|

काठमाडौं : प्रदेश १ मा सभामुख एमाले र उपसभामुख माओवादीले पाएका छन्। एमालेबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका भीम आचार्य, शेरधन राई, जीवन घिमिरेमध्ये एकलाई सभामुख बनाउने एमालेको तयारी छ। संसदीय दलको नेतामा पराजित भएका एकलाई सभामुख दिएर व्यवस्थापन गर्ने एमालेको तयारी छ। महिला अघि सार्दा उषाकला राईको सम्भावना छ।

प्रदेश २ कसको छ सम्भावना?
प्रदेश २ मा राष्ट्रिय जनता पार्टीले सभामुख पाउने सम्भावन छ। त्यसका लागि वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ र प्रभावशाली नेता मनीष सुमन प्रतिस्पर्धामा छन्। नवलकिशोरको चर्चा धेरै छ। सभामुख सेरेमोनियल पद भएको र सो पदका लागि नवलकिशोर परिपक्व भएको भन्दै राजपाले उनलाई नै अघि सार्ने सम्भावना छ। उनी सद्भावना पार्टीको पृष्ठभूमिबाट आएका हुन्। नवलकिशोरको विकल्पमा सद्भावनाकै पृष्ठभूमिका मनीषकुमार सुमनलाई अघि सार्ने तयारी छ। 

प्रदेश ३ मा डोरमणिको सम्भावना
प्रदेश ३ मा सभामुख एमाले र उपसभामुख माओवादीको भागमा परेको छ। एमालेबाट सभामुखमा पुरुषको दाबी देखिएकाले माओवादीबाट महिला उपसभामुख हुने सम्भावना छ।

एमालेबाट सभामुखका लागि डोरमणि पौडेलले इच्छा देखाएका छन्। उनले आफूलाई मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेका छन्। मुख्यमन्त्रीमा दबी गरेर सभामुख बन्ने पौडेलको भित्री रणनीति छ। अहिले पनि पौडेलले ज्येष्ठ सदस्यका आधारमा सभामुखको भूमिका निर्वाह गरिरहेका छन्।

प्रदेश ४ : आशा कोइराला एक मात्र दाबेदार

प्रदेश ४ मा महिला सभामुख बन्ने सम्भावना धेरै छ। वाम गठबन्धनबीच मुख्यमन्त्री एमालेले र सभामुख माओवादी केन्द्रले राख्ने सहमति भइसकेको छ। उपसभामुख एमालेले राख्नेछ। सभामुखमा तनहुँबाट निर्वाचित आशा कोइरालालाई माओवादीले अघि सार्ने सम्भावना छ। पर्वतका नेत्रनाथ अधिकारी, स्याङ्जाका दीपक थापा र गोरखाका लेखबहादुर थापामगरलगायत दाबेदार भए पनि बाहिर इच्छा व्यक्त गरेका छैनन्। पार्टीभित्र पनि आशाकै चर्चा बढी छ।

प्रदेश ५ : प्रदेश सभामुख बन्ने दौडमा माओवादीका बराल र घर्ती

मुख्यमन्त्री एमालेले र प्रदेश सभामुख माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको छ। गुल्मी १ ९क० बाट निर्वाचित सुदर्शन बराल र पूर्वी रुकुमबाट निर्वाचित पूर्ण घर्ती सभामुखका मुख्य दाबेदार देखिएका छन्। घर्ती माओवादीको प्रदेश ५ का संयोजक हुन्। खस–आर्य समुदायबाट पोखरेल मुख्यमन्त्री भएपछि जातीय सन्तुलन मिलाउन पनि अर्को समुदायका नेतालाई सभामुख बनाउन माओवादीभित्रै दबाब छ। यस्तोमा घर्ती र बराल मुख्य दाबेदार देखिएको माओवादी स्रोत बताउँछ। त्यस्तै, रूपन्देहीका दधिराम न्यौपानेले पनि सभामुख वा मन्त्रीका लागि दाबी गरेका छन्।

प्रदेश ६ मा एमालेका कँडेल वा ज्वालामध्ये एक

माओवादी केन्द्रले मुख्यमन्त्री पाउने भएपछि प्रदेश ६ मा एमालेले सभामुख पाउँदै छ। तर, एमालेको आन्तरिक विवादका कारण सभामुखको टुंगो लागेको छैन। प्रकाश ज्वाला र यामलाल कँडेलमध्ये एक सभामुखका हुने सम्भावना छ। एमाले नेताहरूका अनुसार ज्वाला सभामुखमा जाने मनस्थितिमा छन्। उनी सभामुख भए कँडेल संसदीय दलको नेता हुनेछन्। यो समीकरणअनुसार सहमति नभए आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेर ज्वालाले प्रदेश सरकारमा एमालेको नेतृत्व गर्न सक्नेछन्। 

प्रदेश ७ मा बन्न एमालेका चार नेता प्रतिस्पर्धामा
वाम गठबन्धनको भागबण्डामा सभामुख पद एमालेको भागमा परेको छ। मुख्यमन्त्रीको दाबी गरिरहेका एमाले नेताहरू पछिल्लो समय सभामुख बन्न लबिङ गरिरहेका छन्। डोटीबाट निर्वाचित पूर्णा जोशी, डडेल्धुराबाट निर्वाचित पठानसिंह बोहरा, कञ्चनपुरका तारा लामा तामाङ र बझाङबाट निर्वाचित अर्जुन थापा सभामुख बन्ने दौडमा छन्। यीमध्ये तामाङ र थापाको सम्भावना बलियो रहेको एक एमाले नेताले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.