गुप्ताविरुद्ध उजुरी गर्ने रेग्मी र भैंसेपाटीका इन्सपेक्टर पक्राउ

|
thehimalayantimes.com

काठमाडौं : पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पक्राउ परेको भोलिपल्ट मंगलबार उनीविरुद्ध उजुरी गर्ने तारा रेग्मी र महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख प्रहरी निरीक्षक अनिल पण्डित पक्राउ परे। 

रेग्मी तिनै महिला हुन् जसले आफूलाई पूर्वमन्त्री गुप्ताले अपहरण गर्ने धम्की दिएर ५० लाख रुपैयाँ माग गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उनकै उजुरीका आधारमा प्रहरीले गुप्तालाई पक्राउ गरेको हो। 

इन्स्पेक्टर पण्डितको सहयोगमा गुप्ताले रेग्मीसँग ५० लाख रुपैयाँ माग गरेको खुलेपछि उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए। इन्सपेक्टर पण्डितले रेग्मीसँग उनीविरुद्धको मुद्दा मिलाइदिने भन्दै ७५ हजार रुपैयाँ लिएको पनि फेला परेको उनले जानकारी दिए।  

प्रहरीका अनुसार पूर्वमन्त्री गुप्ताले म्यानपावर व्यवसायी महिला तारा रेग्मीलाई ५० लाख नदिए अपहरण गर्ने धम्की दिएका थिए। गुप्ताको धम्कीपछि रेग्मीले प्रहरीमा उजुरी दिएकी थिइन्।

‘गुप्ताले उनलाई धम्क्याएर रकम माग गरेको उजुरी गरेपछि गुप्तालाई समातियो’, ललितपुर प्रहरी परिसरका डिएसपी अशोक सिंहले भने ‘फरार अभियुक्त भएकोले उनलाई पनि पक्राउ गरेका हौं। उनलाई सजाय भुक्तानको लागि कारागारको जिम्मा लगाइसक्यौं।’

रेग्मीका प्रेमी सश्स्त्र प्रहरीका पूर्व डिआइजी रन्जन कोइराला पत्नी गीताको हत्या अभियोग प्रमाणित भएपछि जेलमा छन्। गीताको हत्यामा सहयोगीको भूमिका खेलेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले रेग्मीलाई पनि ११ महिना १० दिनको सजाय तोकेको थियो। तर २०६८ माघ २३ गते पक्राउ गरेपनि रेग्मी एक लाख रुपैयाँ धरौटी बुझाएर छुट्न सफल भएकी थिइन्।

गुप्ता र रञ्जनको सम्बन्ध

पत्नी हत्यामा संलग्न रन्जन कोइराला र व्यापारी अपहरणको मुद्दामा जेल परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता दुबै जनालाई सदरखोर डिल्लीबजारमा राखिएको थियो। दुबै जना 'हाइप्रोफाइल' भएका कारण उनीहरुको सम्बन्ध नजिक भयो। 

कोइरालामार्फत उनकी प्रेमिका रेग्मीको बारेमा गुप्ताले सबै जानकारी लिइसकेका थिए। म्यानपावर व्यवसायी रेग्मी र कोइराला  तीन वर्षदेखिसँगै बस्दै आएका थिए। रेग्मी व्यवसायी भएको कारण पनि राम्रै कमाई हुने पूर्वमन्त्री गुप्ताले थाहा पाए। पछि गुप्ताले रेग्मीसँग रकम माग गर्दै धम्क्याउने गरेको डिएसपी सिंहले जानकारी दिए।

‘डिल्लीबजार कारागारमा कोइराला र गुप्तासँगै थिए। रेग्मी कोइरालालाई भेट्न जाने क्रममा उनीहरुबीच चिनजान भएको रहेछ’, डिएसपी सिंहले घटना विवरण बताए ‘त्यही सम्बन्धको आधारमा गुप्ताले रेग्मीसँग निकट सम्बन्ध बनाए, पछि उनीहरुबीच विवाद भयो अनि गुप्ताले रकम माग गर्दै धम्काउदै आएका रहेछन्।’

साँढे तीन वर्ष जेल बस्दा बनेकाे सम्बन्धको आधारमा रेग्मीकै ललितपुरमा रहेको घरमा गुप्ता भाडामा बस्दै आएका थिए। सम्बन्ध बढेपछि गुप्ताले पटक पटक रेग्मीसँग रकम माग गर्दै आएका थिए। 

रकम नदिए गुप्ताले रेग्मीलाई अपहरणको धम्की दि‌दै आएका थिए। गुप्ताले पटक पटक धम्काउदै आएपछि रेग्मी बाध्य भएर प्रहरीको शरणमा पुगेकी थिइन्। प्रहरीको शरणमा पुगेकी पूर्व भलिबल खेलाडी समेत रहेकी रेग्मी आफै पनि पक्राउ परेकाे उनले जानकारी दिए।

प्रहरी निरीक्षक पनि पक्राउ

सोमबार गुप्ता पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा यसै घटनामा प्रहरी निरीक्षक पण्डितको पनि संलग्नता देखिएपछि उनलाई पनि नियन्त्रणमा लिइएको ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए। 

‘रेग्मीबाट प्रहरी निरीक्षक पण्डितले ७५ हजार रुपैयाँ लिएको खुल्न आएको छ’, एसएसपी अधिकारीले भने ‘त्यसपछि हामीले पक्राउ गरी अनुसन्धान गरिरहेका छौं।’ प्रहरी निरीक्षक पण्डित तीन महिनादेखि भैसेंपाटीमा कार्यरत थिए। 

काे हुन् गुप्ता ?

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा गुप्ता आपूर्ति मन्त्री बनेका थिए। उनी सद्भावना आनन्दीदेवीको तर्फबाट मन्त्री बनेका थिए । व्यापारिक घरानाका पवन संघाईलाई दुई वटा पेट्रोल पम्पको स्वीकृति दिएर गुप्ताले संघाईसँग मोटो रकम माग गरेका थिए। 

संघाईले स्वीकृति पाए, तर रकम दिएनन्। त्यसपछि गुप्ताले पटक पटक धम्की दिएपनि संघाईले रकम नदिएपछि गुप्ताले संघाईलाई २०६८ पुस ७ मा अपहरण नै गरेर ८५ लाख रुपैयाँ फिरौती लिएका थिए। संघाईलाई २०६८ पुस २७ गते अपहरणमुक्त भएका थिए।

अदालतले गुप्तालाई दोषी ठहर गरेर सात वर्ष कैद सजाय सुनाएको थियो। उनी जेलमा रहँदा बिरामीको बहाना बनाई कमलपोखरीको हिमाल अस्पताल भर्ना भएर भाग्ने प्रयास समेत गरेका थिए। उनको निगरानीमा खटिएका प्रहरीलाई मासुमा विषादी हालेर खान दिई भाग्ने प्रयास समेत गरेका थिए। 

‘पटक पटक विवादमा आउने गरेका गुप्ता जेल बस्ने क्रममा भाग्ने प्रयास पनि गरेका थिए’ डिएसपी सिंहले भने ।

पछिल्लो समय गुप्ता सद्भावना पार्टी युनाइटेड पार्टी खोलेका थिए। गुप्ता पहिलो संविधानसभामा सभासद पनि थिए। 

संघाई पनि फरार

गुप्ताको अपहरणमा परेका पवन संघाई पनि अहिले प्रहरीको फरार सुचीमा रहेका छन्। औषधी कम्पनीको आवरणमा लागूऔषध कारोबारीलाई सहायक रसायन बिक्री गर्दै आएका संघाईलाई प्रहरीले खोजी गरिरहेको छ। 

औषधि उत्पादक कम्पनीले नै लागूऔषधको अवैध कारोबार गरेको थाहा पाएपछि प्रहरीले तीन महिनादेखि गरेको ‘अपरेसन स्युडो’ बाट संघाई गु्रपले अवैध कारोबार गरेको पत्ता लागेको थियो। प्रहरीले निगरानी गरेको थाहा पाएपछि उनी फरार भएकाे लागूअाैषध नियन्त्रण ब्युराेका प्रमुख डिअाइजी जयबहादुर चन्दले जानकारी दिए।

‘संघाई ग्रुपका संचालक संघाई प्रहरीको अनुसन्धान शुरु भएपछि भागेका छन्’, डिआइजी चन्दले भने ‘उनका दाजु र सहयोगीहरुलाई पक्राउ गरिएको छ। पवन संघाईको पनि खोजी भइरहेको छ।’ सामान्य रुघाखोकी लाग्दा प्रयोग हुने गरिने डिकोल्ड, साइनेक्स जस्ता औषधि बनाउन आवश्यक सिउडोइफेड्रिन आर्या फर्मास्युटिकल्सले लागूऔषध कारोवारीलाई बेच्दै आएको थियो।

पेट्रोल र औषधि व्यवसायीको रुपमा चिनिएका पवन संघाई अहिले फरार रहेका छन्। गुप्ताको अपहरणमा परेपछि पवन संघाईको नाम चर्चामा आएको थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.