|

काठमाडौं : विवाह गर्न वाचा तोडेपछि रौतहट विश्रामपुरका २९ वर्षीय अशोक गुप्ता बलात्कार तथा शरीर बन्धकको मुद्दामा प्रहरी हिरासतमा पुगेका छन्। गुप्ताले २२ वर्षीया युवतीसँग विवाह गर्ने वाचा तोडेका थिए। त्यस लगत्तै युवतीले गुप्ताविरुद्ध प्रहरी कार्यालयमा बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएकी थिइन्।

जाहेरीपछि  गुप्तालाई प्रहरीले प्रक्राउ गरेको छ। उनी अहिले विशालबजारस्थित महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा छन्। प्रहरीका अनुसार उनीविरुद्ध सात दिनको म्याद थप गरी आवश्यक कारबाही हुँदैछ। जनसेवाका डिएसपी मोहनकुमार थापाले विवाह गर्न नमानेपछि गुप्ताविरुद्ध युवतीले बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएको बताए।

प्रहरीका अनुसार उनीहरु तीन वर्षदेखि प्रेममा थिए। दुवै सानोठिमीस्थित जगदम्बा डिस्ट्रिब्युटर्समा काम गर्थे। सोही स्थानमा काम गर्दा दुईबीच चिनजान भएको र पछि प्रेममा परेको प्रहरीको दावी छ। दुईबीच विवाह गर्ने सहमति थियो। तर, जात नमिल्ने भएका कारण विवाह हुन सकेको थिएन। युवती पहाडी मूलकी हुन्।

विवाह गर्न युवतीको परिवारबाट दबाब अएपछि गुप्ताले युवतीलाई सुन्धारास्थित एसियन होटलमा कोठा बुक गरी राखेका थिए। १९ देखि २३ पुससम्म होटलमा दुवै  सँगै बसेका थिए। एकाएक गुप्ता बेपत्ता भएपछि युवती उजुरी गर्न जनसेवा पुगेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.