भ्रमणमा हुन्छ मनपरी

|

काठमाडौँ : नेपालको स्वास्थ्य सेवाका कर्मचारी (स्वास्थ्यकर्मी) विश्व स्वास्थ्य संगठन सहित विभिन्न दातृनिकायले आयोजना गर्ने अन्तरराष्ट्रिय कार्यक्रममा जाने गरेका छन्।

मन्त्रालयको विवरणअनुसार गत वैशाख १ गतेदेखि मंसिर १५ गतेसम्म १७८ वटा विदेश भ्रमण स्वीकृत भएका छन्। यी भ्रमणमा मन्त्रालयअन्तर्गतका उच्च तहदेखि तल्लो तहसम्मका ४ सयभन्दा बढी कर्मचारी सहभागी भएका छन्।

यसरी स्वीकृत विदेश भ्रमणमा स्वीजरल्याण्डका १८, थाइल्याण्डका ३४, भारतका ३२  र इण्डोनेशियाका १२ वटा रहेका छन्। यसैगरी श्रीलंका, बंगलादेश, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका लगायतका देशमा यसबीच भएका विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रममा सहभागी हुन भन्दै भ्रमण कार्यक्रम स्वीकृत भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

यसमा विश्व स्वास्थ्य संगठन  (डब्लुएचओ)ले आयोजना गरेका अन्तरराष्ट्रिय कार्यक्रममा जाने ११३ वटा भ्रमण परेका छन्। यसबाहेक युनिसेफका र युएनएफपीए आयोजक भएका १७ देशको भ्रमण स्वीकृत भएको छ। यस बाहेकका अन्य भ्रमण भने विभिन्न खाले दातृसंस्थाका रहेका छन्।

स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूका अनुसार डब्लुएचओ लगायतका युएन एजेन्सीका कार्यक्रममा भने यी एजेन्सीले मन्त्रालयलाई दिने अनुदान रकमबाटै कटौती हुने गरी कर्मचारीको भ्रमण स्वीकृत गरिन्छ। मन्त्रालयको कर्मचारी प्रशासन शाखाका एक कर्मचारीले भने‚ ‘डब्लुएचओ लगायतका युएन एजेन्सीको कार्यक्रममा भने यी एजेन्सीहरुले मन्त्रालयलाई दिने अनुदान रकमबाटै कटौती हुने गरी कर्मचारीहरूको भ्रमण स्वीकृत हुने गर्छ। यसैअनुरूप कर्मचारी विदेश भ्रमण गर्छन्।’

यसरी भ्रमणमा जाने प्रत्येक कर्मचारी बराबर ३ लाखभन्दा बढी खर्च हुने गरेको देखिन्छ।  युएन एजेन्सी बाहेक अन्य संघसंस्थाको माध्यमबाट जानेहरूको भने आयोजक संस्थाहरूले बेहोर्ने गरेका छन्।

सात महिनामा स्वास्थ्यमन्त्रीको ५ पटक विदेश भ्रमण

मन्त्रालयको जानकारीअनुसार मन्त्रालयको कार्यभार समालेको सात महिनाको बीचमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले ५ पटक विदेश भ्रमण गरेका छन्।​ मन्त्रिपरिषद्को निर्णय भएर स्वास्थ्यमन्त्री बस्नेत स्वीजरल्याण्ड एकपटक, भारत दुईपटक, इजिप्ट एकपटक र युएई एकपटक गएका छन्।

यसबीचमा मन्त्री बस्तेत एकपटक बेलायत भ्रमणमा समेत गइसकेका छन् तर बेलायत भ्रमण निजी भएको उनको सचिवालयले जनाएको छ। मन्त्रिस्तरीय भ्रमणको खर्च नेपाल सरकारले बेहोर्दै आएको छ।

विदेश भ्रमणमा पनि मन्त्री बस्नेतको मनपरी

मन्त्रालयको विवरणअनुसार युनिसेफ तथा डब्लुएचओ जस्ता विज्ञहरूको सहभागिता हुनुपर्ने अन्तरराष्ट्रिय सम्मेलनमा योपटक पनि मन्त्रीकै सचिवालय तथा निकट व्यक्ति​लाई पठाएको देखिएको छ।

मन्त्रालयको विवरणअनुसार गत अक्टोबरमा भारतमा भएको युनिसेफको सम्मेलनमा प्रेस सल्लाहकार रामचन्द्र दुलाललाई पठाइएको छ। विदेश भ्रमणमा पनि मन्त्रीले आफ्नै गृहजिल्ला सिन्धुपाल्चोकका व्यक्तिहरूलाई प्राथमिकता दिएको पाइएको छ। गत सेप्टेम्बर ४ तारिखदेखि ८ तारिखसम्म सिंगापुरमा भएको डब्लुएचओको स्वास्थ्यसेवा सुविधा तथा विरामी हेरचाह र  सुरक्षा सम्बन्धी कार्यक्रमा पनि मन्त्रीकै सचिवालयका दीपक दुलाल र उनका सल्लाहकार अर्जुन विष्ट गएको देखिन्छ। यसैगरी केही समयअघि जेनेभामा भएको डब्लुएचओकै क्षेत्रीय बैठकमा मन्त्रीका सल्लाहकार रहेका विश्वरूप खड्कालाई पठाइएको थियो।

स्वास्थ्य क्षेत्रका विज्ञहरूको सभागिता हुनुपर्ने कार्यक्रममा नागरिक समाजका मान्छे पठाएका छन्। गत अक्टोबरमा थाइल्याण्डमा सम्पन्न डब्लुएचओको दक्षिण-पूर्वी एशिया बैठकमा स्वास्थ्यको आर्थिक र व्यावसायिक निर्धारकहरूमा क्षेत्रीय परामर्श कार्यक्रममा सिन्धुपाल्चोक सुनकोशी गापा-२ स्थायी ठेगाना भएका नागरिक समाजका श्रवणकुमार जीसीलाई पठाएको मन्त्रालयको रेकर्डमा छ।

मन्त्री बस्नेतले आफ्नै गृहजिल्लाका व्यक्तिलाई विदेश भ्रमणको प्राथमिकतामा राखेर पठाएको देखिन्छ। केही समयअघि भारतमा सम्पन्न डब्लुएचओको क्षेत्रीय सम्मेलनमा सिन्धुपाल्चोकका दुईजनालाई उनले सहभागी बनाएका थिए।

स्वास्थ्यका जानकारहरूका अनुसार यी सबै स्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी हुनुपर्ने अन्तरराष्ट्रिय मञ्च हुन्।

भ्रमणमा हुन्छ मनपरी

स्वास्थ्य मन्त्रालयमा हुने बेथितिमध्ये एक हो‚ वैदेशिक भ्रमणमा मनपरी आफ्ना मान्छेलाई पठाउने। यसअघि  स्वास्थ्य मन्त्रालयमा अन्तरराष्ट्रियस्तरका स्वास्थ्यका कार्यक्रमका लागि मन्त्रालयमा स्वास्थ्यसेवा विभागको महानिर्देशकको नेतृत्वमा समिति नै गठन गरिएको थियो। जसले अन्तरराष्ट्रिय कार्यक्रमको प्रकृतिअनुसारको सोही क्षेत्रका विज्ञ स्वास्थ्यकर्मीहरू पठाउने प्रचलन रहेको थियो।

पछिल्लो समयमा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री र उनको सचिवालयले सीधै आफूखुसी व्यक्ति छानेर पठाउने विकृति बढेको छ। जसले गर्दा अन्तरराष्ट्रिय स्वास्थ्य सम्मेलनहरूमा नेपालले आफ्नो क्षेत्रबाट गर्नुपर्ने बहस/पैरवी कमजोर हुँदा त्यसबाट नेपालको स्वास्थ्य क्षेत्रमा लिन सकिने लाभ कमजोर हुँदै गएको बताउँछन्‚ मन्त्रालयका पूर्व अतिरिक्त सचिव महेन्द्र श्रेष्ठ।

पूर्व अतिरिक्त सचिव श्रेष्ठले भने‚ ‘पहिला विदेश भ्रमणमा कस्ता कार्यक्रममा को जाने भन्ने छनोट गर्ने समिति नै थियो। सोही समितिले कार्यक्रमको स्वरूपअनुसार विषयगत विज्ञहरू पठाउने निर्णय हुन्थ्यो। जसले गर्दा अन्तरराष्ट्रियस्तरमा नेपालको राम्रो पैरवी पनि हुन्थ्यो। यसबाट देशलाई धेरै लाभ हुन्थ्यो। अहिले त यस्ता भ्रमणलाई घुमफिरको अवसरको रूपमा लिने गरिन्छ, जुन हाम्रा लागि ठूलो दुर्भाग्य हो।’

स्वास्थ्य क्षेत्रमा हुने ठूला अन्तरराष्ट्रिय कार्यक्रममा विषयगत तथा नीतिगत तहमा बहस पैरवी गर्न मन्त्रालयका उच्चस्तरीय कर्मचारीहरू र स्वास्थ्य क्षेत्रको प्रगतिका लागि प्रभाव पार्ने खालका व्यक्तिहरू पठाउनुभन्दा पनि मन्त्री र उनका आसेपासे कर्मचारीहरूलाई पठाउने प्रचलन रहेको बताउँछन्‚ मन्त्रालयका पूर्व कर्मचारी प्रा.डा. जागेश्वर गौतम। उनले भने‚ 'पछिल्लो समय स्वास्थ्य क्षेत्रका अन्तरराष्ट्रिय मञ्चहरू भनेको आफ्ना मान्छेलाई विदेश भ्रमणमा पठाउने मौका ठानी पठाउँदा नेपालको साख गिर्दो छ। यो विकृति अझै डब्लुएचओका महासभाहरूमा व्यक्तिहरू पठाउने वेला देखिन्छ।’

मन्त्रालयको कार्यभार सम्हालेको पहिलो दिननै स्वास्थ्यमन्त्री बस्नेतले विदेश भ्रमणमा हुने बेथिति रोक्ने बताएका थिए। त्यस वेला मन्त्री बस्नेतले भनेका थिए‚ ‘स्वास्थ्य क्षेत्रमा हुँदै आएको अर्को समस्या हो‚ विदेश भ्रमणमा छनोट गर्ने व्यक्तिहरू जहाँ जानुपर्ने भन्दा  पनि नजानु पर्नेलाई  पठाइन्छ तर मेरो कार्यकालमा यो हुन दिनेछैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.