खुर्पादेखि हथौडाले हानेर हत्या

|

काठमाडौं : पछिल्लो समयमा व्यक्ति हत्याका घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन्। घटनाका प्रकृति हेर्दा धेरै जसो घटनाहरू कतै रिसिवि, कतै मादक पदार्थ सेवा तथा लागुऔषध दुर्व्यसनीको कारण देखिएको छ।

गत जेठ ४ गते ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या गरियो। उक्त प्रकरणमा प्रहरीले नाबालकसहित ७ जना पक्राउ गर्‍यो।

पक्राउ पर्नेमा २१ वर्षीय आइते भन्ने सचिन परियार, १८ वर्षीया अञ्जली श्रेष्ठ, २१ वर्षीया विपना वसन्ती भन्ने वसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा तामाङ, ३० वर्षीय दोर्जे अमृत तामाङ तथा एक १३ वर्षीय किशोर रहेका छन्।

 प्रहरीको अनुसन्धानका क्रममा उक्त होटलमा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेका थिए। त्यही क्रममा घिमरेले अञ्जलीलाई आँखा झिम्क्याएको घटना नै हत्यासम्मको रुप लिएको खुलेको हो। पक्राउ परेका अधिकांश लागुऔषध सेवन गर्ने रहेको र मृतक प्रहरी जवानले आँखा झिम्काएको उक्त घटना भएको देखिएको छ।

यस्तै, गत वैशाख २९ गते राती काठमाडौंको बत्तीसपुतलीमा  सामान्य विवादबीच मोरङका २४ वर्षीय शम्भु धिमाललाई चक्कु प्रयार गरे हत्या गरियो।  हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चारजना नै १७ वर्षमुनिका किशोर हुन्। 

विपरीत दिशाबाट आउँदै गरेका चारमध्ये एक किशोरसँग शम्भुको कुम ठोक्किएको थियो। सोही विषयमा विवाद हुँदा अर्का एक किशोरले आफ्नो साथमा बोकेको चक्कुले अन्धाधुन्ध प्रहार गरिएको थियो।  चार किशोरमध्ये तीनजनाले मदिरा सेवन गरेका थिए।  यसमा मादक पदार्थ सेवन  र कुम ठोक्किएकै भरमा हत्या गरिएको छ।

त्यसैगरी पर्वतको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा गत चैत १९ गते राती एक वृद्ध दम्पतीको हत्या भयो। उनीहरू ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री थिए। रातको समयमा हत्या भएपछि बिहान घरमा सुनसान भएपछि उनीहरूको हत्याको बारेमा थाहा भयो।

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरी टोली र सिआइबीले अनुसन्धान गर्‍यो।  दम्पतीको हत्यामा जलजला गाउँपालिका–२ नेपाने घर भएका ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका–२ खुर्कोट घर भई हाल जलजला गाउँपालिका–२ बौरमा बस्दै आएका ३२ बर्षकै दीपक दर्जी पक्राउ परे।

कृष्ण र दीपकबीच विगत ३/४ वर्षदेखि जिप चलाउने क्रममा चिनजान भएको थियो। आर्थिक स्थिति कमजोर भएको, लागु औषध दुर्व्यसनीमा लागेको, वैदेशिक रोजगारमा समेत असफल भएको, लगायतका कारण उनीहरूले विगत एक वर्षदेखि गाउँ घरका एक्ल महिला तथा बृद्धबृद्धालाई लक्षित गरेर लुटपाट गर्ने मनसाय रहेको पाइएको प्रहरीले जनाएको छ। यसमा पनि लागुऔषधको प्रयोग, आर्थिक अवस्था कमजोर जस्ता कारण देखिएका छन्।

यस्तै अर्को घटना कीर्तिपुरमा ग्यांङ फाइट भयो। गत बुधबार काठमाडौंको कीर्तिपुरमामा दुई पक्षबीच झडपको क्रममा खुकुरी प्रहार भयो।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार झडपको क्रममा खुकुरी प्रहार गर्ने समूहका ९ जनालाई पक्राउ गर्‍यो।।

पक्राउ पर्नेमा २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर विष्ट, २० वर्षीय उपेन्द्र सिंह, २० वर्षीय सुदीप गिरी, २३ वर्षीय नवीन भनिने नृप भण्डारी, २७ वर्षीय जयन्त धानुक, २० वर्षीय तेज थापा, २२ वर्षीय तपेन्द्रराज खाती र २१ वर्षीय सुनिल रोकाया छन्।

प्रहरीका अनुसार तपेन्द्रराज खाती र धनेश्वर खड्काबीच पुरानो चिनजान थियो। उनीहरूबीचको खटपटका कारण दुई समूहले झगडा गर्ने योजनाले उक्त घटना घटेको हो।  पुरानो रिसइबीका कारण झडप भएको प्रहरीको दाबि छ।  उक्त आक्रमणमा कीर्तिपुर-१० बस्ने २४ वर्षीय साजिस श्रेष्ठमाथि खुकुरी प्रहार भएको थियो।  साजिसको बायाँ हातमा गम्भीर चोट लागेको थियो।  यसमा रिसिइबी कारण रहेको छ।

यी त केवल केही प्रतिनिधि उदाहरण हुन्। हरेक दिन नेपाली समाजमा हथौडादेखि हम्मर प्रहार गरेर पनि व्यक्तिको हत्या भइरहेको छ।

हरेक वर्ष बढ्दै ज्यान मार्ने अपराध

पछिल्लो ज्यान मार्ने उद्योगका घटना बढ्दै गएका छन्। पाँच वर्षमा ३९ हजार १ सय ६१ वटा घटनाहरू रहेको प्रहरीको तथ्यांकमा रहेको छ। प्रहरीको तथ्यांकअनुसार वि.समा  २०७५/७६- ६ हजार ९ सय ८६ घटना भएका छन् भने २०७६/७७ मा ७ हजार १ सय ५५ घटना भएका छन्।

यसैगरी २०७७/७८मा ८ हजार ५९ घटना हुँदा  २०७८/७९मा ८ हजार ५ सय १० घटनाहरू भएका छन्। यस्तै, आर्थिक वर्ष २०७९/८०मा ८ हजार ४ सय ५१ ज्यान मार्ने उद्योगका घटनाहरू भएका छन्।

लागुऔषधको बढ्दो प्रयोगले अपराधमा बढोत्तरी : प्रवक्ता कार्की

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक दानबहादुर कार्कीले युवाहरूमा बढ्दो फ्रस्ट्रेसनले सामाजिक अपराध बढेको बताउँछन्। पछिल्लो समयमा साना साना कुरामा पनि रिसिवी साध्न अपराधिक क्रियाकलापमा लाग्न लागुऔषधले सबैभन्दा ठूलो काम गरेको उनले सुनाए।

‘लागुऔषधको प्रयोगले मान्छेमा एक किसिमको आवेग र उत्तेजना निर्माण  गर्छ। त्यो आवेगलाई सम्हाल्न नसक्दा अन्तत: उसले जानेर वा नजानेर अथवा आवेशमा हो या उत्तेजनामा मान्छेको ज्यान लिने हदमा पुग्छ’, प्रवक्ता कार्कीले थाहाखबरसँग भने, ‘जसको उदाहरण पछिल्ला घटनाहरू हुन्।'

शिक्षा र संस्कृतिको अभावले संस्कार निर्माण गर्ने हो। हामीकहाँ यसैको कमि देखिन थालेको उनले बताए। कार्की थप्छन्, ‘आर्थिक बेरोजगार, पारिवारिक विघटन, एकल जीवनको प्रभाव, कुसंगतहरूले पनि जटिल अवस्था सिर्जना गरिरहेको छ।’

गलत संगतको समूह बनाउने, लागुऔषधको प्रयोग गर्ने अनि अरूमाथि अपराधिक क्रियाकलाप गर्दा आफूलाई सुरक्षित महसुस गर्ने अहिलेको स्थिति भए पनि प्रहरीले यस किसिमको हर्कत रोक्न कोशिश गरिरहेको उनले बताए। 'कानुनले को कति बलियो भन्ने हेर्दैन। आपराधिक कर्म गर्नेलाई कानुनी दायरामा ल्याउँछौँ। गर्दै आएका छौँ', उनले भने।

लागुऔषधको बिगबिगी

६ वर्षको अवधिमा करिब २९ हजार व्यक्ति लागुऔषधकै कारण पक्राउ परेका छन्। दैनिकरूपमा कम्तिमा १३ जना लागु‌औषध प्रकरणमा पक्राउ पर्ने गरेको प्रहरीको अभिलेखले देखाउँछ।

यो आर्थिक वर्षमा मात्र २ हजार ३४२ नेपाली पुरुष र ११८ नेपाली महिला पक्राउ परेका छन्। सोही अवधिमा देशभरबाट ६० हजार ३०४ किलो गाँजा बरामद भएको छ।

सोही अवधिमा ४ हजार ९८७ किलो चरेस बरामद भएको हो। अफिम ओसारपोसार पनि व्यापक देखिएको छ। यो अवधिमा ३ हजार ७८९ किलो अफिम बरामद भएको छ। प्रहरीले यो अवधिमा ९७ किलो हेरोइन पनि बरामद गरेको छ। त्यस्तै पछिल्लो समय कोकिनको प्रयोगकर्ता पनि व्यापक फैलिरहेको देखिएको छ। 

यस अवधिमा ३२ किलो कोकिन प्रहरीले बरामद गरेको छ। पोल्याण्ड, एमफेटामाइन, स्पास्मो, एभील, फेनारगनलगायतका लागुऔषधहरू पनि प्रहरीले बरामद गर्ने गरेको छ।

युवाहरूले स्वतन्त्रतालाई दुरूपयोग गर्न थाले : वरिष्ठ अधिवक्ता बिडारी

युवाहरूले पछिल्लो समयमा आफ्नो स्वतन्त्रतालाई दुरूपयोग गर्दै गएको वरिष्ठ अधिवक्ता रामनारायण बिडारी सुनाउँछन्। युवाहरूले आफ्नो जीवनयापन गर्न पाएको स्वतन्त्रतालाई सहि तरिकाले सदुपयोग नगरी गलत कर्मतिर लागेको बताए। बिडारीले अहिलेका अधिकांश जनमानसहरू सामाजिक संजालमा आउने काल्पनिक विषयहरूलाई आफूमाथि लाद्न खोज्ने गरेको बताए।

सामाजिक सञ्जाल पूर्ण रुपले सहि सदुपयोग पनि भएको छैन। यहाँ सकारात्मक भन्दा नकरात्मक कुराहरू बढी छ। सामाजिक सञ्जालको सहि सदुपयोग गर्ने हो भने पनि धेरै अपराधहरू घट्ने उनले बताए। उनले हामीले खाने हाम्रा चिजहरू पनि सहि नभएको बताए।

‘अहिले खाने बजारू चिजहरू कस्ता छन्? हरेक कुरामा रसायन मिश्रित छ। जसले आफ्नो मस्तिष्कलाई समेत आवेग उत्तेजनालाई रोक्न नसक्ने बनाइसकेको छ’, उनले भने, ‘त्यसमाथि लागुऔषधको दुर्व्यसन, मादक पदार्थ सेवन, बढ्दो बेरोजगारी, शिक्षा र संस्कारको अभाव त छदैँछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.