४ जनाको दरबन्दी भएका ठाउँमा थुप्रिए १७ अधिकृत

|

काठमाडौं : सुशासनको चर्को नारा लगाएको वर्तमान सरकारले भनसुनको आधारमा कर्मचारी सरुवा गर्ने र काजमा खटाउने गर्दा स्थायी सरकार भनिने सरकारी प्रशासन क्षेत्र भद्रगोल बन्न पुगेको छ। 

सुशासनको नारा लगाएर चर्चा कमाएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै मन्त्रालयमा काज सरुवाको विकृतिलाई बढावा दिएका हुन्। अनियमितता, भ्रष्टाचार र विकृति रोकेर सुशासन कायम गर्ने बताएका मन्त्री श्रेष्ठकै मन्त्रालयमा नीति नियमविपरीत काजमा कर्मचारी भद्रगोल बनाइएको छ।

यसले गर्दा दरबन्दी भएका विभिन्न विकट जिल्लामा सरुवा भई गएका कर्मचारीहरू सिंहदरबारमा हाजिर गरेर तलब खाइरहेका छन्। 

मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा शाखा अधिकृतको दरबन्दी ४ वटा मात्रै छ। यद्यपि हाल प्राधिकरणमा दैनिक १७ जना शाखा अधिकृत हाजिर गर्न पुग्छन्। हाजिर गर्न सिंहदरबार पुग्ने उनीहरूले तलब भने सरुवा भएको जिल्लाको कार्यालयबाटै खाइरहेका छन्। ४ जनाको दरबन्दी रहेको ठाउँमा अरू १३ जना थुप्रिएका छन्। 

जोखिम न्यूनीकरणसम्बन्धी कुनै अनुभव नै नभएकाहरू समेत भनसुन गरेर आफूअनुकूल काजमा बसिरहेका छन्। खटिएको जिल्लामा कर्मचारी अभावले दैनिक काम गर्न समस्या भइरहँदा पनि उनीहरू प्राधिकरणमा हाजिर गरेर मात्रै तलब पकाइरहेका छन्। 

४ जनाको दरबन्दी भएको ठाउँमा १७ जना काजमा बस्दा जिम्मेवारी बाँडफाँडमा पनि समस्या भएको प्रशासन शाखाका एक कर्मचारीले बताए। ‘ऐनअनुसार प्राधिकरणमा ४ जना मात्रै शाखा अधिकृतको दरबन्दी छ तर अहिले १७ जना कार्यालयमा आउनु भएको छ। उहाँहरूलाई हामीले एउटै शाखाको काम पनि टुक्रा पारेर बाँडिदिएका छौँ’, उनले भने। 

काजमा खटिएर कार्यालयमा आएपछि हाजिरी गर्ने व्यवस्था गर्नुपर्ने मिलाइदिएको उनी बताउँछन्। केही सीमित कर्मचारीलाई मात्रै बस्ने कोठा मिलाइदिन सकेको उनले बताए। ‘दरबन्दीभन्दा धेरै कर्मचारी आएपछि उहाँहरूलाई बस्ने ठाउँको व्यवस्था गर्न पनि हामीलाई समस्या भएको छ’, उनले थपे। 

प्राधिकरणकै अर्का एक कर्मचारीले शक्ति, पहुँच र आवश्यक परे पैसासमेत खर्च गरेर कर्मचारीहरू काज मिलाएर बसेको बताइन्। यस्तो क्रियाकलाप नौलो भने नभएको उनी बताउँछिन्। जुन पार्टीको सरकार बन्छ सोहीअनुसार कर्मचारी सरुवा र फेरबदल हुने उनी बताउँछिन्।

‘निजामती क्षेत्र स्वतन्त्र हुनुपर्ने हो तर सरकारमा जुन पार्टी छ त्यसैको आडमा कर्मचारीहरूले सरुवा र काज मिलाउने गर्नु भएको छ’,थाहाखबरसँग उनले भनिन्। अहिले पनि राजनीतिक पार्टीको आडमा पहुँच हुनेहरू सरुवा भएको ठाउँमा नगई गृह मन्त्रालयमै काजमा बसिरहेको उनको भनाइ थियो। 

प्राधिकरण प्रशासनले दिएको जानकारीअनुसार दरबन्दीअनुसार ममताकुमारी ओझा, प्रमेश सिवा, स्मिता पौडेल र वासुदेव खनाल मात्रै त्यहाँ कार्यरत शाखा अधिकृत हुन्। सिन्धुपाल्चोकको जिल्ला प्रशासन कार्यालयमा ४ महिनाअघि नै सरुवा भएकी प्रभा अर्याल हालसम्म प्राधिकरणमा नै काज मिलाएर काम गरिरहेकी छिन्। सिंहदरवारमा हाजिर गर्ने उनको तलब भने सिन्धुपाल्चोकबाटै आउँछ। 

त्यसैगरी त्रिभुवन विमानस्थलमा सरुवा भएकी शान्ति महत, तेह्रथुमको कारागार कार्यालय सरुवा भएकी मीनाक्षी भूर्तेल, प्यूठान कारागार कार्यालय सरुवा भएका दीपक पाण्डे, सप्तरी सरुवा भएका खेमराज पौडेल र वर्दान सेजुवाल हालसम्म सरुवा भएको कार्यालयमा हाजिर हुन पुगेका छैनन्। भनसुन र सोर्सफोर्स लगाएर उनीहरू महिनौंदेखि काजमा सिंहदरबारमा रहेको प्राधिकरणमा नै थुप्रिएका छन्। त्यसैगरी राजन घिमिरे‚ गंगा सुवेदी भट्टराई, उर्मिला अधिकारी र ताराबहादुर कुँवर पनि काज मिलाएर प्राधिकरणमा नै बसिरहेका छन्। 

पछिल्लो समय अधिक वर्षा सुरु भएसँगै बाढी, पहिरो र डुबान लगायतका विपद्को जोखिम पनि बढिरहेको छ। यस्तो अवस्थामा सक्रिय हुनुपर्ने प्राधिकरणमा दरबन्दीभन्दा तीन गुणाभन्दा बढी शाखा अधिकृत मात्रै भए पनि कार्यालय भने सुनसानप्रायः छ।

मंगलबार थाहाखबरकर्मी प्राधिकरणको कार्यालय पुग्दा अधिकांश कार्यकक्ष र कुर्सी खाली थिए। काज मिलाएर सिंहदरबारमा नै थुप्रिएका कर्मचारीहरू कार्यालयमा भने थिएनन्। हाजिर गरेरै तलब पकाइरहेका उनीहरू विभिन्न बहाना बनाएर दिन कटाइरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.