news

|

चन्द्रौटा : औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि कपिलवस्तुको चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ।

जिल्लाका क्षयरोगका बिरामी उपचारका लागि अन्त जानुपर्ने बाध्यता अन्त्य गर्न चन्द्रौटास्थित आधारभूत स्वास्थ्यसेवा अस्पतालमा केन्द्रको शुक्रवार उद्घाटन गरिएको हो।

लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो उपचार केन्द्रको रूपमा चन्द्रौटामा सुरु गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माले बताए। नेपालभर २३ वटा डिआर सेवा र ८६ वटा उपकेन्द्र रहेको शर्माले बताए।

‘नेपाल सरकारले २०२१ देखि २०२५ सम्म क्षयरोग उपचारका लागि रणनीति तयार पारेको छ’, शर्माले भने, ‘उपचार केन्द्र र उपकेन्द्रहरू गाउँस्तरमा स्थापना गर्ने योजनाअनुसार प्रदेश र केन्द्र सरकारले योजना बनाइरहेको छ।’

सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा समेत प्रभावकारी ढङ्गले अघि बढ्ने शिवराज नगरपालिकाका मेयर अजय थापाले बताए। कपिलवस्तु जिल्ला मात्र नभई छिमेकी जिल्लाका बिरामीलाई समेत सहज हुने थापाको भनाइ छ। अस्पतालले सेवा प्रवाहलाई प्रभावकारी रूपमा प्रदान गर्ने थापाले बताए।

केही दिनमै २४ औँ घण्टामा सेवा प्रवाह तथा पोस्टमार्टम गर्न व्यवस्था मिलाइने थापाको भनाइ छ। क्षयरोगका कतिपय बिरामीले समयमा औषधि सेवन नगर्ने गरेको पाइने भएकोले सबै बिरामीलाई निगरानीमा गर्नुपर्ने नगर उपप्रमुख शिवकुमारी थारूले बताइन्।

डिआर उपचार केन्द्रबाट क्षयरोगको जाँच तथा बिरामीलाई निःशुल्क उपचार हुने शिवराज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख चूडामणि भट्टराईले बताए।

कपिलवस्तुमा प्रत्येक वर्ष क्षयरोगका बिरामी बढ्दै गएका छन्। तथ्याङ्कमा हेर्दा २०७५।०७६ मा ७२७ जना, २०७६।०७७ मा ५८५ जना, २०७७।०७८ मा ६३३ जना, २०७७।०७८ मा ६३३ जना, २०७८।०७९ मा ९०० जना र २०७९।०८० मा ९१४ जनामा क्षयरोगको सङ्क्रमण रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.