|

रौतहट : चुरे संरक्षित क्षेत्रबाट ढुंगा, गिटी, बालुवालगायत पदार्थ उत्खनन‚ संकलन र निकासी गर्न पाइँदैन। 

सरकारले चुरे संरक्षण क्षेत्र कायम गरेर सो क्षेत्रबाट ढुंगा, बालुवा, गिटी निकाल्न कानुनी रुपमा रोक लगाएको छ तर रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—३ स्थित गैँडाटारको चाँदी नदी किनारमा ढुंगा संकलन गरेर राखिएको छ। 

संरक्षित चुरे क्षेत्रबाट अवैध रुपमा निकासी गरेर ल्याईएको ढुंगा त्यहाँ राखिएको स्थानीयले बताएका छन्। अनधिकृत रुपमा निषेधित क्षेत्रबाट नदीजन्य सामाग्री निकासी गरेर केही ट्याक्टर व्यवसायीले आर्थिक लाभ लिने गरेका छन्। 

चुरे क्षेत्रबाट दैनिक दर्जन ट्याक्टरमा ढुंगा चोरी निकासी हुँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई चुनौती थपिएको छ। राष्ट्रपति चुरे सरक्षण कार्यक्रम सञ्चालन रहेको क्षेत्रमा ढुंगा तस्करी रोकिएको छैन।

ढुंगा तस्करहरुले चुरे क्षेत्रबाट अवैध रुपमा ढुंगा निकासी गर्न नछाडेको स्थानीयको भनाई छ। स्थानीयका अनुसार नदी आसपासमा क्षेत्रमा केही ट्याक्टर व्यवसायीहरुले ढुंगा संकलन गरेर राख्ने र महँगो मूल्यमा बिक्री गर्ने गर्छन्। 

अवैध रुपमा हुने ढुंगा निकासीको विरोध गर्दा ज्यान नै जोखिममा पर्ने गरेको गैँडाटारका स्थानीयहरु बताउँछन्। ट्याक्टर व्यवसायीहरुले राजमार्गका दक्षिणतर्फ नदीमा ढुंगा नभएको भन्दै चुरेको फेदीमै पुग्ने गरेको उनीहरु बताउँछन्। 

यसमा संलग्न व्यापारीहरुको धम्कीका कारण ढुंगा तस्करीको विरोध गर्ने व्यक्तिहरु खुलेर बोल्न चाहँदैनन्। उनीहरुले अवैध रुपले संकलन गरेर राखेको ढुंगा डिभिजन वन कार्यालयले जफत गर्नुपर्ने माग गरेका छन्। 

चुरे क्षेत्रमा रहेका केही सामुदायिक वन समितिले समेत ढुंगा निकासी रोक्न सकेका छैनन्। रौतहटको चुरे क्षेत्रमा १५ भन्दा बढी सामुदायिक वन उपभोक्ता समिति छन्।

तर वन उपभोक्ता समिति, डिभिजन वन, स्थानीय तह लगायतका सरोकारवाला निकायले चासो नदिँदा ढुंगा तस्करी बढेको स्थानीयको आरोप छ। जिल्लाको धन्सर खोलादेखि बागमतीसम्म करिब ३० किलोमिटर चुरे क्षेत्रमा २०६७ सालदेखि चुरे संरक्षण कार्यक्रम संचालनमा छ।

यसरी ढुंगा तस्करी गर्ने ट्याक्टर मकवानपुर र रौतहटका रहेको स्थानीय बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.