|

काठमाडौं : आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ।

सेन्ट भिन्सेन्टको किङ्सटाउनस्थित आर्नोस भेल क्रिकेट रङ्गशालामा टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ। 

समूह चरणबाट बाहिरिसकेको नेपाल अन्तिम खेल जित्दै सुखद समापन गर्ने लक्ष्यमा छ। समुह डी को आफ्नो तेस्रो खेल जित्दै सुपर एट पुग्ने सम्भावना कायम राख्ने लक्ष्यमा रहेको नेपाल दक्षिण अफ्रिकासँग १ रनले स्तब्ध बन्दै प्रतियोगिताबाट बाहिरीयो।

जितका लागि १ बलमा २ रनमात्र आवश्यक रहेको अवस्थामा सम्हालिन नसक्दा नेपाल ऐतिहासिक जित नजिक पुगेर निराश बनेको थियो। हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना सकियो बंगलादेशलाई फाइदा पुग्यो।

आज अब यीनै २ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। ३ खेलमा १ अंकमात्र जोड्दै अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरीएको नेपालका लागि बंगलादेशविरुद्धको खेल प्रतिष्ठाको लडाईमात्र हुनेछ।​

दवाबविहीन नेपाललाई एक टेस्ट राष्ट्रलाई हराउने मौका छ। विश्वकपमा नेपाल र बंगलादेश दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि सन् २०१४ मा पहिलो पटक विश्वकप खेल्दा नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो।  १० वर्षपछि नेपाललाई त्यो हारको बदला लिने मौका आएको छ।

आजै यही समूहका नेदरल्याण्ड्स र श्रीलंका आमने सामने हुनेछन्। यी दुईबीचको खेल नेपाली समय अनुसार बिहान सवा ६ बजे सुरु हुनेछ। श्रीलंका विश्वकपबाट बाहिरिसकेको छ भने नेदरल्याण्ड्ले आजको खेल जितेर बंगलादेशले हारे अन्तिम आठको सम्भावना कायमै छ।

को को पुगे सुपर एटमा

समूह चरणका खेलहरू अन्तिम चरणमा पुगेसँगै सुपर ८ मा पुग्ने टोलीहरूको टुङ्गो लागेको छ।

हालसम्म आठ टोलीमध्ये सातको टुङ्गो लागिसकेको छ। समूह एबाट भारत समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको हो। यो समूहबाट अमेरिका उपविजेता बन्दै सुपर ८ मा स्थान बनाउन सफल भएको छ। यस समूहबाट बलियो टोली पाकिस्तान, क्यानडा र आयरल्यान्ड समूह चरणबाटै बाहिरिन पुगे।

त्यस्तै, समूह बीबाट समूह विजेता बनेको अस्ट्रेलिया र उपविजेता बनेको इंग्ल्यान्ड सुपर ८ मा प्रवेश गरेका छन्। यही समूहबाट स्कटल्यान्ड, नामिबिया ओमान बाहिरिएका छन्।

समूह सीमा अफगानिस्तान र वेस्ट इन्डिजले अर्को स्थान पक्का गरे पनि समूह विजेता को बन्ने चाहिँ टुङ्गो लाग्न बाँकी छ। शीर्ष दुई टोली मंगलबार एक अर्कासँग आमनेसामने हुँदैछन्। यस खेलले को विजेता र को उपविजेता बन्ने टुङ्गो लाग्नेछ । यो समूहबाट न्युजिल्यान्ड, युगान्डा र पपुवा न्युगिनी समूह चरणबाटै बाहिरिएका छन्।

नेपालसमेत रहेको समूह डीबाट दक्षिण अफ्रिका अर्को चरणमा पुग्ने टुङ्गो लागेको छ । उपविजेताका रूपमा सुपर ८ मा पुग्नका लागि बंगलादेशसँगै नेदरल्यान्ड्सको पनि सम्भावना बाँकी छ।

सुपर ८ चरणका खेलहरू असार ५ गतेदेखि सुरु हुनेछ। यस चरणको पहिलो खेलमा अमेरिकाले दक्षिण अफ्रिकाको सामना गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.