|

काठमाडौं : संविधानले आधारभूत तह (कक्षा ८ सम्म)लाई अनिवार्य र निःशुल्क घोषणा गरेको छ। तर, साढे चार लाख बालबालिका विद्यालयबाहिर छन्। विद्यालय तह अर्थात् कक्षा १२ सम्मका झन्डै १५ लाख बालबालिका विद्यालयबाहिर रहेको शिक्षा विभागले जनाएको छ।

विभागको पछिल्लो तथ्यांक सन् २०१६–१७ को फ्ल्यास १ रिपोर्टअनुसार विद्यालय उमेर समूहका बालबालिकामध्ये ४ लाख ३९ हजार ४१ हजार विद्यालयबाहिर रहेका छन्। जसमध्ये दुई लाख १८ हजार सात सय ७८ छात्रा र दुई लाख २० हजार दुई सय ६३ छात्र छन्। कक्षा १ मा भर्ना हुने उमेरका बालबालिका अझै ३० हजारभन्दा बढी विद्यालयबाहिर छन्। यीमध्ये छात्र १५ हजार एक सय ७४ र छात्रा १५ हजार १ सय ७० छन्।

काठमाडौं उपत्यकामा मात्रै अनिवार्य शिक्षा लिनुपर्ने उमेर समूहका २६ हजार २ सय ४३ बालबालिका विद्यालयबाहिर छन्। जसमा १७ हजार एक सय ९३ छात्र र नौ हजार ५० छात्रा छन्। सबैभन्दा बढी काठमाडौंमा २० हजार चार सय १५, ललितपुरमा दुई हजार नौ सय ८५ र भक्तपुरमा दुई हजार आठ सय ४३ बालबालिका विद्यालयबाहिर रहेको विभागको तथ्यांक छ। कक्षा १० सम्म अध्ययन गर्ने उमेर समूहका बालबालिकाको संख्या ३३ हजार सात सय ९० रहेको छ।

आधारभूत तहमा सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेको जिल्ला धनुषा हो। सो जिल्लामा आधारभूत तहमा १३ हजार २ सय ८९ छात्रा र ११ हजार ९ सय ८४ छात्र गरी कुल २५ हजार २ सय ७३ बालबालिका रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.