उपचारको दायरामा आउनेको संख्या न्यून

|

काठमाडौँ : ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ नारासहित आज (आइतवार) विश्व क्षयरोग दिवस मनाइ रहँदा गत आवमा ७० हजार नयाँ क्षयरोगी थपिएका छन्। 

राष्ट्रिय क्षयरोग केन्द्रकाअनुसार आर्थिक वर्ष ०७९/८० मा नेपालमा ७० हजार नयाँ क्षयरोगी थपिएका छन्।नयाँ थपिएका विरामीमध्ये करिब आधामात्र उपचारका दायरामा आएका केन्द्रले जनाएको छ। 

तथ्याङ्क हेर्ने हो भने नयाँ विरामीमध्ये ३७ हजार ४४७ जना मात्र उपचारमा दायरामा आएका देखिन्छन्। क्षयरोगका कारण वर्षेनि १८ हजारको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ। 

क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो। क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ।

केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले भने, “क्षयरोगको जोखिममा १५ देखि ४४ वर्ष उमेर समूहका मानिस छन्। पछिल्लो वर्षमा ६५ वर्षभन्दामाथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ।” 

हाल देशभरि ६ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध हुने गरेको जानकारी उनले दिए।

क्षयरोगको जोखिममा कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका विरामी, मादकपदार्थ सेवन गर्ने, एचआईभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु रहेको डा श्रेष्ठले जानकारी दिए।

केन्द्रका निर्देशक डा श्रेष्ठले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत हाल १२५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिँदै क्रमशः ७५३ वटै स्थानीय तहमा लागू गरिने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै क्षयरोगविरुद्ध प्रभावकारी रुपमा लड्न नवीन रणनीति लागू गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपालमा यो रोग प्रमुख जनस्वास्थ्य समस्याको रुपमा अझै पनि रहिरहनु चिन्ताजनक विषय भएको बताएका छन्।

उनले क्षयरोग निवारण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे। 

शुभकामना व्यक्त गर्दै स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्राले क्षयरोग रोकथाम, निदान र उपचारको खाँचो रहेका सबैलाई उपचारको दायरामा आउन आग्रह गरिन्। 

विशेषगरी जोखिम समूह, सीमान्तकृत जनसङ्ख्या तथा दुर्गम क्षेत्रसम्म यसको उपचार पुग्न आवश्यकता रहेको उनको भनाइ छ। सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य सरकारले राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.