|

काठमाडौं : हाल नेपालका एक सयभन्दा बढी नर्सिङ कलेज बन्द भएका छन्। स्टाफ नर्स नै स्वास्थ्य सेवामा प्रवेशविन्दु मानेर अनमी, सीएमए लगायतका स्वास्थ्य सम्बन्धी प्राविधिक कार्यक्रम हटाइएपछि ती कलेज बन्द भएका थिए। यसले गर्दा नर्सिङ पढाउँदै आएका ती कलेज पनि बन्द भएका हुन्।

मुख्यगरी -डिप्लोमा तहमा नर्सिङ सहितका २५० वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका कलेज बन्द भएका हुन्। जसमा प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)अन्तर्गतका प्रि-डिप्लोमा तहका स्वास्थ्य विषयका १३७ वटा बन्द भएका छन्। त्यसमा स्टाफ नर्ससम्बन्धी ७३ वटा, विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बीएनका १० वटा र बीएस्सी नर्सिङका ८ वटा शिक्षण संस्था बन्द भएका छन्।

वर्षेनि करिब  ७ हजार नर्स उत्पादन हुँदै आएको नेपालमा यी कलेज बन्द भएपछि त्यो संख्या पनि ह्वात्तै घटेको छ। यसरी कलेज बन्द हुनुको मुख्य कारण भनेको डा. गोविन्द केसीको पटक पटकको अनशनको जगमा आएको चिकित्सा शिक्षा ऐन हो।

डा. केसीको अनशनको जगमा पाँच वर्षअघि आएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनले कुनै पनि विश्वविद्यालयले कुनै पनि शिक्षण संस्थालाई चिकित्सा शिक्षातर्फ प्रमाणपत्र वा सोभन्दा तल्लो तहका कार्यक्रम अध्यापन गर्न अनुमति नदिने र चलिरहेका कार्यक्रम पनि ५ वर्षभित्र हटाउनुपर्ने उल्लेख थियो। त्यसैअनुसार यी कलेज फेजआउट भएका थिए। यसले गर्दा पछिल्लो चार वर्षमा नेपालमा नर्सिङ उत्पादनको संख्या ह्वात्तै घटेको छ।

यी कलेज बन्द नहुँदा नेपालमा वार्षिक ७ हजार नर्स उत्पादन हुँदै आएका थिए। हाल नेपालमा वर्षेनि जम्मा १२ सय पीसीएल नर्स तथा ४ हजार बीएन र बीएस्सी नर्स उत्पादन हुन थालेका छन्। चिकित्सा शिक्षा आयोगका निवर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीका अनुसार चिकित्सा शिक्षा ऐन आएपछि नेपालमा रहेका नर्सिङ कलेजले वर्षेनि १२ सय पीसीएल नर्स तथा ४ हजार जति बीएन र बीएस्सी नर्स उत्पादन गर्दै आएका छन्।​

‘ऐनमै विश्वविद्यालयले कुनै पनि शिक्षण संस्थालाई चिकित्सा शिक्षातर्फ प्रमाणपत्र वा सोभन्दा तल्लो तहका कार्यक्रम अध्यापन गर्न अनुमति नदिने र सञ्चालनमा रहेका कार्यक्रम पनि ५ वर्षभित्र हटाउने उल्लेख थियो। सोहीअनुरूप कलेज बन्द भएका हुन्’‚ प्राडा गिरीले भने।

कलेज फेजआउट भएर नर्सिङ उत्पादनको संख्या घटे पनि अहिले उत्पादन भएका जति गुणस्तरीय रहेको प्राडा गिरीले बताए। ‘धेरैतिरबाट वर्षेनि उत्पादन हुने नर्सिङ संख्या घट्यो भन्ने आइरहन्छ‚ बुझ्नुपर्ने कुरा के हो भने चिकित्सा शिक्षा ऐन आउनुपूर्व धेरै कलेजबाट उत्पादन हुने नर्सभन्दा अहिले उत्पादित गुणस्तरीय छन्। अहिलेको अवस्था भनेको संख्यात्मकभन्दा गुणात्मक जनशक्ति उत्पादन गर्नु हो। बजारमा रहेका प्रायः नर्स धेरै भएर होइन कम गुणस्तरीय भएर बेरोजगार जस्ता भएका हुन्'‚ प्राडा गिरीले भने।

सामान्यतया एकजना नर्सले धेरैमा ६ देखि ८ जना विरामी हेर्नुपर्ने व्यवस्था विश्व स्वास्थ्य संगठनले गरेको छ। विश्व स्वास्थ्य संगठनले सघन उपचार कक्षमा एकजना विरामी बराबर एक नर्स हुनुपर्ने भनेको भने जनरल वार्डमा एक नर्सले ८ जना विरामी हेर्नुपर्ने नियम छ।

नेपालमा भने एक नर्सले १५ देखि २० जना बिरामीसम्म हेर्नुपर्ने बाध्यता छ। अस्पतालको वार्डमा हेल्परसमेत नहुँदा दोहोरो कामको चेपुवामा रहेको र  यसले नर्सहरूमा मानसिक तनाव बढाउने गरेको बताउँछिन् त्रिवि शिक्षण अस्पतालमा कार्यरत नर्सिङ अधिकृत बिन्दा शर्मा। अस्पतालमा क्षमताभन्दा बढी विरामी हेर्नुपर्ने हुँदा नर्सहरूले मानसिक दबाव समेत खेप्नुपरेको बताउँछिन् उनी।

‘सामान्यतया एउटा नर्सले जनरल वडामा ५ जना विरामीसम्म हाम्रोमा हेर्नुपर्छ तर अहिले एउटै नर्सले ३५ जनासम्म विरामी हेर्नुपर्ने अवस्था छ। जसले गर्दा नर्सहरूमा पर्याप्त आराम नपुगे र मानसिक दबावमा काम गर्दा विभिन्न खालका समस्या सिर्जना हुने गरेको छ, विरामीको अनुपातमा नर्सले कति विरामी हेर्ने भन्ने मापदण्ड नेपालमा राम्रोसँग लागू नहुँदा पनि समस्या छ'‚ नर्स शर्माले भनिन्।

यसैगरी नियमित ८ घन्टाभन्दा बढी काम गर्दा पनि कम पारिश्रमिक उपलब्ध हुने गर्दा पनि भएकै नर्स पलायन हुने गरेको उनको भनाइ छ। उनले भनिन्‚ ‘एकातिर भएकै नर्सहरू कम तलबमा काम गर्न बाध्य छन् जसले गर्दा उनीहरू विदेश पलायन हुने गरेका छन्। नर्सका लागि राम्रो तलब भनिएको टिचिङमा धेरै भनिएको ५० हजारसम्म छ तर विदेशमा एउटै नर्सले एक लाखभन्दा बढी कमाउँछन्। यसले गर्दा अहिले अस्पतालमा कार्यरत नर्स पनि विदेशका लागि तयारी गर्ने र भएपछि यहाँ छाडेर विदेश जाने गरेको देखिन्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयार पारेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका र न्यूनतम सेवा मापदण्ड अनुसार जनरल कक्षमा चारदेखि ६ शय्यामा एकजना नर्स,  आकस्मिक कक्ष तथा पोष्ट अपरेटिभ कक्षमा प्रति दुई शय्यामा एकजना नर्स, सघन उपचार कक्षमा प्रतिविरामी बराबर एकजना नर्स हुनुपर्ने व्यवस्था छ।

यस्तै प्रसूतिकक्षको लेवर बडमा प्रतिमहिला दुई एस.बी.ए तालिम प्राप्त नर्स वा मिडवाइफको हिसाबले नर्सिङ जनशक्ति व्यवस्था गरिनुपर्छ। साथै विभिन्न बिदामा बस्दा कुल जनशक्तिको थप ३० प्रतिशत नर्सिङ जनशक्ति चाहिन्छ।

नेपालमा आवश्यक नर्सहरूलाई उत्पादन गरी २०८७ सालसम्म १६ हजार ६२८ जना नर्सिङ तथा मिडवाइफरी जनशक्ति नेपालमा थप गर्नुपर्ने स्वास्थ्य मन्त्रालय नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले केही समयअघि एउटा अध्ययन गरेको थियो। त्यो वेलासम्म नर्सिङ तथा मिडवाइफरी जनशक्ति २६ हजार ९१० जना आवश्यक पर्छ।

हाल नेपालमा एएनएम, स्टाफ नर्स, बीएन, बीएस्सी नर्सिङ र मास्टर्स अध्ययन पूरा गरेका नर्स छन्। यसैगरी स्वास्थ्य मन्त्रालय नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको तथ्यांकअनुसार सरकारी स्वास्थ्य संस्थामा अनमी ८ हजार ५००, स्टाफ नर्स १६ सय, नर्सिङ अफिसर १०९, कम्युनिटी नर्सिङ अफिसर २८, कम्युनिटी नर्सिङ एडमिनिस्ट्रेटर २, नर्सिङ एडमिनिस्ट्रेटर ३९ र चिफ नर्सिङ एडमिनिस्ट्रेटर चारजना गरी १० हजार २ सय ८२ जना सेवामा आबद्ध छन्।

स्वास्थ्य मन्त्रालयका नीति योजना प्रमुख डा. कृष्ण पौडेलका अनुसार हाल मागअनुसार नर्स पुर्‍याउन नसके पनि आगामी दिनमा विस्तारै पूरा हुने बताउँछन्।

नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने सरकारी संस्था चिकित्सा शिक्षा आयोगले ‘नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९-२०८७)’ नाम दिई गरेको अध्ययनले  नेपालको सरकारी निजी तथा सामुदायिक विभिन्न तहमा डाक्टर नर्ससहितका ५६ हजार ५० स्वास्थ्यकर्मी कम रहेको देखाएको हो। जसमा नर्सिङ जनशक्ति (स्नातकोत्तर तह) २४२, नर्सिङ जनशक्ति (स्नातक तह) ६९८ जना र नर्सिङ तथा प्रसूतिसम्बन्धी सहायक (प्रमाणपत्र) २ हजार ९२५ जना अपुग छन्।

'चिकित्सा शिक्षा ऐन आउनुपूर्व नेपालमा कति नर्स चाहिन्छ भन्ने केही अनुमान थिएन तर ऐन आएर आयोग स्थापना भएपछि आवश्यक जनशक्तिको अध्ययन भएको छ। यसले गर्दा वार्षिक त्यसैअनुसार जनशक्ति उत्पादन हुँदै जान्छन्। यसले गुणस्तरीय जनशक्ति पनि उत्पादन गर्न सहयोग गर्छ'‚ प्राडा गिरीले भने। 

नर्सिङ स्नातकोत्तरतर्फ ११.९५ प्रतिशत, नर्सिङ सहायक स्नातकतर्फ ४.९७ प्रतिशत र नर्सिङ तथा प्रसूतिसम्बन्धी सहायक प्रमाणपत्र तहतर्फ १.३१ प्रतिशत जनशक्ति उत्पादन बढाउनुपर्ने निष्कर्ष अध्ययनको थियो। चिकित्सा शिक्षा आयोगका एक अधिकारीका अनुसार हाल कलेज फेजआउट भएर नर्स उत्पादन कम भएको हल्ला गरिए पनि आगामी दिनमा आवश्यकतानुसार उत्पादन गरिँदै जाने रणनीति हुँदा आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्। उनले भने‚ ‘केही कलेज बन्दा हुँदा वार्षिक उत्पादन हुने नर्सिङ संख्या घट्दा बजारमा फरक खालको माहोल बनेको हो तर हामीलाई पुग्ने नर्स पर्याप्त छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.