|

काठमाडौँ : अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ।

आइतवार काठमाडौँमा एक कार्यक्रमबीच अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो।

१९औँ एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९औँ एशियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एशियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आईसीसी मेन्स टी-२० वर्ल्ड कप फाइनल एशियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो। सरकारको तर्फबाट खेलाडीहरुलाई २ करोड ९७ लाख १० हजार रुपैयाँ बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अहिले मन्त्रालयमा नियमित काम शुरु भएको बताए। उनले नेपालमा खेलाडीहरुको जस्तै अनुशासित राजनीतिको आवश्यकता रहेको बताए। उनले खेलाडी, खेलप्रेमी, प्रशंसकहरुबाट सिकेको सुसंस्कृत कुराहरु राजनीतिमा समावेश गर्ने प्रतिबद्धता जनाए।

‘बेथितिहरु पहिलादेखि नै छन्। हामीले मन्त्रालयमा नियमित काम गर्न थालेका छौँ, सचिवज्युले हरेक हप्ता कार्य विवरण सामाजिक सञ्जालमा प्रकाशित गर्नुभएको छ‚’ उनले भने, ‘यही सुसंस्कृत राजनीति खेलाडीबाट, खेलप्रेमीबाट, प्रशंसकहरुबाट सिकेको कुरा राजनीतिमा ल्याउन चाहन्छु। सबैको सहयोग चाहिन्छ।’

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरबाट विश्वकप खेल्दा नेपाली क्रिकेट टिमलाई गरेको मायाले ठूलो हौसला मिलेको बताए। उनले क्रिकेटमा भविष्य सुरक्षित छ भन्ने प्रमाणित भएको बताए।

‘आज नेपाल विश्वकप खेल्दा जुन माया हामीले राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा पाएका छौँ। यो मायाले मलाई लाग्छ, अहिलेको पुस्ता मात्र होइन अब आउने पुस्तालाई पनि क्रिकेटमा लागेर भविष्य सुरक्षित हुने विश्वास राखेको महशुस हामीले गरेका छौँ‚’ उनले भने, ‘नेपाल विश्वकप खेल्न १० वर्ष कुर्नुपरेको छ, अब फेरि विश्वकप खेल्न १० वर्ष कुर्न नपरोस्। १० वर्षको ग्याप कम गर्न अहिलेदेखि नै घरेलु संरचनाको विकासमा लाग्नुपर्छ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीहरुको पुरस्कार राशी प्राप्त हुनेले खेलाडीहरुमा ठूलो हौसला मिल्ने बताए।

उनले काम गर्ने हुटहुटी एउटा नेतृत्वले राख्यो भने सकिन्छ भन्ने कुरा मन्त्री श्रेष्ठबाट पूरा भएको बताए। उनले परिषद्को बैठकले निर्णय गरेर फाइल पठाउने मात्रै काम हुने भन्दै सबै बाँकी काम मन्त्रालयबाट नै पूरा हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.