|

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयन गरी सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गर्दै समतामूलक समाजको सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। 

बुधवार सविधान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं रक्षामन्त्री समेत रहनुभएका खड्काले अबको देशको कार्यसूचि सुशासन, समृद्धि र सामाजिक न्याय रहेको बताउनु भयो । उहाँले भौतिक पूर्वाधारका साथै आर्थिक, सामाजिक र पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशिघ्र साकार तुल्याउन अब सबै थप समर्पण भावका साथ जुट्नुपर्ने बताए।

उनले सरकारले स्वास्थ्य, पूर्वाधार एवं सेवाहरुको बिस्तार र सुदृढीकरण गरी महामारी नियन्त्रण र विपद् व्यवस्थापन तथा न्युनिकरण गर्न सक्दो प्रयास गरिरहेको समेत उल्लेख गर्नुभयो । उहाँले डेंगु रोग फैलिन नदिन तथा यसबाट हुनसक्ने सम्भावित क्षति न्युनिकरण गर्न सरकारले आवश्यक तयारी गर्नुका साथै प्रदेश र स्थानीय तहसम्म समन्वय गरिरहेको पनि बताए।

कार्यवाहक प्रधानमन्त्री खड्काले देशको पूर्वी पहाडी भूभाग लगायत विभिन्न क्षेत्रमा आएका बाढी, पहिरो जस्ता विपद्का कारण भएको जनधनको क्षतिमा तत्काल राहत, उद्धार तथा पुनः स्थापनाका लागि प्रदेश र स्थानीय तहको समेत समन्वयमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताउनु भयो । उहाँले संविधानको मर्म र भावना बमोजिम नागरिकलाई खुशी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभुति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गरिएको जानकारी दिए।

उनले उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको बताए। शिक्षा, स्वास्थ्य जस्ता आधारभुत सेवामा सबै नेपालीको समान र सहज पहुँच होस् भन्ने विषयमा सरकार सचेत र सजग रहेको दाबी गरे। उनले संविधानप्रति आग्रह र पूर्वाग्रह नराखि नागरिकको हितमा जुट्न आह्वान गरे।

कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानको पूर्ण पालना र कार्यान्वयनमा सबै एकतावद्ध हुन जरुरी रहेको बताए। उनले संविधान देशको मुल कानून हुनका साथै समाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक एवं मनोवैज्ञानिक चेतनाको दर्पण भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.