|

काठमाडौँ : उपयुक्त शब्द छनोट, उत्कृष्ट भाषणशैली र चर्को बोली गगन थापाको पहिचान हो। वि.सं. २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यबाट राजनीतिमा प्रवेश गरेर चार वर्षपछि त्रिचन्द्रकै स्ववियु सभापति, ०५७ मा नेविसंघ उपाध्यक्ष र त्यसको दुई वर्षपछि उनी महामन्त्री भए।

२०६२/६३ को जनआन्दोलनमा नेपाली कांग्रेसको निर्णय नआउँदै गणतन्त्रको मुद्दा अघि सारेपछि चर्चित बनेका थापा माओवादी शान्तिपूर्ण राजनीतिमा आएलगत्तै ०६४ को पहिलो संविधानसभामा समानुपातिक सांसद बने। 

०७० को दोस्रो संविधानसभामा आफ्नै पार्टीका बागी उम्मेदवारकाबीच निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुनलाई पराजित गर्दै काठमाडौँ–४ बाट निर्वाचित भएपछि थापाको चर्चा चुलियो। त्यसपछि स्वास्थ्यमन्त्री बनेका उनले केही उत्कृष्ट कार्यसम्पादन गरे, जसले उनलाई थप चर्चातर्फ डोर्‍यायो।
​संसद्‌बाट होस् वा सडकबाट, विपक्षीहरूमाथि गर्ने तिखो प्रहार र राष्ट्रिय सरोकारका मुद्दाहरूमा हुने बहसमा सक्रिय सहभागिताले थापा युवा पंक्तिमा परिचित छन्।

गत आमनिर्वाचनमा आफ्नो पुरानै निर्वाचन क्षेत्र काठमाडौँ-४ सुरक्षित गर्न सफल भएका उनी अहिले देशको सबैभन्दा ठूलो राजनीतिक दल कांग्रेसको दुई महामन्त्रीमध्येका एक हुन्। ०७८ मंसिरमा सम्पन्न पार्टीको १४औँ महाविधेशनबाट ‘सिनियर’हरूलाई पछार्दै लोकप्रिय मतका साथ थापा महामन्त्रीमा निर्वाचित भएका थिए। तर संस्थापन इतर समूहका भनेर चिनिँदै आएका थापाले महामन्त्री बनेपछि पनि संस्थापन (सभापति शेरबहादुर देउवा)  पक्षको दबाब निरन्तर झेल्दै आएका छन्। 

उनले १४औँ महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालासँग मिलेर संस्थापन इतर समूहलाई हाँक्दै आएका छन् तर पार्टीमा सधैँ बहुमतमा रहने सभापति देउवाले इतर समूहलाई दबाबमा राख्दै आए। पार्टीले लिने कुनै निर्णयका सवालमा होस् वा सत्तामा हुँदा मन्त्री बनाउने र कुनै राजनीतिक नियुक्तिमा होस् संस्थापन पक्ष नै हाबी थियो। 

तर कांग्रेसको पछिल्लो केही यस्ता निर्णय र कदम छन्, जहाँ महामन्त्रीसमेत रहेका संस्थापन इतर समूहका थापा हाबी भएका छन्। उनले उठाएको एकपछि अर्को मुद्दामा सिंगो पार्टी नै एकजुट हुन थालेको देखिन्छ।  

केहीसमय अघि कांग्रेसले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेको संलग्नता दाबी गर्दै संसदीय छानबिन गर्‍यो। माग पुरा नभएसम्म उसले सदनमा अवरोध गर्‍यो भने गृहमन्त्री लामिछानेलाई संसद्‍मा बोल्नसमेत दिएन। 

यसका लागि अग्रपंक्तिमा महामन्त्री थापा नै देखिए। गृहमन्त्री लामिछानेलाई मुख्य निशाना बनाएका उनले संस्थापन पक्षलाई पनि सहमतिमा ल्याएर सिंगो कांग्रेसलाई सदनमा एक ढिक्का बनाएर उभ्याए। अन्ततः कांग्रेसले सत्ता पक्षलाई गलाएरै छाड्यो र संसदीय छानबिन समिति बन्यो। 

महामन्त्री थापाले गत फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकबाट ‘अब उप्रान्त गठबन्धन नगरी कांग्रेस एक्लै चुनाव लड्ने’ प्रस्ताव पनि पारित गराए। 

गठबन्धनमै पार्टी रहेको अवस्थामा त्यस्तो प्रस्ताव महासमितिबाटै अस्वीकृत हुने संस्थापन पक्षका नेताहरूले बताएका थिए भने त्यस्तो प्रस्ताव नै सच्याउन सभापति देउवाले हदैसम्मको दबाब नदिएका होइनन् तर पनि महासमितिले थापाको सो प्रस्ताव सर्वसम्मतरुपमा पारित गर्‍यो। 

महामन्त्री थापाले माओवादीसँगको तत्कालीन गठबन्धन तोड्नका लागि त्यस्तो प्रस्ताव ल्याएको विश्लेषण भएको थियो। आगामी नेतृत्वका आकांक्षी थापाले प्रधानमन्त्रीको पालो कुरिबसेका पार्टी सभापति देउवालाई कमजोर बनाएर आफूअनुकूलको वातावरण बनाउने रणनीतिस्वरुप त्यस्तो प्रस्ताव ल्याएको बताइन्थ्यो।

पछि २१ फागुनमा कांग्रेससँगको गठबन्धन तोडेपछि प्रधानमन्त्री प्रचण्डले मुख्य कारणमध्येको एक यसैलाई देखाका थिए। 

राजनीतिमा शक्तिकै लागि खेल हुने हुँदा शक्ति आर्जनका निम्ति लागिपर्नु स्वभाविक भएको महामन्त्री थापानिकट एक नेता बताउँछन्। 

थापाको पछिल्लो कदमबारे उनले भने, ‘पार्टी नेतृत्वका लागि वातावरण बनोस्, त्यसका लागि पार्टी संगठनमा पनि प्रभाव राख्न सकौँ भनेर उहाँ लाग्नुभएको छ, जुन स्वभाविक हो। किन भने राजनीतिमा शक्तिकै निम्ति खेल हुन्छ। यसमा हामी एक तहका साथीहरू छलफल गरेरै भइरहेका कार्यहरू हुन्।’  

राजनीतिशास्त्री कृष्ण पोखरेल पनि पछिल्लो समय महामन्त्री थापा पार्टीमा हाबी हुने प्रयासमै रहेको बताउँछन्। सामाजिक वृत्तको आफ्नो लोकप्रियतालाई संगठनमा पनि ढाल्ने प्रयासमा थापा रहेको उनी औँल्याउँछन्।   

‘अहिले गगनजी संगठनभित्र पनि केही प्रभाव बढाउने प्रयासमा देखिनुभएको छ। महामन्त्री त हुनुहुन्छ, तर निर्णायक अवस्थामा बहुमत सदस्य अझै सभापतिसँगै छन्’, उनले भने, ‘उहाँले संसदीय मोर्चामा चाहिँ देखाउन सक्नुभयो कि जस्तो देखिन्छ तर अब यो छविलाई पार्टीका संगठनमा पनि रुपान्तरण गर्न सक्नुभयो भने मात्र त्यसले अर्थ राख्छ।’ 

तर संस्थापन पक्षीय मानिने सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डीना' भने मुद्दामा पार्टी एक हुनुलाई महामन्त्री हाबी भएको भन्न नमिल्ने बताउँछिन्।

‘पार्टीमा महामन्त्रीहरूको विचार आउनु, छलफल हुनु स्वभाविक हो’, उनी भन्छिन्, ‘जस्तो महासमितिमा उठाइएको विषय कांग्रेसलाई नै भोट हाल्न पाउनुपर्छ भन्ने आमभावनालाई समेटी पार्टीबाटै यो भाषामा लैजाऔँ भनेर लगिएको प्रस्ताव हो। यसलाई पनि कतिपय संशोधन गरी पास गर्ने भनेर केन्द्रीय  समितिलाई नै म्यान्डेट फिर्ता भएको अवस्था छ। अर्को सहकारी प्रकरणमा दुवै महामन्त्रीहरू नै स्वभाविक रुपमा बाहिर बढी बोल्नुभयो, बोल्ने भनेको महामन्त्रीले नै हो।'

उनले गगन थापाले रविका विषयमा जसरी टुंगोमा पुर्‍याउन भूमिका खेले, यसलाई राम्रै पक्ष हो भनेर मूल्यांकन भएको तर त्यसलाई थापा व्यक्तिगतरुपमा हाबी भए भन्न नमिल्ने बताइन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.