|

काठमाडौं : नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच बहुप्रकोप सम्बन्धी पूर्वसूचनाको निःशुल्क एसएमएस पठाउन सम्झौता भएको छ। जल तथा मौसम विज्ञान विभागले यसबाट आगामी दिनमा जल तथा मौसम सम्बन्धी प्रकोपहरूको पूर्वसूचना जोखिममा रहेका नागरिकले समयमै पाई पूर्व सूचना थप सुदृढ हुने देखिएको जनाएको छ।

विभागले २०७३ सालदेखि हालसम्म मोबाइल सेवाप्रदायकहरू नेपाल टेलिकम र एनसेल एक्जिएटासँग छुट्टाछुट्टै द्विपक्षीय समझदारी गरी नदीतटीय क्षेत्रमा बसोवास गर्ने र बाढीको जोखिममा रहेका आम नागरिकलाई मोबाइल एसएमएसमार्फत बाढीको पूर्वसूचना निःशुल्क रूपमा उपलब्ध गराउँदै आइरहेकाले पछिल्ला वर्षहरूमा बाढीबाट हुने मानवीय क्षति उल्लेख्य रूपमा न्यूनीकरण हुँदै गइरहेको जनाएको छ।

यसलाई थप प्रभावकारी कार्यान्वयनका लागि जल तथा मौसम जन्य बहुप्रकोप सम्बन्धी पूर्व सूचना एसएमएस लगायत अन्य माध्यमबाट जोखिमयुक्त क्षेत्रमा रहेका आम नागरिकले सहज रूपमा प्राप्त गर्ने गरी समझदारीपत्रमा परिमार्जन गर्नुपर्ने देखिएकाले यो सम्झौता गरिएको बताइएको छ।

नेपाल टेलिकमसँगको साविकको समझदारीपत्रको समयावधि २०८१ असार ३ सम्म रहेकोमा सोअगावै मिति २०८१ जेठ ३१ गते नेपाल टेलिकममा एक कार्यक्रमको आयोजना गरी विभागका तर्फबाट महानिर्देशक डा. जगदीश्वर कर्माचार्य र नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

एनसेलसँग पनि सोही बमोजिम यस अघि नै विभागले ५ बर्षको लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.