|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्नो फेसबुकको पेजमार्फत आइतबार यसरी विशिष्ट व्यक्तिको सवारी हुने ब्यहोराको जानकारी गरायो। विशिष्ट व्यक्तिहरुको सवारीका क्रममा फिल्डमा खटिएका ट्राफिक प्रहरीले सडक खाली गराउँदा सवारी चालक र सर्वसाधारण समस्यामा परे।  

सडक नै खाली गर्नुपर्ने आदेश नभए पनि ट्राफिक प्रहरीले विशिष्ट व्यक्तिको सवारीको लागि भन्दै सडक खाली गराउने गरेका छन्। ‘पहिला पहिला भिभिआइपी भन्दै बाटो नै खाली गर्ने चलन थियो’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी मिलन बस्‍नेतले भने ‘अहिले त्यो चलन हटिसकेको छ, जरुरी भए मात्र त्यसो गर्ने गरेका छौं।’

प्रहरीका उच्च अधिकारीले सडक खाली गराउने आदेश नभएको बताउने गरेपनि सडकमा खटिएका ट्राफिक प्रहरीहरु सडक खाली गराउँछन्। जसले गर्दा काठमाडौंमा जाम हुने गरेको छ। 

प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र पूर्वप्रधानमन्त्रीहरूको सवारीलाई छिटो गन्तव्यमा पुर्‍याउन ट्राफिक प्रहरीले एकतर्फी रूपमा सार्वजनिक तथा निजी सवारीसाधान रोक्दै अाएको छ। यसका कारण कार्यालय समयमा व्यस्त हुने काठमाडौंका सडक थप जाम हुन्छन्। 

‘बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म अत्याधिक चाप हुन्छ। ट्राफिक प्रहरीले यसको व्यवस्थापन गर्न सकेको छैन। जसको मार सर्वसाधारणले भोग्दै आएका छन्।’ एसएसपी बस्‍नेतले भने।

सवारीसाधन र सडक

साझा यातायातबाहेक काठमाडौंमा चल्ने सबै सार्वजनिक सवारीसाधन मझौला र साना छन्। सार्वजनिक यातायातका साधन सानो हुँदा पनि काठमाडौंको जामको चाप बढेको एसएसपी बस्नेतले बताए। उनले भने, ‘माइक्रोबस, ट्याम्पु तथा मिनीबसले यस्ता ट्राफिक जामलाई झन् बढाइरहेका छन्।’ 

काठमाडौंको सानो सडक ट्राफिक जामको अर्को कारण रहेको बस्‍नेतको बुझाई छ।' काठमाडौंमा एक हजार पाँच सय किलोमिटर सडक छ, जुन सवारीको चाप धान्न सक्ने सडक होइन। भएका सडक पनि खाल्टाखुल्टी नै खाल्टाखुल्टी।' बस्नेत भन्छन्।

काठमाडौंमा करिब ४० लाख मानिस बसोबास गर्ने सरकारी तथ्याङ्क छ भने ८ लाख १८ हजार ४ सय सवारीसाधन रहेको छ। उपत्यकामा मात्र ५२ हजार सार्वजनिक सवारीसाधन चल्छन्। सडकको क्षमता र अवस्था भन्दा सवारीसाधनको संख्या बढी भएको कारण पनि सवारी आवागमन प्रभावित भएको एसएसपी बस्नेत बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.