|

कालिकोट : प्रहरीले चलाएको गोली लागेर शुक्रबार मृत्यु भएका म्यादी प्रहरी सान्नीत्रिवेणी गाउँपालिका ४ का विवेक ऐडीको परिवारलाई राहत र क्षतिपुर्ति दिनुपर्ने माग गर्दै शनिबार दिनभर सदरमुकाममा प्रदर्शन भएको छ। दिनभर भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयको गेट जलाइदिएका छन् भने प्रहरीसँगको झडपमा दुई जना घाइते भएका छन्।

शनिबार प्रदर्शनकारीले जिरो प्वाइन्ट र प्रतिमा चोकमा रहेको प्रहरी विट र कभर्ड हलको माथिल्लो डाँडामा रहेको प्रहरीको तालिम केन्द्रमा आगजनी गरेका छन्। दिनभर तनाव भएका कारणले जिल्ला प्रसाशन कार्यालय अनिश्चितकालसम्मका कर्फ्यु आदेश जारी गरेको छ। जसका कारण बजार र यातायातसमेत बन्द भएको छ। प्रदर्शनकारी म्यादी प्रहरी र मृतकका आफन्तले माग पूरा नहुँदासम्म शव नबुझ्ने र आन्दोलन जारी रहने बताएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीले शुक्रबार आफूले पाउने तलब र अन्य सुविधा कम भएको भन्दै आन्दोलन गरेपछि प्रहरीसंगको झडपमा प्रहरीको गोली लागेर म्यादी प्रहरी ऐडीको मृत्यु भएको थियो।

म्यादी प्रहरीको आनदोलनलाई दबाउन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरी म्यादी प्रहरीको भीडलाई तितरवितर पार्ने प्रयास गरे पनि म्यादीको भीडले जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गरेपछि गोली चलाएको आरोप आन्दोलनरत म्यादी प्रहरीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता वापतको अन्तिम किस्तामा ८ हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए।

काठमाडौंमा पनि प्रदर्शन 

कालीकोटमा प्रहरीको गोली लागि मारिएका म्यादी प्रहरी विवेक ऐडीलाई सहिद घोषणा गर्न माग गर्दै कर्णालीका युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। कर्णालीका विभिन्न जिल्लाबाट काठमाडौंमा आई विभिन्न पेशा व्यवसायमा आवद्धहरुले माइतीघर मण्डलामा शनिबार दिउँसो भेला भइ ऐडीलाई सहिद घोषणा गर्न माग गर्नुका साथै सरकारविरुद्ध नाराबाजी गरे।

विरोध प्रर्दशनपछि बोल्दै नेकपा एमालेका कालिकोट जिल्ला अध्यक्ष नेशनल शाहीले शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने प्रहरीलाई कडा कारबाही गर्नुपर्ने माग गरे । उनले रोटीका लागि आन्दोलन गर्ने युवालाई गोली दिने सरकारको राजिनामा माग गर्दै मृतकलाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने बताए।

माओवादी केन्द्र कालिकोटका जिल्ला सदस्य खेमबहादुर सिंहले ऐडीलाई सहिद घोषणा गरेर क्षतिपूर्तिसहित घटनामा संलग्नलाई कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए। अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य तिलक उपाध्यायले दोषीलाई कडा कारबाहीसहित ऐडीलाई सहिद घोषणा गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.