|

काठमाडौं : मंगलबार हुने भनिएको एकता घोषणाको पूर्वसन्ध्यामा राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणाले एकीकरण स्थगित गरेपछि राप्रपा नेपालले आफू स्तब्ध भएको जनाएको छ। एकीकरणको गृहकार्य नपुगेको र पार्टी विधानको अन्तरवस्तुमा थप छलफल आवश्यक रहेको भन्दै मंगलबार हुने भनिएको एकता हुन नसक्ने जनाएपछि नाटकीय ढंगले एकता प्रक्रिया भंग भएको छ।

'देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उदेश्यका साथ राप्रपा नेपाल र राप्रपाबीच एकीकरणको घोषणा गर्ने दुवै पक्षको सहमतिमा मिति र स्थान समेत घोषणा भई सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको अवस्थामा राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबराले विज्ञप्ति प्रकाशित गरी एक पक्षीय रुपमा एकीकरणको कार्यक्रम स्थगित गर्नु भएको समाचारले हामी स्तब्ध भएका छौं', राप्रपा नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राप्रपाको कदमलाई राप्रपा नेपालले आश्चर्यजनक भनेको छ। 'दुवै पार्टीका वार्ता टोलीले एकीकरणको नीति तथा आधारपत्र तयार गरिसकेको, दुवै पार्टीको केन्द्रीय कार्य समितिले औपचारिक रुपमा विधिवत एकता गर्ने निर्णय गरिसकेको, दुवै पार्टीका अध्यक्षले तिन दिन अघि मात्र पार्टी एकता गर्ने  संयुक्त विज्ञप्ति जारी गरि सकेको र अन्तरिम विधान समेत तयार भइसकेको अवस्थामा राप्रपा नेपाललाई जानकारी समेत नदिई एकीकरण घोषणाको पूर्वसन्ध्यामा विज्ञप्ति मार्फत एकीकरण स्थगन भएको प्रेस विज्ञप्ति निकाल्नु आश्चर्यजनक भएको छ', विज्ञप्तिमा उल्लेख छ।

राप्रपाले विधानको अन्तर्वस्तुमा थप छलफल आवश्यक रहेको बताए पनि राप्रपा नेपालले भने त्यसलाई बहानामात्र भएको बताएको छ। 'विधान लगायतका जुन प्राविधिक बहाना बनाइएको छ, यसमा कुनै सत्यता छैन। विधानमा कुनै अस्ष्टता वा कमी भएको भए राप्रपाको माग वा चाहना बमोजिम नै गर्न पनि राप्रपा नेपाल तयार भएको अवस्थामा राप्रपाको यो एकतर्फी निर्णयले पार्टी एकीकरण भएको देख्न चाहने लाखौं कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकहरुलाई निराश तुल्याएको छ', विज्ञप्तिमा उल्लेख छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राणालाई पार्टी एकता र सत्ता मध्ये एक रोज्न भनेको ट्विट गरेका छन्। 

आज बिहान पशुपति शमशेरजीलाई मैले भने-पार्टी एकता र सत्ता मध्य एक छान्नोस।उहाँको छनौटले पार्टी एकताको चाहना राख्ने लाखौं कार्यकर्ता निराश भए।

— Kamal Thapa (@KTnepal) August 8, 2016

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.