|
फाइल तस्वीर

काठमाडौँ : आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भोलि विहान बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। 

वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित आरनोस भेल स्टेडियममा भोलि विहान सवा ५ बजे हुने खेल बंगलादेशका लागि निकै महत्वपूर्ण छ।

बंगलादेशलाई सुपर ८ मा पुग्न नेपाललाई हराउनैपर्ने दबाब रहेकाले भोलिको खेल उसका लागि गर या मरको अवस्था छ। सुपर ८ को दौडबाटै बाहिरिसकेकाले नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ। 

बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समूह डी मा तेस्रो स्थानमा छ। यो समूहमा नेदरल्याण्ड्स पनि सुपर ८ को दौडमा कायम रहेको छ।

भोलि विहान हुने नेदरल्याण्ड्स र श्रीलंकाबीचको खेल नेदरल्याण्ड्सले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्ड्स सुपर ८ मा पुग्नेछ।

सुपर ८ खेल्ने ७ टोलीको टुंगो

अहिलेसम्म विश्वकप क्रिकेटको सुपर ८ मा पुग्ने ७ टोलीको टुंगो लागेको छ। 

आज विहान भएको खेलमा अष्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटले हराएसँगै समूह बी बाट इंग्ल्याण्ड पनि सुपर ८ मा पुगेको हो। 

इंग्ल्याण्ड र स्कटल्याण्ड दुवैको ५/५ अंक भए पनि रनरेटका आधारमा इंग्ल्याण्डले सुपर ८ मा स्थान बनाएको हो।

अहिलेसम्म समूह ए बाट भारत र अमेरिका तथा समूह बी बाट अष्ट्रेलिया र इंग्ल्याण्डले सुपर ८ मा स्थान बनाएका छन्। समूह सी बाट अफगानिस्तान र वेष्ट इण्डिज सुपर ८ मा पुगिसकेका छन्।

समूह डी बाट दक्षिण अफ्रिका सुपर ८ मा पुगिसकेको छ भने यो समूहबाट सुपर ८ मा पुग्ने एक टोलीको टुंगो भोलि हुने दुई खेलबाट लाग्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.