|

दाङ :  समयमै पानी नपर्दा किसानहरुले लगाएको मकै सुक्न थालेका छन्, भने धान खेती गर्ने समय नजिकिँदै गर्दा पनि धानको ब्याड राख्न पाएका छैनन्।

जसले गर्दा दाङ शान्तिनगर २ का किसानहरुले खोलाको मुहानमा गएर बिचारी ढुंगाको पूजाआजा गरेका छन्।  लामो  समयसम्म खडेरी भएपछि उनीहरुले वर्षौंदेखि यस्तै पूजा गर्ने र पानी पर्ने विश्वास रहेको छ।

बौलाह खोला विचारी ढुंगा रहेको छ। त्यस ढुंगामा गएर किसानहरुले समयमै पानी नपरेपछि पण्डित राखेर पूजाआजा गर्दै आएका छन्। यसपटक पनि समयमै पानी नपरेपछि उनीहरुले पुजाआजा गरेका हुन्। यस ढुंगालाई पुजा परेपछि पानी पर्ने गरेको स्थानीय लोकमणी रेग्मीले बताए।

लामो समयसम्म पानी नपरेपछि यसरी नै ढुंगामा आएर पुजाआजा गर्दा पानी पर्ने विश्वास रहेको हुँदा पुजा गर्ने गरेको उनले बताए। उनले भने,‘ खडेरी लागेको लामो समय भइसकेको छ। पानी आउने अझै छाकटाक नै छैन्। बारीमा लगाएका मकै सुक्न थाले, धान रोप्नको लागि ब्याड पनि राख्न पाएका छैनौँ। वर्षौं साल खडेरी लाग्दै गइरहेको छ।’

लामो समयसम्म खडेरी हुँदा किसानहरु छट्टपटाउन थालेपछि सबै गाउँले मिलेर पूजा गरेको अर्का स्थानीय मानबहादुर खड्काले बताए। उनले पनि यस ढुंगालाई पूजा गरेपछि पानी पर्ने विश्वास रहेको बताए। उनका अनुसार  पूजा गरेको एकदिन भित्र पानी पर्ने गर्दथ्यो। यस पटक हामीले असार एक गते पूजा गरेका छौँ। हेरौँ, यसपटक पनि पानी पर्न सक्छ। यस्तै यसपटक धेरै पानी पर्ने कुराहरु आइरहेको भएयता पनि अहिलेसम्म पानी पर्न नसक्दा आफू किसानहरु चिन्तित बनेको  समेत बताए।

उनले प्रत्येक वर्ष खडेरी हुँदै गइरहेको भन्दै मौसम परिवर्तनका कारण भएको भन्दै अब नागरिकहरुले एकपटक सोच्ने बेला आएको  समेत बताए।

उनले भने, ‘पहिला यति धान रोपाइँ शुरु हुन्थ्यो। तर, केहि वर्षदेखि पानी समयमा नपर्दा ढिला हुने गरेको छ। यो सब हुनुमा हामी मानिसहरु वातावरणमा असर पुर्‍याएका कारण  हो। खोलामा पानी छैन, पानीको मुहानहरु सुक्दै गएका छन्, सिँचाइका कुरै छाडौँ यस्तै हो भने खानेपानी पनि नपाउने अवस्था  आएको छ।’

यस्तै, स्थानीय सुन्तली वलीले पानी पर्ने विश्वासका साथ ढुंगालाई पूजा गर्न आएको बताइन्। उनले पनि विगतका वर्षहरुमा  यसरी पूजा गर्दा पानी पर्ने गरेको  भन्दै यसपटक सबै गाउँलेहरु मिलेर पूजा गरेको  बताइन्।

विंस १९७२ सालमा सिँचाई पानीको विवाद भएपछि सल्यानबाट आएका न्यायाधीशले यही ढुंगामा आएर विवाद समाधान गरेपछि यसलाई विचारी ढुंगा मानेर प्रत्येक वर्ष पूजा गर्ने गरेको स्थानीयहरुको भनाइ छ। सिँचाइको  १४ मौजाका किसानहरुको विवाद भएपछि विचारी नाम गरेका न्यायाधीश आएर मुद्दा टुंगो लगाएपछि यस ढुंगालाई विचारी राखिएको थियो।

आधा पानी पूर्वक्षेत्रमा र आधा पानी पश्चिम क्षेत्रम लैजाने सहमती भएको थियो। त्यसै अनुसार यस ढुंगालाई  विगत २५ वर्षदेखि पानी नपरेपछि पूजा गर्दै आइरहेको स्थानीय धनबहादुर खड्काले बताए।   उनका अनुसार पुर्खौंदेखि मान्दै आएको परम्पराअनुसार पूजा गरिएको हो। उनले पनि यस ढुंगालाई पूजा गरेपछि पानी पर्ने हुँदा  सबै  गाउँले मिलेर जलधारा लगाएको समेत बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.