गण्डकी : हावाहुरी र चट्याङ्ले बेगनास ताल वरपरको मौसम अत्यासलाग्दो थियो। यत्तिकैमा यात्रु बोकेर तालपारि गइरहेको डुङ्गा एक्कासि पल्टियो।
रमाउँदै डुङ्गा सयर गरिरहेका यात्रु छिनभरमै तालमा डुबे। कोही पौडेर बच्ने प्रयास गर्दै थिए। कोही ‘बचाउ, बचाउ...’ भन्दै रोइरहेका देखिन्थे।
डुङ्गा पल्टेको खबर पाउँदा साथ सशत्र प्रहरी बलको उद्धार टोली तालमा आइपुग्यो। उनीहरूले केही यात्रुको तत्काल उद्धार गरे। प्राथमिक उपचारपछि थप स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याइयो।
दुर्घटनामा परी तालमा हराइरहेका एक जनालाई गोताखोर टोलीले उद्धार गर्यो। ज्यानको पर्वाह नगरी तालमा हेलिएका उद्धार टोलीले यात्रुको जीवन बचाए। यो काल्पनिक घटना–दृश्य कास्कीको पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालको हो।
पोखरास्थित सशत्र प्रहरी बल, मुक्तिनाथ बाहिनीको संयोजन र कालिका गणको आयोजनामा आज विपद् प्रतिकार्य नमूना अभ्यास अन्तरगत जल उत्पन्न प्रकोपसम्बन्धी उद्धार अभ्यास गरिएको हो।
गण्डकी प्रदेश विपद् व्यवस्थापन टिमअन्तरगत रहेका गोताखोर, तुइन रोप उद्धारकर्तालगायत उक्त अभ्यासमा सहभागी थिए।
तालको खोँचमा फसेका मानिसको तुइन रोपको सहायतामा उद्धार अभ्याससमेत गरिएको थियो। उक्त अवसरमा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा सामग्रीको प्रदर्शनीसमेत राखिएको छ।
सशस्त्र प्रहरीलाई विपद्जन्य उद्धार कार्यमा दक्ष र सीपयुक्त बनाउन नमूना अभ्यास आयोजना गरिएको कालिका गणका गणपति सूर्यप्रसाद तिमिल्सिनाले बताए।
विपद् व्यवस्थापनबारे समुदायस्तरमा विभिन्न तालिम तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरिएको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।