|

काठमाडौं : कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फको सांसद सिफारिस गरेर निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका केही नाम सच्याउनुपर्ने भएको छ। निर्वाचन ऐन ०७४ अनुसार समावेशीसमूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनोट नभएको भन्दै आयोगको सोमबार बसेको बैठकले तीन दलको सूची अस्वीकार गरेको हो। बुधबार साँझसम्म नाम सच्याएर पुनः पठाउन तीनवटै दललाई पत्राचार गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

कांग्रेसका को बाहिरिन्छन्, को पर्छन् ?

आयोगको निर्देशनअनुरूप पठाउँदा खस–आर्य पुरुषको अन्तिममा रहेका मोहन पाण्डे र खस–आर्यकै महिलाको अन्तिममा रहेकी दीपशिखा शर्मा बाहिरिने छन्। उनीहरूका स्थानमा पिछडिएको क्षेत्रबाट खस–आर्यसमूहको पहिलो प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका रामबहादुर विष्ट र महिलाको पहिलो नम्बरमा रहेकी रंगमती शाही सूचीमा पर्नेछन्। आयोगको निर्देशनअनुरूप बुधबार नाम सच्याएर पठाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

माओवादीबाट पहाडीलाई हटाइने, सिंह आउने

आयोगले माओवादीले खस–आर्यसमूहको महिला सूचीमा रहेकी सत्या पहाडीलाई पिछडिएको क्षेत्रबाट सिफारिस गरेको भन्दै अस्वीकार गरेको छ। आयोगले उनको नाम हटाएर पिछडिएको क्षेत्रबाट खस–आर्यसमूहमा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका व्यक्तिलाई समावेश गरी पठाउन माओवादीलाई पत्राचार गरेको छ। माओवादीबाट खस–आर्यसमूहको प्राथमिकता क्रमको पहिलो नम्बरमा प्रेमबहादुर सिंह छन्।

राजपाले प्राथमिकता क्रम मिलाएन

प्राथमिकता क्रम नमिलाएको भन्दै राजपाले बुझाएको समानुपातिकतर्फको सूची आयोगले अस्वीकार गरेको छ। उसले खस–आर्यसमूहमा महिलामा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका व्यक्ति सांसद बन्न अनिच्छुक रहेको पत्रसहित सूची बुझाए पनि दोस्रो नम्बरमा रहेकी नरमाया ढकालको नाम हटाएर रेणु शर्माको नाम बुझाएको थियो। आयोगले राजपालाई शर्माको नाम काटेर ढकालको नाम थपेर पठाउन पत्राचार गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.