|

दाङ : लुम्बिनी प्रदेश सरकारले राउटे समुदायलाई  दशैँ खर्च उपलब्ध गराएको छ। केही दिन अघि दशैँ खर्चको जोहो गर्न आएका उनीहरूलाई  प्रदेश सरकारले २५ हजार उपलब्ध गराएको हो।  मंगलबार मन्त्रालयमा बोलाएर दशैँ खर्च उपलब्ध गराइएको हो।

अर्थमन्त्री धनबहादुर मास्कीले राउटेहरूलाई सरकारको तर्फबाट दशैँ खर्च बापत २५ हजार रूपैयाँ उपलब्ध गराएका थिए।

दैलेखबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई मन्त्री मास्कीले उक्त पैसा हस्तान्तरण गरेका थिए। सरकारले दिएको पैसा सही सदुपयोग गर्न  उनले अनुरोध गरेका थिए।

प्रदेश सरकारले २५ हजार दिएपछि उनीहरूले थोरै  भएको गुनासो गरेका थिए। मुखिया शाहीले भने,‘दाङबाट सुर्खेत जानको लागि ३ हजार भाडा लाग्छ। होटलमा खाना पनि खानु पर्‍यो। दशैँको लागि नुन, तेल, चामल, दाल मासु किन्न पर्छ। यो पैसा थोरै भयो। मैले मुख्यमन्त्रीसँग ५० हजार भनेको थिएँ। तर,  हामीलाई २५ हजार मात्र दिइयो। यो रकमले दशैँ मान्न धौ धौ हुन्छ।’  

केही दिन अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग राउटे समुदायले दशैं खर्च मागेका थिए। ८६ घर रहेका राउटे समुदायहरू अहिले दैलेखमा रहेका छन्। उनीहरू दैलेखबाट सहयोग माग्न दाङ  आएका थिए।
यस्तै  घोराही उपमहानगरपालिकाले पनि  १५ हजार रूपैयाँ उपलब्ध गराएको छ। नगर प्रमुख नरुलाल चौधरीले उनीहरूलाई  १५ हजार रुपैयाँ नगद दशैँ खर्च उपलब्ध गराएका थिए। राउटे युवाहरूले नगर प्रमुखसँगै उपप्रमुख हुँमा कुमारी डिसीलाई समेत भेट गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.