|

काठमाडौं : नक्कली छोरा बनेर जग्गा हडपी ठगी गरेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले नक्कली छोरा बनेर साङ्लाको दुई रोपनी ११ आना जग्गा हडपेर विक्रि गर्ने गरी फरार रहेका दाजुभाईलाई पक्राउ गरेको हो। 

प्रहरीले काठमाडौं ठहिटी घर भई खुशीबु टाउन प्लानिङ बस्ने ५६ वर्षीय मोहम्मद बसिम र उनका दाजु मोहम्मद अनवरलाई पक्राउ गरेको हो। उनीहरु मोहम्मद अफाक र दिव्य वज्युका छोराहरु हुन्। तर उनीहरुले आफूहरुलाई अमिला विबीको छोराहरु भनी नक्कली कागजपत्र बनाई जग्गा हडप्न खोजेका थिए। 

के गरेका बसिम र अनवरले?

काठमाडौंको साङ्ला गाविस वडा नं. ९ मा रहेको ११९ कित्ता नम्बरको दुई रोपनी ११ आना तीन पैसा क्षेत्रफलको जग्गा अमिला बिवीको नाममा थियो।

बसिमका दाजुभाईले यो थाहा पाएपछि आफ्नी आमा दिव्य वज्यु र अमिला बिवी एउटै व्यक्ति हो भनी नक्कली कागजात बनाएको ब्युरोका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए।

झुठो व्यहोराको नक्कली मृत्यु दर्ता र नाता प्रमाणित बनाए। त्यही कागजको आधारमा अमिला विबीको शेषपछिको हकदार हामी हौं भन्दै जग्गा आफ्नो नाममा पारेको उनले बताए।

आफ्नो नाममा जग्गा आएपछि २०६३ मंसिरमा चार लाख ७० हजारमा जग्गा बिक्री गरेर दाजुभाईले आधा आधा रकम बाँडेका थिए। उनीहरुले जग्गा बेचिसकेपछि मोहम्मद जमरुद्दिनले थाहा पाए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिए। आयोगले दायर गरेको मुद्दामा बसिम दाजुभाईले ठगी गरेको प्रमाणित गरेको थियो।  

उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतले २०७२ माघ ४ गते नै फैसला सुनाइसकेको छ। दुबै जनालाई एक वर्ष कैद र सात लाख ३१ हजार रुपैयाँ जरिवाना अदालतले तोकेको थियो। घटनापछि फरार उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो। नयाँ बजारबाट पक्राउपछि प्रहरीले उनीहरुलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार, सुन्धारा पठाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.