​राप्रपाकी सांसदको हिन्दू राष्ट्रमा जोड, लिम्बूवानकी सांसदको प्रतिवाद

|

मोरङ : संघीयताको पहिलो अभ्यासस्वरुप १ नम्बर प्रदेशको पहिलो बैठकमा बोल्ने अधिकांश सांसदहरूले समृद्धि र विकासमा जोड दिएका छन्।

दलका नेताहरूले १ नम्बर प्रदेशलाई १ नम्बरकै बनाउने बताएका छन्। यद्यपि यहाँको विकास निर्माण गर्नु र जनताको अपेक्षापूरा गर्नुपर्ने चुनौतिपूर्ण अवस्थामा आफूहरू रहेको संसदमा बोल्दै दलका नेताले सहमतिबाटै अघि बढ्ने प्रतिबद्धता समेत जनाए।

एमालेका प्रदेशसभा सांसद भीम आचार्यले पक्ष र विपक्ष नभनी जनताको अपेक्षा पुरा गर्नुपर्नेमा जोड दिए। ‘के पक्ष के प्रतिपक्ष सबै मिलेर विकास र समृद्धिको एजेण्डा कार्यान्वयन गर्नुपर्छ,’ आचार्यले भने, ‘पूर्वाधार विकास, कृषि क्षेत्रको विकास, पर्यटनको विकास, वन, जंगल तथा जडिबुटीको समुचित व्यवस्थापन गर्न आवश्यक छ।’ १ नम्बर प्रदेशको व्यापार घाटा कम गर्ने, उद्योग धन्दाको विकास गर्ने, रोजगारी सिर्जना गर्ने र स्रोत साधनको समुचित उपयोग गर्नुपर्नेमा आचार्यले जोड दिए। अवसर भएसँगै चुनौति पनि भएको भन्दै आचार्यले राजधानीका लागि उपयुक्त संरचनाको निर्माण, ऐन, कानून निर्माण तथा जनताको उच्चतम अपेक्षालाई ध्यान दिँदै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

संसदमा बोल्दै कांग्रेसका नेता चन्द्रप्रसाद श्रेष्ठले १ नम्बर प्रदेशलाई सबैभन्दा राम्रो, शान्त, समृद्ध र विकसित बनाउनु पर्नेमा जोड दिए। ‘१ नम्बर प्रदेशलाई अन्य प्रदेशभन्दा राम्रो बनाउनुपर्छ,’ श्रेष्ठले भने, ‘बहुजाति, बहुधर्म र बहु संस्कृतिलाई सम्मान गर्दै सबैलाई समेटेर अगाडि बढ्न आवश्यक छ।’

माओवादी केन्द्रका तर्फबाट संसदमा बोल्दै इन्द्र आङ्बो ले सबैलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने बताए। ‘पहिचानसहितको संघीयता प्राप्त गर्ने अपेक्षामा पूर्णता नपाएको भएपनि प्राप्त उपलब्धीको रक्षा गर्नुपर्ने आवश्यकता छ,’ आङ्बोले अगाडि भने, ‘बढी उपलब्धीका कुरा गरेर प्राप्त उपलब्धी खतरामा पार्ने काम भने गर्नुहुँदैन।’ उनले १ नम्बर प्रदेशलाई नेपालकै सबैभन्दा उत्कृष्ट प्रदेश बनाउन सकिने धारणा व्यक्त गरे।

संघीय समाजवादी फोरमका तर्फबाट संसदमा बोल्दै सांसद जयराम यादवले हिमाल, पहाड, तराई र मधेसको भावना समेटेर अघि बढ्नु पर्नेमा जोड दिए। ‘१ नम्बर प्रदेशले समृद्धिको उदाहरण प्रस्तुत गर्नुपर्छ,’ यादवले भने, ‘जनताको मतको अभिभारा पुरा गर्नु सबैको दायित्व हो।’

बैठकमा बोल्दै उदयपुरका स्वतन्त्र सांसद नारायण मगरले सबै पक्षको भावना समेटेर १ नम्बर प्रदेशलाई समृद्ध बनाउन माग गरे।

राप्रपाकी सांसदको हिन्दू राष्ट्रमा जोड, लिम्बूवान मञ्चको प्रतिवाद

संसदमा बोल्दै राप्रपाकी सांसद इन्दिरा राईले हिन्दूराष्ट्रको माग गर्दै संघीयताको विरोध गरिन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले पहिचानसहितको संघीयता कार्यान्वयन गर्ने हो भने १० प्रदेश बनाउनु पर्नेमा जोड दिइन्।

‘वर्तमान प्रक्रियाले अनियन्त्रित र अन्योल बनाएको छ।,’ राईले भनिन्, ‘हामी कतैबाट दिग्भ्रमित त छैनौं भन्ने लागेको छ, राष्ट्र विखण्डनको विष बमन हुन थालेको छ, जाति, धर्म र क्षेत्रका जनतालाई भिडाएर राष्ट्रियता खतरामा पार्ने काम भइरहेको छ।’ उनले पृथ्वीनारायण साह र हिन्दू राष्ट्रको सशक्त वकालत गरेकी थिइन्।

संसदमा बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले भने पहिचानसहितको संघीयता निर्माण गर्न १० प्रदेश बनाउनु पर्नेमा जोड दिइन्। ‘पहिचानसहितको संघीयताले मात्रै वास्तविक समृद्धि दिन्छ,’ उनले भनिन्, ‘१ नम्बर प्रदेशलाई लिम्बुवान र खम्बुवान नामांकरण गर्नु आवश्यक छ।’

जयराम यादवको दमदार मन्तव्य

मन्तव्यका क्रममा स्वतन्त्र सांसद नारायण मगर सुरुमा अल्मलिएका थिए। उनले लय पक्रिन केही समय लागेको थियो। कांग्रेसका तर्फबाट बोल्ने चन्द्रप्रसाद श्रेष्ठले बोल्दा बारम्बार अड्किएका थिए। लेखेर दिएको भाषण पेपर पढ्न नसक्दा उनी पटक–पटक अक्मकिए। बीचबीचमा असान्दर्भिक कुरा ल्याएर बोल्दा संसद बैठक केही समय हाँसोमय बनेको थियो।

संसदमा बोल्ने संघीय समाजवादी फोरमका नेता जयराम यादवको भाषण सिलसिलेवार र व्यवस्थित थियो। उनले सबैपक्षलाई सम्बोधन गर्दै छोटोमा प्रदेश समेट्ने विचार व्यक्त गरेका थिए। एमाले नेता भीम आचार्य र माओवादी नेता इन्द्र आङ्बोको भाषण पनि सामान्य खालको थियो। राप्रपाकी सांसद र संघीय लोकतान्त्रिक लिम्बूवान मञ्चकी सांसदको भाषण भने आक्रामक र ट्रयाक बाहिर थियो। १ बजेर २० मिनेट जाँदा सुरु भएको प्रदेशसभाको बैठक झण्डै ५० मिनेट चलेको थियो।

यो पनि पढ्नुहोस्:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.