|

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको दावी गरेका छन्। 

नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले सरकारमा रहुञ्जेल नागरिकलाई दुःख नदिने गरी काम गर्ने उल्लेख गरे।

उपप्रधानमन्त्री लामिछानेले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई आत्मसात गर्दै नागरिकको सपनालाई साकार पार्न अहिलेको व्यवस्थाप्रति कटिबद्ध भएर लागेको बताए। 

‘सबै गर्न सकिँदैन तर धेरै गर्न सकिन्छ‚’ भन्ने आस र भरोसाकासाथ आफूहरु अघि बढेको उनले बताए।

“३ महिना सरकारमा बसेर मेरो पार्टीबाट मन्त्री बनेकाहरुले एउटा पनि नराम्रो काम गरेका छैनन्,  राम्रा काम भएका छन्”, उपप्रधानमन्त्री लामिछानेले दावी गरे। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उनले प्रदेश संरचनालाई लिएर धेरै प्रश्न उब्जिएकाले संविधानको भावना र परिकल्पनाअनुरुप प्रदेश सञ्चालन गरिनुपर्नेमा जोड दिए।

“प्रदेश संरचनालाई लिएर धेरै जिज्ञाशा उब्जिएका छन्। यसमा सुधार गरेर अघि बढ्नुपर्छ”, उनले भने। उपप्रधानमन्त्री लामिछानेले नागरिकलाई दुःख नदिइकन परिवर्तनका लागि आफूहरु मुद्दामा एक भएर अगाडि बढ्ने धारणा राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.