|

काठमाडौँ : सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ। यस कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए खुवाइन्छ। 

आव ०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दशैँ परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए।

उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइनेछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकारअन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ।

दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाखमा महिनामा गर्ने गरिएको छ। भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधी करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।

सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.