|

काठमाडौं : प्रहरीको गोली लागेर मारिएका सर्लाहीको बरहथवा–६ का जयशंकर साहको शव अहिले पनि घटनास्थलमै छ। स्थानीयवासी शव घेरा हालेर रातभर घटनास्थलमै बसेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए।

शुक्रबार दिउँसो नगर अस्पताल स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर साहको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा भएको झडपमा ८ प्रहरीसहित १० जना घाइते भएका छन्।

एक प्रहरी नायब निरीक्षकको अवस्था गम्भीर रहेको छ। थप उपचारका लागि उनलाई वीरगञ्ज पठाएको प्रहरीले जनाएको छ। अरु घाइते स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्। 

स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार अपराह्न साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ। कर्फ्यूलाई निरन्तरता दिने कि हटाउने भन्ने विषयमा छलफल गर्न अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको डीएसपी थारुले जानकारी दिए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.