'एकताको अध्याय समाप्त'

|

काठमाडौं : राप्रपा नेपाल र राप्रपाबीच मंगलबार काठमाडौंमा एकता घोषणा गर्ने कार्यक्रम थियो। तर सोमबार राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी एकता अन्त्यको घोषणा गरी सरकारमा दुई मन्त्री पठाएपछि एकता प्रक्रिया एकाएक रोकियो। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि मंगलबार पत्रकार सम्मेलन गरी एकताको अध्याय समाप्त भएको घोषणा गरेका छन्। थापाले राणामाथि चार आरोप लगाएका छन्।

१. राणाले सत्ता स्वार्थलाई प्राथामिकता दिनुभयो

कार्यकर्ताको चाहना र राष्ट्रको आवश्यकता महसुस गर्दै साउन २५ गते दुई पार्टीबीच एकीकरणको मिति तय भयो। पार्टी एकीकरणपछि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको विषयमा गर्ने निर्णयलाई शिरोधार्य गर्ने सहमति भएको थियो। साउन २४ गते बिहान पशुपति शम्शेर राणाले मलाई फोन गरेर जरुरी कुरा गर्नुछ भन्नुभयो। उहाँ र मबीच भेट भयो। उहाँले लाचारीका साथ भन्नुभयो- 'मैले पार्टीबाट दुई जनालाई मन्त्रीमा सिफारिस गर्नुपर्ने बाध्यता आइलाग्यो।' मैले एकपक्षीय रुपमा निर्णय गरी एकीकरणलाई धरासायी नपार्न अनुरोध गरेँ। कार्यकर्ताको चाहना र मुलुकको आवश्यकतालाई मध्यनजर गर्दै निर्णय गर्नु भनेर हिँडे। सत्ता स्वार्थमा लागेर उहाँले हिजो अपरान्ह साढे ४ बजे एकीकरण कार्यक्रममा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिनुभयो।

२. राष्ट्रवादी प्रजातान्त्रिक शक्तिलाई कमजोर पारियो

साउन २५ गते प्रजातान्त्रिक राष्ट्रवादी पक्षधरले बढो उत्सकुतापूर्वक प्रतिक्षा गरेको दिन हो। दुर्भाग्यवश पशुपति शम्शेर राणाले सामान्य शिष्टाचार समेत निर्वाह नगरी प्रेस विज्ञप्तिमार्फत एकीकरण स्थगित भएको निर्णय सुनाउनुभयो। यो निर्णयले लाखौँ कार्यकर्तालाई निरास तुल्याएको छ। पार्टी एकताले राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बलियो हुने सम्भावना थियो। उहाँले बलियो हुने स्थितिमाथि तुषारापात गर्नुभयो। म खेद प्रकट गर्दछु।

३. राजनीतिक बेइमानी गर्नुभयो

उहाँले अन्तरिम विधानमा केही असन्तुष्टि रहेको र केही विवाद मिलाउन बाँकी रहेको जानकारी गराउँदै एकपक्षीय ढंगबाट पार्टी एकीकरण अन्त्य गर्नुभयो। खास विवाद केही पनि थिएन, अन्तरिक विधान दुबै पक्षका टोलीले गहन अध्ययन गरी तयार गरेको थियो। यदि अन्तरिम विधानमा असन्तुष्टि भए म राप्रपाकै विधानमा हस्ताक्षर गर्न तयार छु भनेर मैले पशुपति शम्शेर राणासँग प्रतिबद्धता जनाएको थिएँ। विधानमा विवाद छ भनेर उहाँले झूट बोल्नुभयो। सामान्य शिष्टाचार र मर्यादा समेत पालना नगरी पार्टी एकीकरण स्थगित गरेर उहाँले राजनीतिक बेइमानी गर्नुभएको छ। उहाँले राजनीतिक बेइमानी गरेसँगै दुई पार्टीबीचको एकताको अध्याय आजैबाट समाप्त भयो।

४. अदृश्य शक्तिको प्रेरणाबाट लाचार हुनुभयो

असार २७ गते एकताको मिति र आधारपत्र प्रस्तुत गर्ने समारोहमा सहभागी भएर भारत भ्रमणमा जानुभएका पशुपति शम्शेर राणा माओवादी केन्द्रले समर्थन फिर्ता गरेको निर्णय सुन्ने बित्तिकै भारत भ्रमण छोट्टयाएर  काठमाडौँ फर्कनुभयो। लोकन्द्र बहादुर चन्दलाई उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब दिनुभयो। मैले एकपक्षीय रुपमा समर्थन फिर्ता नलिन र माओवादी केन्द्रले दर्ता गराएको अविश्वासको प्रस्तावलाई समर्थन नगर्न आग्रह गरेँ। तर एकपक्षीय ढंगबाट समर्थन फिर्ता लिने निर्णयमा पुग्नुभयो। यसबाटै एकता प्रक्रिया जटिल बन्दै गएको संकेत प्राप्त भयो। अन्तिम समयमा हामी परिणाम सकरात्मक बनाउन प्रयत्नशील थियौँ। तर साउन २४ गते मलाई फोन गरेर उहाँले भन्नुभयो- मलाई पार्टीका तर्फबाट दुईजना मन्त्री पठाउन बाध्यता आइपर्‍यो। कार्यकर्ताको भावना माथि तुषारापात गर्दै अदृश्य शक्तिको प्रेरणामा लागेर उहाँ लाचार हुनुभयो। राप्रपासँगको एकताको अध्याय समाप्त भएपनि आगामी दिनमा राष्ट्रियता र प्रजातन्त्रको सुदृढिकरणका लागि एजेन्डा मिल्ने अन्य शक्तिहरुसँग भने राप्रपा नेपालले एकताको प्रयासलाई निरन्तरता दिनेछ।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.