​कसले के भने?

|

काठमाडौं : केही महिनादेखि सुनसान रहेको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार छुट्टै चहलपहल थियो। व्यवस्थापिका संसद् विघटन भएपछि सुनसान भएको संसद् भवनमा आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनबाट निर्वाचित सांसदहरूले शपथ ग्रहण गर्ने कार्यक्रमका कारण संसद भवनमा चहलपहल बढेको थियो। त्यहाँ दुई सदनकै सांसददेखि पत्रकारसम्मको भीड थियो।

प्रतिनिधिसभाका सदस्यलाई जेष्ठ सदस्य महन्थ ठाकुरले शपथ खुवाए भने राष्ट्रियसभाका सदस्यलाई सांसद तारादेवी भट्टले शपथ खुवाइन्। मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन तथा माघ २४ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट निर्वाचित सांसदहरू आइतबार आआफ्नो जातीय पहिचानअनुसारको पोसाकमा संसद भवनमा पुगेका थिए।

प्रतिनिधिसभामा मैथिली भाषामा १८, भोजपुरी भाषामा सात, हिन्दी भाषामा सात, मगर भाषामा दुई, अवधी भाषामा एक, नेवारी भाषामा एक, तामाङ भाषामा एक, बज्जिका भाषामा एक, उर्दू भाषामा एक सांसदले आफ्नो भाषामा शपथ लिए। राष्ट्रियसभामा भने मैथिली भाषामा दुई र बज्जिका भाषामा एक जनाले शपथ लिएका थिए। बाँकी सबै सांसदहरूले नेपाली भाषामा शपथ लिए।

प्रतिनिधिसभामा एमालेका १२१, नेपाली कांग्रेसका ६३, माओवादी केन्द्रका ५३ सांसद छन्। त्यस्तै, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टी नेपालका १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक र स्वतन्त्र एक सांसद छन्।राष्ट्रियसभामा एमालेका २७, कांग्रेसका १३, माओवादीका १२, राजपाका दुई र फोरमका दुई सांसद छन्।

कसले के भने?

पश्चिम तराईको थारू समुदायको गरगहनासहित जातीय पोसाक लगाएर संसद भवन पुगेकी एमाले सांसद शान्ता चौधरीले पुर्खाले परम्परादेखि प्रयोग गर्दै तथा जोगाउँदै आएको पोसाक/गरगहना लगाएर आएको बताइन्। दोस्रो पटक सांसद भएकी चौधरीले जिम्मेवारी थपिएको र जनताका अपेक्षा पूरा गर्ने चुनौती रहेको प्रतिक्रिया दिइन्। 'जनताले अपेक्षा गर्नुभएको छ। हामीमाथि थपिएको जिम्मेवारी पूरा गर्न सक्छौँ कि सक्दैनौँ भनेर चिन्तित पनि छौँ', सांसद चौधरीले भनिन्, 'हामी पश्चिम दाङको थारू समुदायले चाँदीको गहना लगाउने परम्परा छ। विहेमा, पर्वमा लगाउने परम्परा छ। त्यही पोसाक लगाएर शपथ ग्रहण गर्न आएकी हुँ।'

कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले आफू १५ वर्षदेखि निरन्तर संसदमा प्रतिनिधित्व गर्दै आएकाले खासै उत्साहित नभएको तर अहिलेको चुनौतीलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए। उनले सरकारले प्रतिपक्षीप्रति देखाउने व्यवहारका आधारमा प्रतिपक्षी भूमिका निर्वाह गर्नेसमेत बताए। 'दायित्वबोध बढी भएको छ। राज्यको पुनर्संरचना, आर्थिक समृद्धि गर्नुपर्नेछ। अब आउने दिन सजिलो देखेको छैन। चुनौती स्वीकारेर अगाडि बढ्नुपर्नेछ', उनले भने, 'सौहार्द रूपमा मुलुकलाई विश्वासको वातावरण चाहिएको छ। सरकार कसरी अगाडि बढ्छ, त्यसैअनुसार प्रतिपक्ष अगाडि बढ्छ।'

एमालेबाट राष्ट्रियसभाको सदस्य बनेकी कोमल वलीले सांसद भएर संसद भवनमा प्रवेश गर्नु आफ्ना लागि जिन्दगीको उत्कृष्ट पल भएको भन्दै अवसरलाई सही रूपमा सदुपयोग गर्ने बताइन्। 'हामीसँग अवसरसँगै चुनौती पनि छन्। म परीक्षा हलमा छु, परीक्षा दिइरहेकी छु', सांसद कोमलले भनिन्, 'राष्ट्रियसभा मेरालागि अवसर हो। समावेशी लोकतन्त्रका लागि काम गर्ने अवसर मिलेको छ।'

फोरम नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी रुहिनाज मित्रानीले सांसद भएपछि मुलुकको समृद्धिका लागि काम गर्ने बताइन्। उनी भन्छिन्, 'जनताको प्रतिनिधिका रूपमा सांसद भएर आउन पाउँदा खुसी लागेको छ। देशको विकास गर्ने इच्छा छ।'

राजपाका राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल मिथिला प्रदेशको प्रतिनिधिका रूपमा मिथिला संस्कृतिमा आफू उपस्थित भएको बताए। संसदमा प्रतिनिधित्व गरिसकेपछि मुलुकको समृद्धिका लागि काम गर्ने सांसद लालले प्रतिक्रिया दिए।

एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले अब मुलुकको समृद्धिका लागि सफल हुनै पर्ने बताए। मुलुकलाई नयाँ बाटोमा हिँडाउनका निम्ति काम गर्नुपर्ने उनको भनाइ थियो। 'हामीलाई असफल हुने अनुमति छैन, हामी सफल हुनैपर्छ', उनले भने, 'काम गरेर देशलाई नयाँ बाटोमा हिँडाउन देशको समृद्धिका लागि यहाँ आएका छौँ।'

फोरम नेपालकी सांसद बेनुका गुरुङ मुलुकलाई पहिचानसहितको संघीय मुलुक बनाउन पहल गर्ने बताउँछिन्। पहिचानसहितको संघीयता बनाउने फोरमको मूल एजेण्डा रहेको भन्दै त्यसका लागि काम गर्ने उनले बताइन्।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.