|

पर्वत : आइतबारदेखि देशका ५१ वटा जिल्लामा दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु भएको छ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँसहित तराईका भारतसँग सीमा जोडिएका दादुरा– रुबेलाको अतिसंक्रमित २१ जिल्लामा ९ महिनादेखि १५ वर्ष उमेरका तथा बाँकी जिल्लामा नौ महिना देखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइँदै छ।

बच्चा जन्मिएपछि सकेसम्म कोही पनि नछुट्ने गरी यो खोप दिँदै आएको भए पनि विभिन्न कारणले बालबालिकाहरू खोपबाट वञ्चित भइरहेका छन्। धेरैले खोप पाएर केही जना छुट्दा मात्रै पनि उनीहरूकै माध्यमबाट यसको प्रकोप फैलिने जोखिम हुन्छ। स्वास्थ्यकर्मीहरूका अनुसार एक जनाबाट १८ जनासम्ममा सङ्क्रमण फैलिन सक्छ।

नेपाल सरकारले यसअघि सन् २०१९ मा नै नेपालबाट यो रोगको उन्मूलन गर्ने लक्ष्य थियो। लक्ष्य पूरा नभएपछि यसलाई सन २०२३ का लागि सारियो। तर कोभिड–१९ को सङ्क्रमण फैलिएपछि यो वर्षका लागि राखिएको लक्ष्यसमेत भेटिएन। अब भने सरकारले तेस्रो पटक सन २०२६ मा नेपालबाट दादुरा–रुवालेको सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ।

पर्वत जिल्लाको अवस्थामा हेर्ने हो भने हात्तीपाइले रोग बिरुद्धको औषधि सेवन अन्तिमपटक भन्दै पटकपटक खुवाइसकिएको छ। हरेक वर्षको अभियानलाई अन्तिम अभियानको नाम दिए पनि सर्वेक्षणका क्रममा भेटिने सङ्क्रमितहरूका कारण आम जिल्लावासीहरूले नै औषधि सेवन गरिरहनुपरेको छ।

दादुरा–रुवेला खोपलाई पनि पूर्ण कार्यान्वयनमा लैजान केही चुनौतीहरू आउन सक्ने सरोकारवालाहरू बताउँछन्। खोपको महत्वको बारेमा नबुझी खोपका विषयमा निर्माण गरिने नकारात्मक मानसिकता र त्यसको प्रसारका कारण लक्षित बालबालिकाहरू सबैलाई खोप लगाउन सबैको ध्यान पुग्नुपर्ने उनीहरूको भनाइ छ।

स्थानीय मात्रै नभएर कतिपय समस्याहरू राष्ट्रिय रूपमा नै रहेकोले खोप कार्यक्रममा चुनौतीहरू रहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख एकनारायण लम्साल बताउँछन्।

‘अपेक्षित कभरेज हासिल नहुनु, कभरेजमा एकरूपता नहुनु, शून्य खोप र ड्रप आउटको सङ्ख्या बढ्दै जानु, सूक्ष्म योजना अद्यावधिक नगरिनु, पूर्ण खोप दिगोपना कार्यक्रम प्रभावकारी नहुनु, महामारीहरू देखा पर्नु, खोप खोर जाने दर उच्च हुनु लगायत चुनौतीहरू यो अभियानमा छन्’, उनले भने, ‘फेरि कभरेज पनि राष्ट्रियको तुलनामा प्रदेशमा, प्रदेशको तुलनामा जिल्लामा, जिल्लाको तुलनामा स्थानीय तहमा, स्थानीय तहको तुलनामा वडामा कभरेजको एकरूपता भएको देखिँदैन।’

स्थानीय स्तरमा कार्यरत स्वास्थ्यकर्मीहरुले गाउँ टोलमा रहेका बालबालिकाहरूको तथ्यांक राखेका हुने र कोही छुटेको भएमा सहजै थाहा पाउन सक्ने भएकाले यसमा स्वास्थ्यकर्मीहरूको जिम्मेवारी बढी हुने पत्रकार गणेश पौडेल बताउँछन्। अभियानलाई औपचारिक अभियानका रूपमा भन्दा पनि व्यावहारिक अभियानका रूपमा लिएर कुरा नबुझेकाहरूलाई स्वास्थ्यकर्मीहरुले यसको आवश्यकताको बारेमा बुझाइदिने हो भने खोप लगाउन नमान्नेहरू पनि लगाउनको लागि तयार हुने उनको भनाइ छ।

‘खोप तथा विभिन्न औषधि सेवनको अभियानका बारेमा हाम्रा समाजमा नकारात्मक धारणाहरू छन्। ती औषधि र खोपको महत्वका बारेमा जानेका र बुझाउन सक्ने स्वास्थ्यकर्मी नै हुन्। खोप केन्द्रमा आएकालाई खोप लगाएर पठाउने मात्रै भन्दा पनि नआएकाहरूलाई खोजेर खोप लगाउने अर्को महत्त्वपूर्ण पक्ष हो’, उनले भने, ‘यसमा स्वास्थ्यकर्मीहरूलाई थप निर्देशन र थप सीप प्रदान गर्न सकेमा खोपबाट बालबालिकाहरू छुट्ने चुनौतीहरू कम हुन सक्छन्।’

नेपाली समाजमा निःशुल्क रूपमा प्राप्त भएका सामग्रीहरू गुणस्तरका होइनन् र सकेसम्म धेरै मूल्य तिरिएका सामग्रीहरू सक्कली नै हुन भन्ने मानसिकताको असर औषधिको क्षेत्रमा पनि परेको देखिन्छ।

सरकारले विभिन्न दातृ निकायसँगको सहकार्यमा ल्याउने र केही लागत आफूले पनि बेहोरेर महामारी तथा संक्रामक रोग नियन्त्रण र उन्मूलनको काम गरिरहेको छ। त्यही खोप र औषधि ग्रहण गर्नुपर्ने नागरिकले भने ‘कसैले परीक्षणको लागि नेपालमा खोप र औषधिको अभियान चलाएका’ आरोपहरू पनि लगाउने गरेका छन्। कोभिड–१९ को बेलामा कतिपयले यही बहानामा खोप नलगाई बसेका पनि भेटिएका थिए।

कतिपय व्यक्तिहरू भने खोप लगाएपछि शरीरमा आउन सक्ने सामान्य प्रतिक्रियाका कारण पनि डराउने गरेको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोला बताउँछन्। दादुरा रुबेलाको खोपसहित अन्य नियमित खोपहरूमा पनि शरीरमा सामान्य प्रतिक्रिया देखिनुले कुनै असर नपार्ने भए पनि कतिपयले भने प्रतिक्रियासँग डराएर खोप नै नलगाएको हुन सक्ने चुनौती उनले देख्छन्।

‘अहिले पनि अस्पतालमा हाइड्रोशीलका शल्यक्रिया गर्ने बिरामीहरू दैनिक रूपमा हुनुहुन्छ। उहाँहरूले हात्तीपाइलेको औषधि नखाएको हुन सक्नुहुन्छ। औषधि खाएपछि वा खोप लगाएपछि यसो हुन्छ उसो हुन्छ भन्ने अरूका गफैगफका आधारमा खोप र औषधिसँग भागेको पनि पाइन्छ’, डा बास्तोला भन्छन्, ‘एकछिनको रियाक्सनसँग डराएर जीवनलाई नै जोखिममा हाल्नु हुँदैन भन्ने कुरा त आम नागरिकले बुझ्नुपर्‍यो नि। खोप लगाएका सबैमा रियाक्सन हुँदैन तर कोही कोही सामान्य देखिए पनि उपचारको लागि हामीहरू तयार छौँ।’

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम विक  स्वास्थ्यप्रति सचेत रहेका, सूचनाका बारेमा थाहा पाएका र सचेत वर्गले खोजी खोजी खोप लगाउने भए पनि अस्थायी रूपमा डुल्दै आएका, सडक वा अन्य क्षेत्रमा मजदुरीको काम गरिरहेका, कुनाकाप्चामा रहेका बस्तीका बालबालिकाहरू छुट्न सक्ने चुनौती रहेको बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.