सुरु गरिएको उनको भनाई छ। पूर्वमन्त्रीसमेत रहेका गोकर्णराज बिष्टले शिलान्यास गरेको अस्पताल निर्माणको जिम्मा रविना–अर्जुन–न्यु लिजा जेभीले १३ करोड बढीको लागतमा पाएको छ। 

इश्मामा बल्ल पिल्लर

इस्मा गाउँपालिका-४ दोहलीस्थित गुरुङगाडेमा १५ बेडको अस्पतालमा बल्ल बेसमेन्टको काम भइरहेको इन्जिनियर सुनिल भण्डारीले जानकारी दिए।

सुरुमा डिपिआर लगायतका केही समस्या भएको भन्दै त्यसको समस्यापश्चात निर्माणमा पनि ढिलाई भएको उनको भनाई छ।  १० करोड ८५ लाखमा सुनिल-समिर निर्माण सेवाले निर्माणको जिम्मा पाएको हो।

रुरुक्षेत्रमा जग्गा सम्याउँदै

रुरुक्षेत्र गाउँपालिकाको वडा नं १ को रातामाटामा घडेरी सम्याइएको छ। लुम्बिनी प्रदेशका तत्कालिन सामाजिक विकासमन्त्री सुदर्शन बरालले शिलान्यास गरेको अस्पतालको अवस्था दयनीय छ। अस्पतालको भौतिक प्रगति हेर्दा मुस्किलले १० प्रतिशत पुग्ने गाउँपालिकाका प्राविधिक रोमकान्त पाण्डेले जानकारी दिए।

कटिङ गरेको माटो राख्ने ठाउँका अभावका कारण पहिले समस्या भएको र त्यसको समस्या समाधान भएको गाउँपालिकाले जनाएको छ।

प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले १४ करोड ४२ लाख ८२ हजार ६ ५९ रुपियाँको लागतमा अस्पताल निर्माणको जिम्मा पाएको छ।

कालीगण्डकीमा ३० प्रतिशत प्रगति

तत्कालिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बाजागाजा र तामझामका साथ शिलान्यास गरेको अस्पतालमा अहिले तेस्रो तला ढलानको कार्य भइरहेको छ। गाउँपालिकाको वडा नम्बर ३ कनौटामा करिब साढे १२ करोडको लागतका खिम्ती–श्रेष्ठ–अन्जना जेभिले अस्पताल निर्माण गरेको छ। 

सो अस्पतालको करिब ३० प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सत्यनारायण राईले जानकारी दिए।  सो अस्पतालको शिलान्यास गरे लगत्तै मन्त्री ज्ञवाली प्रभुको हेलिकप्टरमार्फत पोखरा हुँदै मन्त्रिपरिषदको बैठकमा सामेल हुन हतारमा काठमाडौं फर्किएका थिए। 

सत्यवती गाउँपालिकामा १५ बेडको अस्पताल वडा नं ६ जुहाङ्गमा दोस्रो तलाको ढलानको तयारी भइरहेको पालिकाका इन्जिनियर रमेश शाहीले जानकारी दिए। 

अस्पतालको निर्माण हाल तीव्र गतिमा अगाडि बढेको भन्दै हालसम्म करिब ४५ प्रतिशत भौतिक प्रगति भएको उनको दाबी छ। १५ करोडको लागतमा आशिष-एगेश्वर जेभी काठमाडौं निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ। 

मदाने गाउँपालिकामा वडा नं ६ पुर्कोटदहमा अस्पताल निर्माणको काम भवनको एक ब्लकको तेस्रो तला ढलान सकिएको र अन्य काम भइरहेको सब-इन्जिनियर तीर्थराज पन्थीले जानकारी दिए। 

भवनको करिब ५० प्रतिशत भौतिक र आर्थिक प्रगति भएको उनको दाबी छ।  हिमदुम–एसी निर्माण कम्पनी बाग्लुङले १२ करोड ४८ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको छ। 

तीन स्थानीय तहमा निर्माणको आशा

जिल्लाका ३ पालिकामा भने अस्पताल निर्माणका कार्यले गति लिएको पाइएको छ। गुल्मीदरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको अस्पताल निर्माणमा सक्रियता देखिएको छ।

गुल्मी दरबार गाउँपालिकाको वडा नं ३ को झाँक्री डाँडामा १५ बेडको अस्पताल निर्माण करिब ९५ प्रतिशत भौतिक र ७५ प्रतिशत आर्थिक प्रगति भएको प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिए। बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको हो।

मुसिकोट नगरपालिका वडा नं ७ मा १५ बेडको  अस्पतालको निर्माण कार्य ७५ प्रतिशत भौतिक प्रगति भएको स्वास्थ्य  शाखा प्रमुख डिबी जिशीले जानकारी दिए। 
खिम्ती–श्रेष्ठ–कालीगण्डकी जेभीले ११ करोड १० लाख २६ हजार १०८ रुपियाँ लागतमा अस्पताल निर्माणको जिम्मा पाएको छ। 

चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा अस्पताल निर्माणको भौतिक प्रगति ७० प्रतिशतभन्दा माथि पुगेको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिए।  

कुल  १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपियाँमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले अस्पताल निर्माणको जिम्मा पाएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.