|

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन्।

सरकारको एकवर्षे कार्यकालको समीक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरुले नै सरकार असफल भएको प्रतिक्रिया दिएको दाबीसमेत गरे। 

मंगलवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले नेपाली काँग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन भनेकोसमेत उल्लेख गरे। 

उनले अहिलेको सरकारलाई खिचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःखमात्रै पाउने जिकिर गरे।

‘यो सरकार सम्पूर्ण रुपमा असफल भयो। देशले सबै क्षेत्रमा सुशासनको क्षेत्रमा, शान्ति सुरक्षाको क्षेत्रमा, राष्ट्रिय स्वाभिमान र राष्ट्रको सम्मान अभिवृद्धिको क्षेत्रमा, संविधानको रक्षा र कार्यान्वयनको क्षेत्रमा, मानव अधिकारको क्षेत्रमा, शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्ने सन्दर्भमा, राजश्व परिचालनका सन्दर्भमा, अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउने सन्दर्भमा सबै सन्दर्भमा असफल भयो‚’ उपाध्यक्ष पौडेलले भने, ‘यो सरकार जति दिन बस्छ, देशले त्यति दुःख पाउने हो‚ त्यतिधेरै देश ओरालो लाग्ने हो।’ 

सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको आरोप थियो। उनले सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि पटकपटक दोहोर्‍याए।

​‘यो खिचडी सरकारको कुनै नीति छैन, विचार छैन, विश्लेषण छैन, गन्तव्य छैन, केही पनि छैन। बाँडने र खाने भन्दा यो सरकारको केही पनि छैन‚’ उनले भने‚ ‘सरकारमा सहभागी दलहरु र त्यसका नेताहरुले भनिराखेका छन्–यो सरकार असफल भयो। असफल भयो भने यो असफल सरकारलाई बोक्ने किन?’

उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसदको अंकगणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.