|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले त्रिविको स्तर पहिलेको जस्तै कायमै रहेको जनाएको छ। त्रिविले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी एशियाका विश्वविद्यालयहरूबीच भने त्रिविको स्तर पहिलेको जस्तै कायमै रहेको जानकारी दिएको हो।

‘सन् २०२३ को टाइम्स हाइएर एजुकेशन स्तर मापनअनुसार त्रिवि विश्वस्तरमा ८०१ देखि १००० को बीचमा रहेको थियो भने एशियाका विश्वविद्यालयहरूबीच २५१ देखिको ३०० स्तरमा थियो, आउँदो वर्ष २०२४ को लागि यस संस्थाले त्रिवि स्तर मापनमा १२०१ देखि १५०० बीचमा देखाएको छ,’ त्रिविको विज्ञप्तिमा उल्लेख छ।

एशियाका विश्वविद्यालयहरूमाझ भने त्रिविको मापन स्तर गत वर्ष जस्तै २५१ देखि ३०० बीचमा नै रहेको त्रिविले जनाएको छ।

‘समग्र विश्वविद्यालयको स्तर मापनका विभिन्न सूचकहरूमा त्रिविले निरन्तर सुधार गर्दा पनि मापन स्तर केही कम देखिएकोले सरोकारवाला सबैमा अन्योलता नहोस् भनि स्पष्ट पार्न खोजिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘टाइम्स हाइएर एजुकेशनले विश्वविद्यालयको स्तर निर्धारणमा अनुसन्धान साइटेशनलाई ३० प्रतिशत (अर्थात् एक तिहाई) अंकभार दिएर स्तर निर्धारण गर्ने परम्परालाई सन् २०२४ बाट १५६ मात्र अनुसार दिने गरी मूल्याङ्कन पद्धतिमा परिवर्तन गरेका पाइन्छ, जो त्रिविको सबैभन्दा राम्रो सूचक थियो त्यसलाई कम अंकभार बनाएको छ।’

त्रिविका अनुसार यसको नकारात्मक असर भने चीन र भारतका विश्वविद्यालयहरूमा पनि पर्न गएको देखिन्छ जसले गर्दा सन् २०२३ मा चीनका ९५ विश्वविद्यालय स्तर मापनभित्र परेका थिए भने आउँदो वर्ष २०२४ मा ८४ विश्वविद्यालयलाई राखिएको छ। 

चीन, भारत र नेपाललगायत एशियामा बढ्दै गएको विश्वस्तरीय अनुसन्धान र प्रकाशन एवं सोको साइटेशनलाई कम अंकभार दिई गणना गर्दा विविध शङ्का, उपशंका उब्जिएको पाइएको त्रिविको भनाइ छ।

‘नेपाललगायत अन्य विकासशील देशहरूको सन्दर्भमा अव्यावहारिक तथा कानूनले निषेध गरेका नयाँ नयाँ सूचकहरु पनि थपिएका छन् जस्तै अन्तरराष्ट्रिय प्राध्यापक संख्या अनुपात, अन्तरराष्ट्रिय कर्मचारी संख्या अनुपात, अन्तरराष्ट्रिय विद्यार्थी संख्या अनुपातलगायत कतिपय पश्चिमा विश्वविद्यालयहरूको अभ्यासलाई मात्र प्राथमिकता दिएकोले त्रिविको समग्र स्तरमा मेल नखाई केही कमी देखिएता पनि एशियाका विश्वविद्यालयहरूबीच भने त्रिविको स्तर पहिलेको जस्तै कायमै रहेको सरोकारवाला सबैमा सूचित गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.