|

काठमाडौं : दरबारमार्गमा रहेको दरबार लाउन्ज एण्ड बारमा अब निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ।

यसका लागि महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइले आज निःशुल्क शौचालयसम्बन्धी सूचना बोर्ड, शौचालय सफाइ गर्ने, दुर्गन्ध हटाउने सामग्री उपलब्ध गराएको छ। 

यससँगै महाराजगञ्जमा रहेको प्रेसिडेन्ट सेकुवा, गोङ्गबु मित्रनगरको भलिबल क्लब, माछापोखरी प्रेसिडेन्ट सेकुवामा भएका शौचालय निःशुल्क गरिएको छ। यी स्थानका लागि पनि सफाइका सामग्री उपलब्ध गराइएको छ।

सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख डा. शिवराज अधिकारीले शौचालयको उपलब्धतालाई अनिवार्य सेवाका रुपमा लिएकाे बताए।

‘जनसाधारणको पहुँच हुने हरेक ५ सय मिटर दूरीमा भेटिने व्यक्तिगत तथा कार्यालय भवनमा भएका शौचालय सार्वजनिक रुपमा उपयोग गर्न दिने सर्तमा हामी सहयोग उपलब्ध गराउँछौँ,’ उनले भने।

सामग्री वितरण गर्दै सहरी योजना आयोगका विज्ञ विनोद न्यौपानेले शहरमा भएका हरेक व्यक्तिले चाहेका बेला शौचालय निःशुल्क प्रयोग गर्न पाउनुपर्ने बताए।

‘यी शौचालयहरू सफा हुन् भन्ने महानगरपालिकाको चाहना हो, यसरी सञ्चालन गर्दा सफाइमा खर्च गर्नुपर्ने भएकोले महानगरपालिकाले जिन्सी सहयोग उपलब्ध गराएको हो,’ उनले भने।

उनका अनुसार होटल तथा रेष्टुरेन्टमा भएका शौचालय सार्वजनिक उपयोगमा ल्याउन होटल व्यवसायी महासंघले सहयोग गरेको छ। महासंघका महासचिव तुलसी भण्डारी भन्छन्, ‘हामी सामाजिक उत्तरदायित्व निर्वाह गरेका हौँ।’

उनका अनुसार एकाईले शौचालयको स्वच्छतासम्बन्धी आचरण विकास गर्न वर्षको ३ पटक निःशुल्क सफाइका सामान उपलब्ध गराउनेछ। टिनको बाकसमा हालेर सेतो फिनेल, कालो फिनेल, दाना फिनेल, हार्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मफ, बाल्टिन, साबुन, डोर म्याटसहितका सामान दिइएका छन्।

डिटोल, रुमाल, रुम स्प्रे, डस्टबिन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रससहितका सामान उपलब्ध दिइएका छन्। भएका शौचालय नियमित र व्यवस्थित गर्ने, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत व्यक्ति, बैङ्क, वित्तीय संस्था र कार्यालयबीच सहकार्य तथा टोल सुधार समितिको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन गर्ने एकाईको योजना छ। 

व्यक्ति तथा संघ सस्था गरेर यसअघि १२० जनासँग सम्झौता गरेर व्यक्तिगत तथा संस्थाहरूका शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न थालिएको थियो। यसको सञ्चालन अवस्था एकाइले अध्ययन गरिरहेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.